
सिडिओ संस्मरणः माओवादीको डरले हेलिकप्टरमै गएँ, हेलिकप्टरमै आएँ
तावा माथिको माछा भुङ्ग्रोमा
रेशमबहादुर पाण्डे
गृह मन्त्रालयमा कार्यरत रहेको अवस्थामा कुनै बेला मेरा तत्कालीन हाकिम रहेका रेग्मी थरका सहसचिवले मलाई उनको कार्यक्षमा बोलाए । त्यसबेला उनले कर्मचारी प्रशासन महाशाखाको काम हेर्थे र गृह मन्त्रालय वा अन्तरगतका सम्पुर्ण कर्मचारीहरुको सरुवा वा काजका कार्यहरुमा उनकै हालिमुहाली चल्थ्यो । उनी अनुशासन र काममा निकै कठोर र परिश्रमी तथा ब्यबहारमा असहिष्णु र क्षेत्रियताको पक्षधर मानिन्थे र उनी सबै कर्मचारीहरुलाई आफुजस्तै क्षमतावान र आफ्नै शैलीका काम गराउने अपेक्षा गर्ने खालका शासकमा गनिन्थे । उनको मुखाकृति र बोल्ने रिसाहा शैलीले उनी पुरातन शैलीका कर्मचारीको झल्को दिन्थ्यो । हुन त गृह मन्त्रालयका सबै हाकिमहरु त्यस्तै ब्यवहार र काम कारबाहीमा पञ्चायत कालदेखि नै अभ्यस्त रहँदै आएको मलाइ अनुभूत भएको थियो । उनले ‘तपाँइ सरुवाको चिट्ठी किन बुझ्नु हुन्न ? चिट्ठी बुझेर खटाएको ठाँउमा तुरुन्त गइहाल्नोस’ भने । मलाई मेरो छिमेकी जिल्ला रसुवामा खटाइएको थियो र मेरो छिमेकी जिल्लामा मलाई काम गर्न असहज हुन्छ भनेर म त्यहाँ जान हिच्किचाएर चिट्ठी बुझेको थिइनँ । र, म सिनियर कर्मचारी भएको नाताले अरु नै राम्रो ठाँउमा सरुवाको अपेक्षा गरेको थिएँ । उनको हप्काइलाई मैले जवाफ फर्काउन नपाउँदै उनले भने, ‘तपाँइ नुवाकोटको मान्छे भएर टाढाको जिल्लामा नपठाई रसुवा पठाएको छु ।’ उनले मलाई माया गरेर दया देखाएको भावमा भने । उनको अगाडि अरु कुरा बोलेर केही अनुरोध गरेर केही पनि उपलब्धी नहुने र प्रतिवाद गर्दा झन स्थिती प्रत्युत्पादिक हुने देखेर चिट्ठी बुझ्ने मनसाय बताएर म आफ्नो कार्यक्ष फर्कें ।
माओवादी युध्दको समयमा रसुवा जिल्ला पनि संवेदनशील जिल्लाको रुपमा नै उल्लेख रहेको जिल्ला थियो । रसुवामा डेढ बर्ष स. सिडिओ र करिब पाँच महिना सिडियो भएर त्रासैत्रासमा बिताइयो । सदरमुकाम सुरक्षित रहे पनि जिल्ला भ्रमण र नुवाकोट काठमाडौं आउन जान गर्न सुरक्षाको दृष्टिकोणले अति नै डरलाग्दो र ज्यान जोखिममा रहेर यात्रा गर्नुपर्ने अवस्था थियो । रसुवाको सदरमुकाम धुन्चे जाँदा र आउँदा सुरक्षा निकायको जानकारी र सहयोग लिनु अनिवार्य थियो । सदरमुकाम आक्रमण गर्नु र जिल्ला प्रशासनको कर्मचारीलाई प्रहार गर्नु वा मार्नु नै राज्यसत्ता माथि विजय गर्नु हो भन्ने विद्रोहीहरुको मानसिकता थियो । कच्ची सडक भएको हुँदा बाटोमा माइन राखेर र एम्बुस राखेर सुरक्षा निकायका कर्मचारी र अन्य कर्मचारीलाइ आक्रमणको निसाना बनाउँथे । बेलाबेलामा धम्की दिने र बम बिस्फोटन गराई सबै क्षेत्रमा डर र त्रास पैदा गराउने कार्य गरिरहन्थे ।
