साथीः पीर परेको बेला जसको काँधमा टाउको राखेर रुन सकियोस्

कविता पन्थी

साथी शब्द आफैमा प्रिय शब्द हो । सुखदुःखमा, जस्तोसुकै परिस्थितिमा पनि किन नहोस् सदैव साथ दिने व्यक्तिलाई साथी भनिन्छ । सामाजिक प्राणी भएको नाताले मानिस समाजमा घुलमिल भएर बाँच्न चाहन्छ । सबै मानिसलाई माया, प्रेम र विश्वासको आवश्यकता पर्दछ । सबैको चाहना हुन्छ, जीवनमा कोही त यस्तो होस् जससँग खुल्न सकियोस् । आफ्ना आफन्त र नातासम्बन्ध भन्दा बाहिरको त्यो नाता साथी हो, जससँग मन लागेको बेलामा कुरा गर्न सकियोस्, द्विविधा परेको विषयमा सल्लाह लिन सकियोस्, रिस उठेको बेलामा झगडा गर्न र पीर परेको बेलामा काँधमा टाउको राखेर रुन सकियोस्,मन लागेको बेलामा भेट्न सकियोस् ।

साथी र मित्र समानार्थी शब्द हुन् । नेपाली शब्दकोशमा साथीको अर्थ (साथंई) एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति, सँगी, कुनै कामकुरामा साथ दिने व्यक्ति, परिआएका बेलामा मद्दत गर्ने व्यक्ति, सहायक, सहयोगी भनी उल्लेख गरिएको छ ।

साथी एक मनोवैज्ञानिक सम्बन्ध हो । घरबाट बाहिर निस्केर काम गर्नुपर्ने वर्तमान परिवेशमा कैयन साथी बन्न सक्छन् तर सबै साथी खास हुन सक्दैनन् । इन्टरनेटको दुनियाँमा साथीको सूचिमा जो कोही हुन सक्छन् तर सबै खास हुदैनन् । साथीसँगको सहयात्रामा महत्वपूर्ण उपलब्धी प्राप्त हुनसक्छ । साथी बनाउन कसैले सिकाउनु पर्दैन । रुचि इच्छा र अनुभूति मिल्नैपर्छ भन्ने पनि केही छैन । बाल्यकालदेखि नै साथी बन्छन्, बाल्यकालका साथी जीवनभर स्मरणीय हुन्छन् । त्यो स्मृतिमा नै एकप्रकारको मिठास हुन्छ । यो एउटा गज्जबको सम्बन्ध हो । एक्लोपनमा सहारा दिने, रिसलाई शान्तसँग जोड्ने परिवारको सदस्य जस्तै हुन्छ साथी ।

एउटा सच्चा साथीले हजार नातेदारले भन्दा बढी महत्व राख्छ भनी युरिपाइडिजले भनेका छन् । साथीकै सम्बन्धमा वाल्टर विन्चेलको भनाइ पनि मननीय छ, उनी भन्छन्, जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने ऊ नै असल साथी हो ।

वास्तविक साथीले जीवनलाई मीठो संगीत दिन्छ, निरस र शुष्क हृदयलाई ताजगी दिन्छ । सानोठुलोको तुलना हुदैन, यो बनाउँछु भनेर जबर्जस्ती बन्ने पनि होइन । असल मित्रताका कैयन् उदाहरण पनि छन् । हरिवंश र मदनकृष्णको मित्रता अनुपम छ । नेपाली समाज यो मित्रताबाट धेरै लाभान्वित छ । महाभारतमा सबैभन्दा चर्चित साथीको रुपमा कृष्ण र सुदामाको नाम आउँछ । यो मित्रताले अहिले पनि धेरै कुरा सिकाउन सक्छ । बाल्यकालदेखिको साथी कति प्रिय हुन्छ, सच्चा मित्रतामा कुनै भेदले असर गर्दैन, थोरै पद र प्रतिष्ठा प्राप्त भएपछि पहिलेका साथी पनि चिन्न मन नलाग्ने वर्तमान सत्यतालाई धेरै कुरा सिकाउँछ कृष्ण सुदामाको मित्रताले ।

गल्ती बताइदिने, दोस्रो व्यक्तिको सामुन्ने अवगुण नबताउने, राम्रो काममा प्रेरित गर्ने, अप्ठ्यारो समयमा पनि साथ नछोड्ने साथी नै वास्तविक साथी हुन् र ती साथीलाई भेट्दा मनमा खुशी छाउँछ, एकप्रकारको उर्जा मिल्छ । महाभारतमा कृष्ण र द्रौपदी पनि मिल्ने साथी भएको कुरा उल्लेख छ । अप्ठ्यारो परिस्थितिमा कृष्णले द्रौपदीको सहयोग गरेका छन् । कृष्ण र अर्जुन पनि असल साथी हुन् । कौरवसँग युद्ध गर्न चाहने तर युद्धमैदानमा पुगेपछि हतोत्साहित अर्जुनलाई प्रेरणा दिने र युद्ध अवधिभर अर्जुनको सारथी बन्ने कृष्ण र अर्जुनको मित्रता उदाहरणीय छ । दुर्योधन र कर्णको मित्रता पनि आदर्शमय छ ।

साथीको सन्दर्भमा कुरा गर्दा महाभारतको यो प्रसङ्ग पनि उल्लेख्य छ जब सुदामाले कृष्णलाई सोध्छन्, मित्रताको असल मतलब के होरु तब कृष्णले हाँसेर जवाफ दिन्छन्, जहाँ मतलब हुन्छ त्यहाँ मित्रता कहाँ हुन्छ ?

ओशो भन्छन्, मित्रता शुद्धतम प्रेम हो, यो प्रेमको सर्वोच्च रुप हो, जहाँ कुनै माग हुँदैन, कुनै शर्त हुदैन, त्यहाँ त केवल त्याग मात्र हुन्छ । चाणक्यले मित्रको परीक्षा संकटमा हुने कुरा बताएका छन् ।

मानव सभ्यताको शुरुवातदेखि नै साथी बन्ने र बनाउने काम भएको पाइन्छ । खराब मित्र र असल मित्रका थुप्रै उदाहरण पनि छन् । साथीको सम्बन्धमा थुप्रै कृति लेखिएका छन्, गीतहरु गाइएका छन् ।अझ पछिल्लो चरणमा त विभिन्न भाषामा फिल्महरु पनि बनेका छन् । मानिसले साथ दिन नसकेको अवस्थामा कसैले जनावरलाई पनि साथी बनाएर मन हलुका बनाउँछन् । यस्ता जनावरमा कुकुर धेरै प्रयोग भएको देखिन्छ । आत्मीयता, इमान्दारिता र सच्चाइमै असल मित्रता झल्किन्छ । सबै मानिसलाई माया, प्रेम र विश्वासको आवश्यकता पर्दछ ।

सबैको चाहना हुन्छ, आफ्नो जीवनमा कोही त यस्तो होस्, कुनै नातासम्बन्ध भन्दा पनि पवित्र, रगतको नाताभन्दा पनि भावनाको नाताले जित्नसक्ने साथी होस्, जससँग दुःखमा सँगै रुन र सुखमा सँगै हाँस्न सकियोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button