म्याम ! जब हजुरलाई देख्छु, म अनाथ हुँ भन्ने बिर्सिन्छु

अम्बिका घिमिरे

असल गुरुहरुको याद हरेक दिन आउँदो रहेछ ।

तर, आज गुरुपुर्णिमा भएकोले होला, प्रत्येक गुरुहरुले दिनुभएको अविस्मरणीय र जीवन उपयोगी ज्ञानहरुलाई मनको क्यालकुलेटरमा हिसाब गरी गरी शुभकामना दिन मन लाग्यो अनि पुर्णिमाको जुनले भन्दा बढी उज्यालो दिन सक्ने गुरुहरुलाई गुरुपुर्णिमाको एक चन्द्रमा शुभकामना मनमनै ।

जीवनमा अनगिन्ती भेटिन्छन् गुरुहरु तर गुरुपन भएका केही गुरुहरु मात्र मनमा बस्छन् । पेशाले शिक्षिका भएकोले होला, गुरुपुर्णिमाको रौनक अलि बढी नै लाग्छ । त्यसैले मलाई गुरु मान्नेहरुलाई पनि मनमनै हार्दिक आभार व्यक्त गरेँ । अघिल्लो गुरुपुर्णिमाको याद आयो, अनाथ बालिकाहरु पढ्ने स्कुलको शिक्षिका थिएँ । विद्यार्थीहरुले ठुलै कष्टले बचाएका पैसाले उपहार किनेर गुरुहरुलाई खुशी बनाउँदै थिए । दुई ओटा चकलेट र एउटा सानो कागजको  पट्याइएको टुक्रा हातमा दिँदै एकजना बालिकाले ह्याप्पी टिचरस् डे म्याम भनिन् । कागज खोलेर पढ्दा भक्कानिएर रोएँ ।

म्याम जब हजुरलाई देख्छु, मेरी आमाको रुपमा देख्छु अनि म अनाथ हुँ भन्ने बिर्सिन्छु्र । म हजुरको असल छोरी बन्न चाहन्छु । के म हजुरको छोरी बन्न सक्छर ? लेखिएको थियो । मनबाट मातृत्व उर्लिएर आयो । आफ्ना थुप्रै सन्तानलाई बाँड्न पुग्ने मातृत्व बोकेकी एउटी आमाले मातृत्वको लागि तड्पिरहेका आमाबिहिन सन्तानहरुका कलिलो मातृस्नेह स्वीकार गर्नैपर्छ ।

आमाको आमापन नबुझेका कयौँ सन्तानहरुले आमाको मातृत्व कुल्चिएका छन् । सन्तानको कर्तब्य बिर्सिएका छन् । शरीरको पाँच इन्द्रियहरुलाई सक्रिय बनाउन सिकाउने, बोल्न सिकाउने, हिँड्न सिकाउने, खान सिकाउने, लगाउन सिकाउने, हाँस्न सिकाउने, रुन सिकाउने, सोच्न सिकाउने, व्यक्त गर्न सिकाउने, अझ भनौँ न अबोध जन्मिएको हामीलाई भरिपुर्ण बनाउने हाम्री आमा संसारकै उत्कृष्ट गुरु हुन् ।

अति प्यारी, अति आत्मीय, अति ममतामयी अति आदरणीय मेरी आमालाई गुरुपुर्णिमाको उच्चस्तरिय शुभकामना ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button