एक पटकको घटना सम्झँदा अहिले पनि मेरो आङ्ग जिरिङ्ग भएर आउँछ । भएको के थियो भने म मेरो अफिसको निलो रंग भएको टोएटा गाडी लिएर आफ्नो घर नुवाकोट आएको थिएँ र रात नुवाकोटमा बिताएर भोलिपल्ट अफिस भ्याउने गरी फर्कने मेरो सधैंको जस्तो तालिका थियो । भोलिपल्ट सदरमुकाम धुन्चे फर्कने समयमा मलाई केही सामान किन्न त्रिशुलीबजार जानु पर्ने भयो । सामन किनमेल गर्दा र त्यहाँको निमन्त्रणा नगरेको अनपेक्षित कार्यक्रममा अलमलिनु परेको हुँदा ढिलो हुन गयो । र, म घरमा खाना खाएर मात्र धुन्चे जाने विचारले घरतर्फ लागें । मेरो बडीगार्डले लिएको वाकिटकीमा कालिकास्थान र राम्चेको बीच स्याउबारीको घुम्तीमा माओवादीले माइन बिष्फोटन गराएर एउटा आइचर गाडी ध्वस्त गराएको र मानविय क्षतिचाहिँ नभएको कुरा सरलाई सुनाइदिनु भनेको छ भनेर बडिगार्डले सुनायो । हामी आउँदैछौं, बाँकी कुरा पछि गरौंला भनी खबर गर्न अर्हाएँ । दुर्घटना भएको क्षेत्रमा म पुग्दा केही प्रहरीहरु त्यहाँ तैनाथ थिए । घटनास्थलमा रहेको असइले ‘हजुर ! ढिलो आउनु भएर एकदम राम्रो भएछ, नत्र यो बिष्फोटको निशाना त हजुरप्रति नै रहेछ भनी ब्रिफिङ्ग गर्यो ।’
मैले सबै घटनाहरु बताउ भनेपछि उसले भन्यो, ‘हजुर ! यहाँ दु्इ ठाउमा माइन बिछ्याउनेहरुलाई हामीले पक्डेका छौं । उसको बयान अनुसार सिडिओको गाडी यस ठाउँमा आइपुगेपछि पहिलो माइनलाई रिमोट कन्ट्रोलले बिष्फोट गराउने, यदि त्यो क्रस भयो भने अर्को दश मिटर टाढा बाटोमाबिछ्याइएको माइन पड्काएर ध्वस्त बनाउने उनीहरुको योजना रहेछ । हजुरको गाडी त्यस ठाउँमा आइपुग्ने समयलाई अनुमान गरेको समयमा निलो आइचर गाडी त्यहाँ आइपुगेको हुँदा त्यही गाडीलाइ हजुरको गाडी सम्झेर बिष्फोट गराएको रहेछ । हामीले पक्डेको आतंककारी खुट्टा भाँचिएर लडेको अवस्थामा यहाँ फेला पारेर बयान लिएका हौं र अरुलाई खोज्न मैले जवानहरु पठाएको छु ।’ मेरो गाडीको रंग पनि नीलो नै थियो र मलाई असइले भनेको कुरा साँचो हो जस्तो लाग्यो । मेरो आङ् ढक्क फुलेर आयो र मुख पनि सुख्खा भएर बोली निस्कन पनि अप्ठ्यारो भयो । मैले असइलाई ‘आतंककारीलाई तदारुकताको साथ खोजी गरेर मकहाँ पेश गर्नुस्’ भनेर म आफ्नो बाटो लागें ।
