
बस् म मरेपछि अरूले भनुन्, ‘दीनदुःखीको घाउमा मलम लगाउने गर्थी’
म सुप्रिया
मेरो मिडिया साथी नेपालनाम्चाले सुरु गरेको तपाईं, हामी र हामीजस्तै आम मानिसको स्तम्भ ‘म’ मा म सुप्रिया खनाल ।
१. मेरो उमेर (भन्न मिल्छ भने) ?
म अहिले २० वर्षकी भएँ ।
२. मेरो पेशा/व्यवसाय ?
रोजगारीको हकमा म एक विद्यार्थी हुँ ।
३. मेरो बाल्यकाल ? सानोमा म कस्तो थिएँ ?
मेरो बालापन भने खुसीभन्दा धेरै पीडामा बितेको थियो । बचपनमा म एकदम शान्त स्वभावकी थिएँ ।
४. सानोमा मेरा सपना कस्ता थिए ?
सपना पुरा गर्न नसके पनि यी आँखाले देख्न नछोड्ने रहेछ । डाक्टर बनेर देशको सेवा गर्ने सपना थियो ।
५. भविष्यप्रति मेरो सोच के छ ?
आलिसान महल, भरपुर पैसा, आरामको जिन्दगी यो होइन सानो अनि खुसी जिन्दगी काट्न सक्ने बनुम् । अहिले यो नै मेरो भविष्यप्रतिको सोच हो ।
६. मलाई मनपर्ने खाना ?
सायद मध्यम परिवारमा हुर्केको भएर होला, यो मिठो यो नमिठो भन्ने कहिल्यै भएन । तर, पनि रोटी र गोलभेडाको अचार भने एकदमै मन पर्छ ।
७. मलाई मनपर्ने ठाउँ ? किन ?
जान त धेरै ठाउँ सकिएको छैन तर गएको ठाउँ मध्य इलाम एकदमै मन पर्यो । किनभने, त्यहाँको मनोरम दृश्य र वातावरणले मनका हरेक पीडाहरू भुलाए झै लाग्यो ।
८. मलाई मनपर्ने किताब ? किन ?
प्रिय सुफि मेरो मनमा बसेको यो पुस्तक हो । सायद आफै पनि त्यही स्थितिसँग गुज्रिरहेको भएर होला ।
९. मलाई मनपर्ने फिल्म ?
नोभेम्बर रेन आजसम्म हेरेको मध्य सबैभन्दा राम्रो लागेको फिल्म हो ।
१०. मेरो अविस्मरणीय क्षण ?
विद्यालय जीवनको अन्तिम दिनलाई जिन्दगीकै अविस्मरणीय क्षणको रुपमा लिन सकिन्छ ।
११. म सबभन्दा खुशी भएको क्षण ?
राम्रो अंकसहित एसएलसी पास गरेको पल म एकदमै खुसी थिएँ ।
१२. सबैभन्दा दुख लागेको क्षण ?
मान्छेको जीवन भनेको सुखदुःखको समिश्रण हो तर जुन दिन मैले मेरो भगवान मेरो बाबा गुमाएँ, त्यो मेरो मेरो जिन्दगीको सबैभन्दा दुखको क्षण थियो ।
१३. म के सम्झन चाहन्न ?
सम्झनलायक त के नै छ र तर पनि मेरो विगत म भुलेर पनि सम्झन चाहन्नँ ।
१४. मलार्ई के कुरामा पछुतो छ ?
मैले कुनै बेला कोहि पराईको लागि आफ्नो ज्यान दाउमा राखेकी थिएँ । त्यो कुराको मलाई एकदम पछुतो छ ।
१५. मेरा गल्ती ?
गल्तीले नै मानिसलाई सुध्रने मौका दिन्छ । गल्तीहरू धेरै नै छन् ,बस् सम्झना भएन ।
१६. मेरा कमजोरी ?
झुटो होस् या साँचो म कसैको आँखाको आशु देख्न सक्दिन । यो नै मेरो सबैभन्दा ठूलो कमजोरी हो ।
१७. मेरा राम्रा पक्ष ?
म कसैसँग स्वार्थको लागि सम्बन्ध राख्दिनँ । यसलाई मेरो राम्रो पक्ष भन्दा नि फरक नपर्ला ।
१८. मेरा छिमेकी कस्ता छन् ?
म गाउँमा बस्छु । गाउँमा अझै नि मानवता जीवित नै छ । अझै पनि एक अर्का को दुःखमा छिमेकीहरूले साथ दिन्छन् जुन मैले पनि पाएको छु ।
१९. म किन रिसाउँछु ?
मेरो आफ्नाले आफ्नो ख्याल नगर्दा मलाई एकदम रिस उठ्छ ।
२०. म केमा खुशी हुन्छु ?
आमा भगवानको अर्को रुप हुन् । जब मेरी आमाले मैले गरेको कामना स्याबासी दिनुहुन्छ, त्यो बेला म आफ्नो खुसी बयान गर्न सक्दिनँ ।
२१. मेरा साथी कस्ता छन् ?
सायद म अरुभन्दा फरक भएर होला मेरो धेरै साथीहरु छैनन् । जति छन्, परेको बेला ज्यान दिनेहरु छन् ।
२२. मलाई को मनपर्छ ?
जसले अरूको दुखसुखमा साथ दिन्छ त्यस्तो मान्छे मलाई एकदम मन पर्छ ।
२३. म कस्तो मानिस हुँ ?
म कस्तो मान्छे हो म आफै भन्न सक्दिनँ । जसले जति बुझ्ने र सोच्ने क्षमता राख्छ, म त्यस्तै व्यक्ति हो ।
२४. म मरेपछि मानिसले मलाई कसरी सम्झिउँन् ?
धेरै आशा छैन जिन्दगीमा, बस् म मरेपछि अरूले भनुन् दीनदुःखीको घाउमा थोरै भए पनि मलम लगाउने गर्थी, आज उसले नै संसार छोडेर गई ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



