परदेशबाट घर फर्किने आशैआशमा ऊ बाकस बनेर आयो

कविताः कुकुरको जस्तो जिन्दगी

विनोद अर्याल

कुकुरको जस्तो जिन्दगी
फुटपाथको बास मेरो
तिम्रो गनाउने चड्डीसँगै
जुठो हड्डीको आश मेरो ।

आदर्शको डंगुरलाई
तिनपान धामको जलले पखाली
भुक्दै छु तिम्रो लागि
म मेरा आन्द्राभुँडी सबै निकाली ।

तिम्रो घरमा तामझाम छ
मेरो घरमा भोकको रामराम
हड्डीको पछि लागेपछि
म कुकुरको पनि हुँदैछ रे बदनाम ।

नाङ्गै नै छ सबथोक
हाम्रो मेरो शरीर अनि तिम्रो चरित्र
तिम्रो सबथोक नाङ्गो देख्ने
कस्तो समाजको आँखा दरिद्र ।

तिमीले थमाएको पर्चा र पुस्तकसँगै
घरको हाल पढेर गयो
परदेशबाट घर फर्किने आशैआशमा
ऊ बाकस बनेर आयो ।

हिजो टाउको काट्ने काटिने
आज कलंकको साझेदार भयौ
स्वास्नीको फरिया फेर्न
देशको अस्मिता बेच्ने चैते सरदार भयौ ।

नैतिकता सिद्धान्त र आदर्श सँगसँगै
यहाँ भोट पनि नोटमा बिक्छ
महङ्गीले एैया भन्न नसक्ने भैसके
तिमीलाई त बुद्धभुमीमा र्याल काड्दै ठिक छ ।

च्यातिदिन्छौ सुन्दर फुल तिमी
बगैंचामा फुल्दै गरेको
सम्झिदा पनि डर लाग्छ
मेरी छोरी बगैंचामा एक्लै डुलेको ।

जालझेलको बन्धनमा परी बनिकिछे श्रीमती
उसैकी बन्धकी
यस्तो देख्दादेख्दै पनि हाउ गर्न नसक्ने
छि कुकुरको जस्तो जिन्दगी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button