रसुवा जिल्लामा करिब दुइ बर्ष बिताएपछि मलाई गृह सचिवज्युको पिएले ‘तपाईंको गृह मन्त्रालयमा काज सरुवा भएको छ, बुझबुझारथ गरेर तुरुन्त गृह मन्त्रालयमा हाजिर हुन आउनुहोस् भनी सचिवज्युले भन्नु भएको छ’ भनी खबर गरे । त्यसबेला माओवादीले फिकुरी भन्ने ठाउँको टेलिफोन टावर ध्वस्त गरेको हुँदा टेलिफोन फ्याक्स केही नचल्ने भएको हुँदा सरुवाको चिट्ठी नपाए पनि म तुरुन्त नै बिदाबादी भएर काठमाडौं प्रस्थान गरें । छिमेकी जिल्ला रसुवामा बसेर मैले राम्रो काम गरेको रहेछु भन्ने बोध त्यहाँका कर्मचारी, राजनितीज्ञ, स्थानीयजनहरुले मप्रति देखाएको माया र सद्भाव अनि भब्य बिदाइले म निकै भावुक र आल्हादित भएको थिएँ । मन्त्रालय पुगेर चिट्ठी बुझ्दा म सशंकित भएँ । मेरो सरुवा क्षेत्रिय प्रशासन कार्यालय दिपायल र हाल काज गृह मन्त्रालय भनेर उल्लेख भएको थियो । कहिलेकाही गृह मन्त्रालयमा दरबन्दी नहुँदा दरबन्दी अन्यत्र राखेर मन्त्रालयमा नै कामकाज गराउने प्रचलन नै थियो । यसरी नै मन्त्रालयमा हाजीर गरेर बस्ने र कुनै शाखा नतोकिएको हुँदा केही समय म कामबिहीन भएर बसिरहेको थिएँ । तलब ख्वाउन मन्त्रालयबाट नै ब्यवस्था गरिएको हुँदा म ढुक्क नै थिएँ ।
त्यसबेला गृह मन्त्रालयमा पाण्डे थरका सचिव थिए र उनी भलाद्मी र मसँग राम्रै चिनजान भएका व्यक्ति थिए । एकदिन उनले मलाइ आफ्नो कार्यकक्षमा बोलाएर चिया अर्डर गरेर हालखवर सोधे । उनले मलाई सम्बोधन गर्दै भाइ, दुइ महिनाको लागि बाजुराको सिडिओ हुनु पर्यो, दुइ महिना चलाएर फर्केपछि तिमीलाई म राम्रो ठाँउमा सरुवा गरिदिन्छु, त्याहाको सिडिओ बिना जानकारी बेपत्ता भएको छ, सहायक सिडिओमा भर्खर नयाँ पोष्टिङ्ग भएर गएको अधिकृत छ, अर्धन्याययीक काम गर्न नमिलेर लथालिङ्ग छ भनेर मलाइ त्यहाँ जान आदेश दिनु भयो । त्यति नम्र स्वभावका पुर्वपरिचित सचिवले मलाई त्यसरी मध्यपश्चिमको विकट जिल्ला (यातायातको सुविधा नभएको) ठाँउमा पठाउलान् भन्ने मैले कल्पना गरेको थिइनँ । । मैले मेरो दरबन्दी क्षेत्रिय प्रशासनमा रहेको र मेरो घरायसी कारणले जान नमिल्ने कुरा अनुरोध गर्दा पनि उनले चिट्ठी तयार भइसकेको छ, गइहाल्नु, दरबन्दी म गृहमा खाली भएपछि मिलाइदिन्छु भनेर उनी तर्किए । गृह मन्त्रालयको कर्मचारी हुनुको नियति मैले पटक-पटक भोगिसकेको र मैले अब कि गृह मन्त्रालय छोड्नु पर्छ कि त आदेशको अवज्ञा गरेकोमा कोपभाजन भइरहनु पर्छ । दुइ महिना त हो नि । नयाँ ठाँउ देख्न पनि पाइन्छ । सचिवको आज्ञा पालन गरेको पनि देखिन्छ भनी म बाजुराको लागि तीन दिनभित्र नै प्रस्थान गरें ।
