सबै मान्छेको साथले फरक पार्दछ जिन्दगीमा

मनोपरामर्श

सुशीला नेपाल

सहजीकरण र साथ–सहयोगले मनोसामाजिक तथा मानसिक समस्या कम गराउँछ ।

जब बालकले हिँड्न साहारा खोज्छ, तब हामी हात दिन्छौं । बिस्तारै उसले आफ्ना पाइला अगाडि बढाउँदै आफुभित्रको आत्मबल र साहस बटुलेर हिँड्न सिक्छ । किताबका पाना पल्टाउन नसक्दा हाम्रो साहारामा उसले ज्ञान लिन्छ अनि त्यो उसको व्यवहारमा परिणत हुन्छ । उमेरसँगै व्यक्तिलाई सहयोग, सहजीकरण र साथको जरुरत परिरहन्छ । अभिभावक या शिक्षकको साथ र सहयोग जीवनभर सबैलाई आवश्यक हुन्छ ।

जब शिशु जन्मन्छ, उसको वरपर वातावरणमा उसको सहजीकरण हुन सकेन भने उसका सिकाइका पाटाहरु टिनको छानामा प्वाल परे झंै बीचबीचमा चुहिन सक्छ । वयस्क अवस्थामा पनि मानिसलाई अप्ठ्यारा परिस्थितीमा साथ सहयोग चाहिन्छ । त्यो वातावरण पाएन भने उसको मन र दिमागमा कहिँ न कहि चोट परेको हुनसक्छ ।

वाल्यवस्थादेखिको सहजीकरण, माया, सद्भाव, सहयोग र हेरदेखका आधारमा व्यक्ति निर्माण हुन्छ । त्यसले उसका विचार, भावना र अरुप्रति गर्ने सकारात्मक र नकारात्मक व्यवहार निमार्ण हुन्छ । उचित वातावरण नपाउँदा उसको व्यवहार अभद्र र अपाच्य हुनसक्छ । त्यस्ता व्यक्तिलाई हामी मनोसामाजिक समस्या भएको व्यक्ति भन्न सक्छौं । समाज र मन अनि व्यक्तिबीच अन्र्तक्रिया गर्ने क्रममा असामान्य र असहजता उत्पन्न हुन्छ अनि उसका व्यवहारले कहिँकतै असर गरेको हुनसक्छ । र, ती असामान्य व्यवहार दुई हप्ताभन्दा बढी देखिएमा मानसिक समस्या भन्न सकिन्छ । उक्त व्यक्तिलाई समाज र सबैतिर समायोजन हुन गाह्रो बनाउन सक्छ ।

असामान्य व्यवहार देखिनासाथ उसले परिवार, छरछिमेक अनि शिक्षक अनि नजिकका व्यक्तिबाट सहयोग साथ पाएमा व्यवहारहरु सामान्य बन्दै जान्छन् । हामी आफैले यसको व्यवहार यस्तै हो, भनेको मान्दैन भनी छोडिदियौं भने उसमा मनोसामाजिक समस्या साथै मानसिक समस्या बढ्न सक्छ । समयमा नै उचित स्याहार र रेखदेख गरेमा मनोसामाजिक समस्या कम गराई व्यक्तिलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ ।

शाररीक चोट लाग्दा हामी तुरुन्त कहाँ राम्रो डाक्टर छ भनी अस्पताल जान्छौं । घरमा केहि समस्या आउँदा अरुसँग सल्लाह सुझाव लिन रुचाउँछौ । तर, जब मानसिक समस्या आइपर्छ, तब हामी लुकाएर रोग पालेर बस्छौं । किन त ?

– मनोसामाजिक समस्या भएको मानिसलाई दिमाग खुस्केको, बहुला वा पागल संज्ञा दिनाले ।

– मनोसामाजिक समस्या हुँदा रुढिवादी सोच र अन्धविश्वासको धारणा राखी ठिक तरिकाले उपचार नगर्नाले ती व्यवहारका कारण आत्महत्याको खतरनाक बिन्दुसम्म पुग्नसक्छ ।

– मानसिक रोगलाई धर्मको खेल, पापको फल, अल्छिना, दैवकोे खेल, भाग्यको खेल, पूर्वजन्मको पाप, देउता लागेको, बोक्सी लागेको आखाँ लागेको आदि भन्ने चलन छ ।

यस्ता सोचाई र व्यवहारले गर्दा मानसिक रोगले विकराल रुप लिएको छ । यसलाई जरैदेखि उखेल्नु आजको आवश्यकता हो । हरेक व्यक्तिलाई उसको शाररीक र मानसिक स्वास्थ्यको ख्याल राख्ने अधिकार छ । निर्धक्क रुपमा डाक्टर तथा परामर्शकर्तासँग आफ्ना समस्या राखी मानसिक रोगबाट पर रहन आफैबाट प्रयत्न गरौं । र, शाररीक चोटजस्तै मानसिक चोट लाग्दा तथा मनमा चोट पर्दा कति गहिराइमा मानसिक समस्या छ भनी कसरी थाहा पाउन सकिन्छ त ?

– कुनै पनि व्यक्तिले विभिन्न तरीकाले पिडा व्यक्त गर्दछ ।

– व्यक्तिको सोचाइ भावना व्यवहार र सम्वन्धको बारेमा बुझ्ने ।

– समस्याको वास्तविक प्रभाव, गम्भीरता ।

– समस्याको समयावधि ।

– कार्यक्षमता, जस्तै दैनिकी सामान्य रुपमा चलेको छ या छैन ।

मनोसामाजिक समस्या वा भावना ब्यतm गर्ने तरीका

– मन भत्भत् पोल्छ ।

– आत्मा रुन्छ ।

– टाउको तात्छ ।

– नरमाइलो लाग्छ ।

– जीउ भारी, मन चिसो, आक्रामक व्यवहार तथा अन्य ।

सामाजिक या मानसिक समस्या आउँदा उसलाई चौतर्फी सहयोग साथ र हेरचाह गरेमा मानसिक समस्याहरु कम गराउन तथा मनोसामाजिक समस्यालाई सामान्य अवस्थामा ल्याउन सकिन्छ । हरेक व्यक्तिलाई परिवार र समाज या कार्यक्षेत्रका साथीभाईको सहयोग र साथको खाँचो हुन्छ । त्यो अवस्थामा अगाडि बढ्नका लागि या सिकाईमा सहजीकरण गराइदिनका लागि उचित साथ सहयोग पाए व्यक्ति मानसिक रुपमा स्वस्थ भई कार्य गदर्छ । वरिपरीबाट केहि सहयोग साथ नपाउँदा मनोसामाजिक समस्याले मानसिक रोगतिर धकेल्न सक्छ ।

त्यसैले सहयोग, सद्भाव अनि समान रुपले एक अर्काको भावना बुझेर सहकार्य गरी अगाडि बढ्यौं भने मानसिक समस्यालाई कम गराउन सकिन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button