
कवि मनोजलाई कवि विशालको एकमुटु शुभकामना (कवितासहित)
जय जन्म
विशाल नाल्बो, भाइ
तपाईलाई मैले पहिलो चोटी कवि भनेर चिनेको हुँ, जुन बेला म गाउँमा थिएँ । हुनै सक्छ स्कुले जीवन बिताइरहेको थिएँ वा भनौं कतै संघर्ष गरिरहेको थिएँ सपनाको निम्ति ।
शून्य नामक स्थानीय पत्रिकाको सेतो कागजमा’भुइँ’ शिर्षकको कवितासहित तपाईको फोटो छापिएको थियो, त्यस बेला । भुइँ नाम गरेको कविताले भुइँ मान्छेकै कुरा बोकेको थियो । त्यसै दिन देखिन् लागेको हो, तपाई भुइँ मान्छेहरुको कवि हो अर्थात हाम्रो कवि हो ।
त्यो साल तपाईले युवा साहित्य अकादमी पुरस्कार प्राप्त गर्नु भएको थियो । ‘घाउका रङ्गहरु’ कविता किताबको निम्ति । त्यो मैले पत्रिकामै पढेको हुँ ।
कविहरु नभेट्दै पनि त आफ्ना मान्छे लाग्छन् । झन् भेटिसकेपछि । आफ्ना लाग्नुको फैलावट यतिबिध्न बड्ने रहेछ कि त्यो फिल तपाईलाई भेटिसकेपछि मलाई भएको हो ।
तपाईको नजिक भैसकेपछि लाग्यो, तपाईको प्रतिभा कवितामा मात्र सिमित छैन रहेछ । छँदै छैन रहेछ, जसको उदाहरण मैले दुनियाँलाई दिइबस्नु पर्दैन । दुनियाँले आफ्नै खुल्ला आँखाले देखिरहेका छन् । छन् हेरिरहेका ।

मानिसले तपाईलाई छुच्चो, कडा र कठोर सम्झन्छन् । तर, मैले चिनेको तपाई अर्थात् मनोज बोगटी सारै कोमल हुनु हुन्छ । सारै मायालु हुनु हुन्छ । सारै । सारै प्रेमिल ।
हामीले अनगन्ती अनगन्ती संघर्षको रातहरु सँगै बिताएका छौं । अनगन्ती अनगन्ती खुसीका बिहानहरु पनि सँगै हिडेका छौ ।
हिँडेका छौ अप्ठराहरुमा/हिँडेका छौ सहजहरुमा । त्यस संघर्षलाई लेख्ने दिन पनि आउला । लेखुलाँ ।
तर आजकल मलाई लागिरहेछ, तपाई बेतालको राजनितिक कुरा सोचेर कविता कम लेखिरहनु भएको छ । सिर्जना कम गरिरहनु भएको छ । अथवा यसो भनौ कवि कम बनिरहनु भएको छ ।
मलाई त तपाई कवि भैराखेको मन पर्छ । कवि नै बनिराखेको मन पर्छ । कवि नै भइरहनुस् है त ।
आज तपाई जन्मेको दिन । अर्थात् तपाईको दिन । तपाईलाई जन्मदिनको एकमुटु शुभकामना । माया त छँदैछ ।
…
कविता
एक छिन बुद्ध
मनोज बोगटी
चुल्हाको दाउराबाट झिलिलि झिलिलि झिल्काहरू
जोड जोडले रिसाउन थालेपछि
म पत्कर, घर छोडेर भागेको हुँ, एकछिन ।
एकछिन त हो तुफानको चुरिफुरी
एकछिन त हो छालको रवाफ,
एकछिन त हो आगो झिल्काको स्वाङ पनि !
आगोले झिल्को निकालेको बेला
एकछिन बसेँ भने म खाक हुनसक्छु
धेरै मिहिनेतले लेखेको एउटा पुरानो प्रेमपत्र खरानी बन्नसक्छ
त्यहॉं लेखिएको प्रियसीको नामलाई आगोले खान सक्छ ।
घर डढ्न सक्छ ।
एकछिन पसेको छु जङ्गल
एकछिन गृहत्याग गरेको छु,
एकछिन बुद्ध भइरहेको छु ।
तर घनघोर यो जङ्गलभित्र भित्र पसेर
छाडा कुइराहरू
तरुणी रुखहरूलाई अङ्गालो मारेर इत्रिरहेछन् ।
न्याहुलको चुच्चोबाट फुत्त फुत्त निस्किरहेछ प्रेम गीत
र, पखेटा फरफराउँदै पर्खिरहेछ नाङ्गो हॉंगामा कसैलाई ।
धुप्पीको सिन्कामा दुईवटा शीत एकै अङ्गालोमा बॉंधिँदैछन्
र, मैरे अघि
आत्महत्या गरिरहेछन् !
धुप्पीको बोक्रामा टुक्रुक्क बसेका दुईवटा फूल
जोडजोडले बतासको गीतमा नाचिरहेछन् ।
बाटैमा भेट भएका केही कमिलाले एकार्काको मुख चाटेर
एउटै बाटो फर्किरहेछन् हॉंगैहॉंगा उकालै उकालो ।
बच्चाहरुसित मुरीभुस सुतेकी पोथी चरालाई ठुङ्न तीनपल्ट भालेचरा झम्टिएपछि
खुसुक्क निस्किएर हान्नियो आकाशको टुप्पोतिर पोथी चरा
कस्सैले नदेख्ने ठाउँतिर पछ्याउँदै भाग्यो भाले चरा ।
यति देखेपछि,
धुप्पीको फेदमा बसेको सिद्धार्थको बोक्रा उक्कियो
र, निस्कियो एकछिन एउटा बुद्ध ।
त्यसपछि हजारपल्ट भयो मैले बन्द दैलोअघि उभिएर जपेको(
‘अहिंसा परमो धर्म,
सबैलाई प्रेम गर ।’
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)