हेल्थ इन्भेष्टमेन्ट: आकाशमुनि दौडिनुको मज्जा जिम-जुम्बामा कहाँ !

डा.सोनी श्रेष्ठ
एमबीबीएस, एमआरसीजीपी, क्लिनिकल ट्युटर (युके)

हेल्थ इन्भेष्टमेन्ट भन्ने बित्तिकै हामी हेल्थ इन्स्योरेन्स भनेर बुझ्छौं । सबैले ढुक्कका साथ भन्नु हुन्छ कि स्वास्थ्य इन्स्योरेन्स गराएका छौं । के जन्मेर त्यही स्वास्थ्य बिमामा मात्रै निर्भर हुने हो त ? जब हामी स्वास्थ्यको बारेमा कुराकानी गर्छौं, केवल शारीरिक स्वास्थ्यको बारेमा बुझ्छौं अनि हामीले हाम्रो मानसिक स्वास्थ्यलाई बिर्सिदिन्छौं ।

जब कलिला उमेरकालाई स्वास्थ्यको बारेमा सोध्छौ जवाफ एउटै आउँछ, ‘त्यसको लागि त पुरा जीवन नै बाँकी छ नि ।’ उमेर पुगेकालाई सोध्छौं त भन्छन्, ‘जीवन बितिसक्यो, उमेर ढल्किसक्यो ।’

एउटा सानो टुक्का याद आयोः ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो तारेर तर्दैन त्यो ।’ हो, यस्तै हो जीवन अनि कालले भन्छ न बृद्ध न बालक ।

बाँचुन्जेल त हामीले कोशिश गर्न सक्छौं, कसरी बाँच्ने भनेर । धेरै कुरा सायद हाम्रो नियन्त्रणमा नहोला तर नियन्त्रणमा हुने कुरालाई ध्यानमा राखेर कोशिस गर्यौं भने पक्कै पनि यो अझ बढी गुणस्तरिय हुनसक्छ ।

नहुनेले र नपर्नेले भन्छ, ‘परेपछि हेरूँला’ अनि परेपछि मलाई नै किन भयो भनेर हामी बिस्मात गर्छौं ।

अँ हजुर ! यस्तै छ यो जीवन ।

यो सानो लेख हेल्थ इन्भेष्टमेन्टको बारेमा ।

हामीले समयमा नै आफ्नो जीवनशैलीलाई ध्यान दिएर जीउन सिक्यौं भने धेरै रोगबाट बच्न र रोगको नियन्त्रण गर्नसक्छौ ।

डाक्टरले रोग लागिसकेपछि औषधि त दिन्छन् तर त्योबाहेक आफुले पनि कुनै पनि रोगको नियन्त्रण गर्न धेरै कुराहरू गर्न सकिन्छ । औषधिको एउटा चक्कीले अनेक रोगहरु निको हुने भए आहा ! जीवन कति सहज हुने थियो ।

हाम्रो मानसिक स्वास्थ्यको लागि दिनमा १०-१५ मिनेट राम्रो कुरा सुन्ने र पढ्ने गर्यौं भने यसले धेरै सहयोग पुर्याएको हुन्छ ।

‘यु आर ह्वाट यु फिड इन्टु योर ब्रेन ।’

मानसिक स्वास्थ्य भन्नु सधै खुशी हुनु, रमाउनु मात्रै हैन । जीवनको कठिन घडीमा पनि त्यसलाई सम्हाल्नसक्नु मानसिक शक्ति हो ।

त्यसैगरी हाम्रो शरीर स्वस्थ राख्न स्वस्थ खाना र ब्यायामको धेरै महत्व र भुमिका रहेको हुन्छ । स्वस्थ खाना खान पसलपसल चहार्ने हैन, घरमा भएको खानाबाट नै हामीले पोषणयुक्त खाना खान सक्छौं । समयअनुसार सिजनअनुसारको खाना खान आवश्यक छ ।

जब हामी ब्यायाम भन्छौ प्रायले जिम अनि जुम्बा सोच्छौं तर जुनै प्रकारको ब्यायाम आफ्नो दैनिक जीवनमा मिल्ने हुन्छ त्यहि गर्न सकिन्छ । जीवनलाई जति सरल र सहज राख्नसक्यौं, त्यति निरन्तरता दिनसक्छौं ।

बारीमा फल्ने त्यो काँक्रो, फर्सी, मकैको गुण त्यो रेष्टुरेण्टमा पाक्ने मीठो खानामा कहाँ ।

‘यु आर ह्वाट यु इट ।’

उकालीओराली र खुल्ला आकाशमुनि हिंड्नु, दौडिनुको मज्जा त्यो जिम-जुम्बामा कहाँ !

स्वस्थ खाना र नियमित ब्यायामले शारीरीक स्वास्थ्यको साथै मानसिक स्वास्थ्यमा पनि धेरै सहयोग पुर्याएको हुन्छ ।

हो, यही हो हेल्थ इन्भेष्टमेन्ट । हामीले आफ्नो स्वास्थ्यको लागि केहि समय सधैं दिनुपर्छ न कि रोग लागिसकेपछि ।

‘प्रिभेन्सन इज बेटर देन क्योर ।’

शुरूवात गर्न सायद सजिलो नहोला, कुनै पनि काम सजिलो कहाँ छ र ! तर, पनि यो कोशिसले हामीलाई स्वस्थ रहन साथ दिन्छ भने सधैं नै कोशिस जारी राख्नुपर्छ ।

अहिलेको यस्तो समयकालमा थुप्रै डरलाग्दा रोगहरू जस्तै हृदयघात, डाईबिटिज धेरै कम उमेरदेखिन नै देखिन थालेको छ र यसको मुख्यकारण हाम्रो जीवनशैलीसँग धेरै जोडिएको छ ।

हामीले आफ्नो लागि दिनको २४ घण्टाबाट २०-३० मिनेट निकालेर नियमित ब्यायाममा ध्यान पुर्याउने र सधैं नै स्वस्थ खानालाई नै जोड दिनुपर्छ । परिवारको कुनै सदस्यले मात्रै यस्तो शुरूआत गरेमा त्यसको फाइदा परिवारलाई नै प्राप्त हुन्छ ।

आफु स्वस्थ त परिवार स्वस्थ ।
परिवार स्वस्थ त समाज स्वस्थ ।
समाज स्वस्थ त देश स्वस्थ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button