बाजुराको सदरमुकाम मार्तडी, कोल्टी र काँडा भन्ने स्थानमा म पहिले पनि पुगिसकेको थिएँ । र, सदरमुकामको दुरावस्था मैले देखिसकेको थिएँ । मैले अनुभव गरेको त्यहाँको घटना आश्चर्यलाग्दो थियो । तत्कालीन गृहराज्यमन्त्री मेरा आफन्त थिए र उनी त्यसै जिल्लाका भएका हुँदा उनी मार्तडीमा आफ्ना राजनैतिक भेटघाटमा रहेको बेला बाजुराका पौडेल थरका सिडिओ (मित्र) र म पुराना गफ गरेर उनको अफिसमा बसिरहेका थियौं । मलाई पानी पिउन मन लागेर त्यहाँको पिउनलाई ‘एक गिलास पानी ल्याउ त’ भनेर अह्राएँ । धेरै बेरसम्म बस्दा पनि पिउन न मपट्टि हेर्छ न पानी नै ल्याउँछ । मैले सिडिओ साबलाई पिउनले पानी नल्याएर बेवास्ता गरेको कुरा सुनाएँ । उनले त्यस पिउनलाई हप्काउँदै ‘ओ राजा, तुरुन्त साबलाई पानी ले त’ भने । उसले ‘हस हजुर, म तुरुन्त टक्र्याउँछु’ भनी एकै छिनमा पानी ल्याइदियो । पछि सिडिओ साुबले भने अनुसार त्यो ठकुरी थरको पिउनलाई राजा भनेर सम्बोधन नगरे काम नै गर्दैन । हप्काएर तँ भन्दा उसले नराम्रो मान्दैन तर राजाचाहिँ भन्नै पर्छ । यो कस्तो संस्कार र मानसिकता ? म अचम्भित भएँ ।
बाजुराको कोल्टीमा हवाइजहाजको सुविधा थियो तर कोल्टीबाट सदरमुकाम पुग्न झण्डै दुइ दिन लाग्थ्यो । हिहिँ त सकिन्थ्यो होला तर पहाडी बाटो भएर जाँदा माओवादीको आक्रमणमा पर्ने ठुलो डर थियो र सबै कर्मचारीहरु हेलिकप्टरमा चढ्न बाध्य थिए । कोल्टीमा चामल बोक्ने हेलिकप्टरबाट एक कुइण्टल चामल झारेर मलाई बाजुराको सदरमुकाम मार्तडीमा पुर्याइदियो । चारैतिर अग्ला डाँडाले घेरिएको, थोरै समतल जमीन र धेरै भिरालो भागमा अवस्थित मार्तडी साना कच्ची घरहरु भएको सानो बजारमा अवस्थित रहेको रहेछ । केही महिनादेखि बाजुराको जिल्ला प्रशासन कार्यालय धानेर बसेका काठमाडौं घर भएका नि.सिडिओ म गएको हेलिकप्टरमा काठमाडौं फर्केपछि सीमित कर्मचारीको भरमा जिल्लाको काम शुरु गरियो । त्यहाँ दरबन्दी भएका सिडिओको गुमनाम स्थितीले गर्दा यो निरीह गौप्राणीले बाजुरा जिल्ला हाँक्न जान परेको थियो ।
मार्तडीको पुर्वी भाग केही उचाइमा रहेको र पश्चिमतर्फ खोल्साको माथि समथर भागमा सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय रहेको थियो । त्यहाँको भौगोलिक स्थिती हेर्दा माओवादीको रणनीतिक आक्रमणमा त्यो सदरमुकाम नपरेको र सुरक्षा निकायमा आक्रमण गर्दा बस्ती रहेको स्थान ध्वस्त हुने कारणले मार्तडी सुरक्षित रहेको देखिन्थ्यो । तर, पनि विभिन्न जिल्लामा बिशेष गरी जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय बढी मात्रामा आक्रमणको तारो भइरहेको हुँदा बिशेष सावधानी अपनाउनु जरुरी