तिम्रो घर रित्तो भएको दश बर्ष भएछ नि बा !

भावना रिमाल

तिमीलाई मनदेखि बा भन्न मन नपाएको पनि
दस बर्ष भएछ ।

सधै घरबाहिर (बजार) गएर आउँदा
चकलेट र मिठाइले हात नमिलाएको पनि
दस बर्ष भएछ ।

तिम्रो हात समात्दै कतै टाढा नगएको पनि
दश बर्ष भएछ ।

तिमीलाइ तिम्रै आँगनबाट
कहिल्यै नफर्किने गरी
विदा गरेको पनि दश बर्ष भएछ नि बा !

तिम्रो सेतो फुलेका लामा कपाल
हल्का लामो दारी
र, त्यो कालो इस्ट्कोटलाई नदेखेको पनि
दश बर्ष पूरा भएछ नि बा !

तिम्रो त्यो हँसिलो मुखबाट
अम्बिका नाम नसुनेको पनि
दश बर्ष पूरा भएछ नि बा !

तिमीलाई हजारौं बाहरुको मुस्कानमा
पाउन खोज्छु
तर, हरपल तिम्रो याद भइरहन्छ ।

तिमीलाई तिम्रो घरबाट
कहिल्यै नफर्किने गरी
बिदा गरेको पनि
दस बर्ष भएछ नि बा !

कति धेरै सपनाहरु
साँचेका थियौ मेरा लागि
आज मेरा केही प्रगतिका बाटाहरुमा
आफुलाई एक्लै महसुस गर्न सक्ने भएको छु नि बा तिमीबिना ।

(सानो) बोल्न सक्ने बनाएर
छोडेर गएको थियौ तिमी
आज एक्लै बसेर
तिमीले मेरा लागि देखेको सयौं सपना
अनि सपनासँगै मिसिएको कल्पनामा
रमाउन सक्ने भएको छु नि बा तिमीबिना ।

तिम्रो राम्रोभन्दा धेरै नराम्रोको मुल्यांकन गर्ने
तिम्रा आफन्तजनहरुसँग
तिम्रो प्यारी नातिनी हुँ भनेर
भन्नसक्ने भएकी छु नि बा तिमीबिना !

मेरो हरेक सपनाहरू
बिहान उठ्नेबित्तिकै पुरा गर्न जाने
तिम्रा ती कोमल हातहरु सम्झिएर
आज आफै पुरा गर्ने छु भन्ने हिम्मत राख्ने आँट गर्छु नि बा तिमीबिना ।

म पनि भन्ने थिएँ नि
यदि त्यो मिल्ने थियो भने
एक चोटि त फर्किआऊ
बोर लाग्यो तिमी बिना ।

कति मीठो कुरा गर्छु
जाँगर लाग्दैन तिमीबिना
असारको झरी खुब मन पराउने म
आजकाल त रुन मन लाग्छ नि बा तिमीबिना ।

अँधेरी साँझ
त्यो ताराको झिलिमिली नै
तिमी हौ लाग्छ आजकाल ।

आज दश बर्ष भएछ नि बा
तिमीबिना रित्तो भएको त्यो तिम्रो घर !

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button