थियो । त्यसको लागि मैले पनि सुरक्षित रहन केही उपाय अपनाउनु जरुरी थियो । सिडिओ क्वाटरमा नै छ भन्ने भान पार्न सिडिओ क्वाटरमा रातभरी बत्ती बालेर राखिदिने र सहायक सिडिओ क्वाटरमा खाना खाएर नौ बजेभित्र बीच बजारमा पालैपालो भानुभक्तजी (स्थानीय मानव अधिकारबादी) र लोकबहादुरजीको घरमा गोप्य कोठामा रात बिताउन जाने गरेको थिएँ । खाना खाने घरमा पनि जुनसुकै बेला आक्रमण भएको खण्डमा सुरक्षित हुन क्वाटरको पछाडि ढोकाबाट स्क्रोलिङ् गरेर बंकरसम्म जान गोप्यरुपमा रातीको समय पारेर बंकर खन्न लगाएर राखेको थिएँ । बंकरको माथि बारीमा कोदो रोप्न र बंकरको ढोकामा केराको ससाना रुखहरु सार्न लगाएर त्यो ठाँउ बारीको भाग जस्तो बनाएको र चारैतिर फुलको बिरुवा लगाएको थिएँ । केही गरी आक्रमण भइहाल्यो भने करिब एक किलोमिटर पारी रहेको सुरक्षा फौज आउनुअगाडि इहलिला समाप्त हुनबाट बच्न त्यो सुरक्षित ठाँउ बनाउने ब्यवस्था गरेको थिएँ । त्यसो त सुरक्षा प्रमुखहरु डिएसपी र मेजरसाबले पनि ब्यारेकमा सुत्नको लागि छुट्टै कोठाहरुको ब्यवस्था मिलाएका थिएँ । मैले त्यहाँ गएर रात बिताउन त्यति जाँगर चलाइनँ ।
मानव विकास सुचकांकमा पचहत्तरौं स्थानमा रहेको बाजुराको जनजीवन, आर्थिक स्थिती र जीवनशैली सामान्य जनताले जिउने खालको भन्दा पनि ज्यादै तल्लो स्तरको थियो । त्यस्ता आधारभूत कुराहरुको विकास गर्न त राज्यले र राजनीतिज्ञले सोचविचार गरी योजना बनाइ जीवनस्तर उकास्ने कार्यक्रम बनाउनु पर्ने हो तर मैले बाजुराको सम्पुर्ण स्थितीको आंकलन गर्दा पचासौं बर्ष अगाडिको जीवनपद्धतिमा नै बाँचिरहेको पाएँ । जनतालाई छिटो र सहज तरिकाले सेवा दिन अपनाइनु पर्ने उपाय र प्रशासनिक जालोबाट पीडित र भ्रष्ट्राचारको ब्याप्ततालाइ केही कम गर्ने कदम चाल्न शुरु गरें । पुरातन खानपानको शैली र पौष्टिक आहारको कमीले त्यहाँका अधिकांश जनता युवा अवस्था नै नआई वृद्ध हुनपुग्थे । सानै उमेरमा विवाह गर्ने र लगातार बच्चा जन्माउने हुँदा तीस पैतीसको उमेरमा नै वृद्धजस्ता देखिन्थे । सदरमुकाम मार्तडी नै सानो बजार जस्तो तर गाँउ जति पनि आधारभूत सेवासुविधा नभएको स्थानको रुपमा देखिन्थ्यो । राम्रो उब्जनी नहुने पहाडी भूभाग भएको र आधुनिक कृषि प्रणाली नअपनाइएको कारण अधिकांश व्यक्ति खाद्य संस्थानबाट वितरण हुने चामलमा भर पर्ने गर्दथे ।
बाजुरा दुर्गम जिल्ला भएको भएता पनि बेलाबेलामा राजनीतिज्ञ तथा बिशिष्ट ब्यक्तीहरको हेलिकप्टरबाट आगमन भइ नै रहन्थ्यो । मार्तडीमा टेलिफोन र बिजुली (साना जलविद्युत आयोजना) चाहिँ थियो र टेलिफोनमा सम्पर्क गर्न र टेलिभिजनमा कार्यक्रम हेर्न पाइने सुविधा थियो (माओवादीले टेलिफोनको टावर र जलविद्युत गृहलाइ माया गरेर आक्रमण गरेका थिएनन्) । एकदिन बिहानै मार्तडीस्थित गुल्मका मेजरले आज मध्यपश्चिमाञ्चल पृतनापतीज्युको यहाँ सवारी हुँदैछ, सर भन्दै सात बजे गुल्ममा आउनुपर्ने कुराको जानकारी गराए । त्यसबेला कटुवाल (त्यसबेला प्रसिद्धभइसकेका थिएनन्) थरका पृतनापतिले त्यो क्षेत्र हेर्दथे । उनी ब्यारेकमा ठीक समयमा नै आइपुगे र चियापान पछि कार्यक्रम शुरु गरियो । म नजिकैको सीटमा बसेका कटुवालले मेजर (गुल्मपति) लाई बोलाएर मप्रति देखार्उँ हेर बिश्ने (मेजरको नाम) उहाँ यो जिल्लाको सुरक्षाको प्रमुख हो, अझ यो जिल्लाको राजा हो, ऊ त्यो झण्डा (मेरो अफिसमा फहराइरहेको झण्डालाइ दखाउँदै) हाम्रो देशको सान र इज्जत हो, त्यो झण्डाको रक्षार्थ हामीले जुनसुकै कुर्वानी गर्न पनि तयार हुनुपर्छ, बुझिस् । जिल्लाको राजालाइ सुरक्षा गर्नु तेरो हाम्रो कर्तव्य हो । उनले मेजरलाइ हिदायत दिंदै मेरो (पदको) प्रशंसा गरे । मेरो उनीसँग चिनजान पनि थिएन र स्वभाव पनि थाहा थिएन । तर उनको स्पष्ट र फुर्तिलो भनाइले मान्छे जब्बर रहेछन् जस्तो लाग्यो । उनले सुरक्षाका कुरा सम्बोधन गरे, मैले पनि जिल्लाको सुरक्षा संवेदनशीलता र चुनौतीलाई दृष्टिगत गरी मार्तडीमा सैनिकको नफ्री (संख्या) थप्न अनुरोध गरें ।
बाजुरा बस्दा अर्को दुर्घटना घट्यो । खुट्टा मर्किएर घाइते भएँ । म बिहानको प्रात भ्रमणमा कहिले मार्तडीको दक्षिणपट्टि रहेको मालिका डाँडामा र कहिले उत्तरपटी रहेको बाहुलीगाड खोलासम्म पुग्ने गर्दथें । बाहुलीगाड जान भिरालो भाग हिड्नु पर्थ्यो र गोरेटो बाटोमात्र भएकोले मेरो दाहिने खुट्टा रड्किएर लड्न पुगें । क्वाटरमा आएर मुभ भन्ने मल्हम लगाएर माडमुड गर्दा केही आराम जस्तो भएको हुँदा नियमित काम गर्न थालें । भोलिपल्ट बिहान दुखेको भान भयो र बेलुकीसम्ममा त दाहिने खुठ्टा सुन्निएर पीडा हुन थाल्यो अनि डाक्टर बोलाएर जचाँउन लगाएँ । डाक्टरले जाँचे र केही अौषधी लगाएर ब्याण्डेज बानेर आराम गर्ने सल्लाह दिए । मैले हिँड्न गार्हो भएको कारण क्वाटरबाट नै कार्यालयका काम सञ्चालन गर्न थालें । सात आठ दिनपछि त खु्ट्टा पनि निकै सुन्निएर आयो र पीडा पनि असह्य हुन थाल्यो । मैले हेलिकप्टर मगाउने वा चामल बोक्ने हेलिकप्टरलाई चामल ल्याउने ताकेता गर्ने विचार गरेको थिएँ । कर्ण थरका ती डाक्टरले अब तीन चार दिनमा निको हुन्छ, आँत्तिनु पर्दैन भन्दै ढाडस दिए । अधिकृत नभएको हुँदा म नभए जिल्लामा कामकाज सबै रोकिन्थ्यो । मन्त्रालयबाट मैले बिदा पाउने सम्भावना पनि थिएन । त्यही बिरामीले ग्रस्त रहेको समयमा मध्यरातमा एकाएक राती ठुलो बिस्फोटन र गोली पड्केको आवाज आयो । मलाइ माओवादीले जिल्ला सदरमुकाम आक्रमण गर्यो भन्ने शंका लाग्यो ।म बजारको सेल्टरमा पनि जान सकेको थिइनँ । (सहायक सिडिओ) क्वाटरमा नै थिएँ । र, भाग्न सक्ने स्थितीमा पनि थिइनँ । के गर्ने के नगर्ने स्थितिमा किंकर्तब्यविमुढ भएर डर र त्रासमा रहेको बेला मेरो बडिगार्डले ढोका ढक्ढकायो । बडिगार्डले ढोका ढकाउँदा पनि मलाइ माओवादी आएछ जस्तो लाग्यो । तर बडिगार्ड मुसुमुसु हाँस्दै भित्र पस्यो र मेरो मुद्रा देखेर बडिगार्डले सर, डिएसपी साुबले यो आफैले पड्काउन लगाउनु भएको हो । माओवादी आक्रमणको समयमा कसरी बच्ने भन्ने ब्यारेकभित्र अभ्यास गरिएको हो भन्यो । केही समयमा नै विष्फोटन र गोली पड्कने कामहरु बन्द भए । मैले डिएसपी साबलाई मलाई किन पुर्व जानकारी नदिएको भनेर सोधें । उनले मेरो बडिगार्डलाइ केही समय अगावै सिडिओ साबलाइ जानकारी गराउनु भनेको थिएँ ,हजुरलाई जानकारी गराएन र भनेर उल्टै प्रश्न गरे ।गार्डलाइ सोध्दा ऊ अलि टाढा सुत्न गएकोले आउँदा ढिला भएर जानकारी दिन नसकेको भनेर माफी माग्यो । मैले पनि त्यति सानो कुरालाई तन्काएर विवाद निकाल्न चाहिनँ ।
डाक्टरको देखभाल र मेरो आरामले म लडेको १२ औं दिनमा मेरो खुट्टाको पीडा कम भयो । म बाजुरा आएको पनि छ महिना बितिसकेको थियो र म गृह मन्त्रालय फर्कन चाहन्थें । यो २०६१ सालको कुरा हो र माओवादीको युद्ध झन् प्रखर रुपमा बढिरहेको थियो । कुन दिन मार्तडीमा आक्रमण हुन्छ ठेकान थिएन । तर, बेलाबेलामा आजभोलि नै आक्रमण हुँदैछ भनेर केही दिन बिराएर हल्ला चलिरहन्थ्यो । मैले सचिवज्युलाई फोनबाट सम्पर्क गरें, मेरो दुर्भाग्य, मलाई फकाएर बाजुरा पठाउने सचिवज्युको त सरुवा भएर श्रेष्ठ थरका सचिव आएका रहेछन् । मैले उहाँलाइ अनुरोध गरें र उहाँले मेरो ठाँउमा बस्नेत थरका सिडिओलाई सरुवा गरी बाजुरा पठाए । सिडिओ आएको हेलिकप्टरमा नै सरुवा भएका सिडिओ जाने प्रचलन जस्तै म पनि गृह मन्त्रालयमा काजमा फर्काइएँ।करिब पाँच महिना जति गृहमन्त्रालयमा काजमा कार्यरत रहँदा पनि मेरो दरबन्दी मन्त्रालयमा कायम गराउन सकिएको थिएन । मासिक तलब दरबन्दी कायम रहेको क्षेत्रीय प्रशासन कार्यालयबाट आउने गर्थ्यो । फागुन महिनामा तत्कालीन राजा ज्ञानेन्द्रले मनोनित गरेका शेरचन थरका क्षेत्रीय प्रशासकले तलब रोक्का गरिदिए र मन्त्रलयमा काजमा रहेका म र अर्का सहसचिवलाइ तुरुन्त दरबन्दी रहेको कार्यालयमा हाजीर हुन आउनु भनेर ताकेता गरिरहे ।उनले अब एक महिना भत्र पनि दरबन्दी भएको कार्यालयमा नआए राजामा जाहेरी गरिदिन्छु भनेर सचिवलाई धम्क्याएछन् । सहसचिव त कसरी हो मिलाएर दिपायल हाजीर हुन गएनन् । मचाहिँ जबर्जस्ती दिपायल जानु पर्ने बाध्यता आइपर्यो । क्षेत्रीय प्रशासकले दशकौंदेखि नचलेको दिपायल एयपोर्टमा प्लेन चलाउन लगाएका थिएँ । दिपायल र आछामको साँफेबगरमा पनि राजाको दुहाइ दिएर नियमित उडान सेवा नियमित गराएको भन्ने कुरा पनि हामीलाइ सुनाउँथे । आफ्नो कार्यालयमा दरबन्दी अनुसारको सबै कर्मचारी भएको देख्न चाहने र बिदा माग्दा कुनै हालतमा पनि बिदा नदिने उनको बानी थियो । सायद उनले नि.से.नि.मा ब्यवस्था भएको बिदा अधिकारको कुरा होइन, सहुलियत हो भन्ने वाक्य पढेको थिएँ र नियम अनुसार कर्मचारीले पाउनु पर्ने विदा कुनै हालतमा पनि दिन चाहदैनथे ।
नयाँ स्थापना गरिएको कार्यालय, नयाँ कर्मचारीको ब्यवस्थापन र नयाँ प्रकृतिको काम र क्षेत्रीय प्रशासकलाई असीमित अधिकार भएको कार्यालयमा तात्विक कामचाहिँ खासै हुँदैनथ्यो । सोझै राजाबाट मनोनित भएको हुँदा उनीहरु आफुलाइ कुनै मन्त्री भन्दा कम ठान्दैनथे । अर्धन्यायीक अधिकार भएका सिडिओलाई समेत कारबाही गर्ने प्रयास गर्दथे । मानौं त्यस क्षेत्रका राजाको रुपमा नै उन्मत्त भएर जथाभावी कृयाकलापहरु गर्दथे । न कुनै ठोस काम छ, न त आवश्यक परेको बेलामा विदा उपभोग गर्न पाउनु नै छ । कर्मचारीले पाउने स्वतन्त्रता र सुविधाबाट बञ्चित भएर काम गर्नु परेको हुँदा निकै निराशामय दिन बिताउन बाध्य थिएँ । उनीहरुबाट कर्मचारीहरुप्रति गरिएको निकृष्ट ब्यवहारले भित्रभित्रै असन्तुष्टी बढ्दै गइरहेको थियो । कर्मचारीको हाजिरीप्रति निर्मम तरिकाको छड्के, नियम विपरितका कामहरु गर्न बाध्य पार्ने र कर्मचारी अनुशासनका नाममा तराइको भीषण गर्मीमा दौरा, सुरुवाल र कोट अनिवार्य रुपमा लगाउनु पर्ने बाध्यता सिर्जना गरिएकोले कर्मचारी वर्ग निकै मारमा परेका थिए । देशका सम्पुर्ण जनता, वौद्धिक वर्ग, नागरिक समाज, साहित्यिक तथा कलाकार समाज तथा सम्पुर्ण कर्मचारीहरु यस्ता अन्यायपुर्ण ब्यवहारबाट वाक्कदिक्क भएका थिए । सबैको अथक प्रयासबाट गणतन्त्रात्मक ब्यवस्था आएपछि मात्र कर्मचारी वर्गले उन्मुक्ति पाएका थिए । यसै क्रममा मेरो पनि गृह मन्त्रालयमा सरुवा भएको थियो ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)