जिन्दगी आफूले लेख्न नजानेको र अरुले लेखेको चित्त नबुझेको किताबजस्तै रहेछ

मनका कुरा

शारदा पाण्डे

च्यातिएको डायरीभित्र फाटेको मनको वेदना पोख्दै छु । थाहा छैन लेख्न चाहेका अभिव्यक्ति भाव स्पस्टीकरण सविस्तार लेख्न सकुला कि नसकुँला तर पनि लेख्ने प्रयास भने गर्दैछु ।

लाग्छ, जिन्दगी सादा कागज हो । सादा रङ्ग हो । सादा कागजमा जस्तो रङ्ग भर्न सक्यो, त्यस्तै बनिदिन्छ । समयले फेर्ने काँचुली जस्तै यो जिन्दगीले नि काचुली फेरि दिन्छ । समयले फेरिदिने काँचुलीहरुले जिन्दगीको अञ्जुलीले चुपचाप थापिदिन्छ । ती काँचुलीहरु लिएर बग्ने मेरो जिन्दगीको कथा लेख्न मन लाग्यो ।

जिन्दगी धेरै अनुभव मिलेर बनेको हुन्छ । अनगिन्ती अनुभूति बटुलेर बनेको हुन्छ । बनेको हुन्छ अथाह यात्रा मिलेर । अनि अनेक पात्रहरू आउँछन् । अनि बस्छन् केहि बेर । अनि दगुर्दै जान्छन् टाढा, निकै टाढा अनि हराउँछन् । एकै छिनमा आकाशमा पोइल जाने तारा जस्ता हुन्छन् । हामी भने सानामा तारा पोइल जादाँ मागेको इच्छा पुरा हुन्छ भनेर हतारहतार केहि माग्थ्यौ । तर, के थाहा त्यो बालपनमा हामीलाई जीवन सोचेको जस्तो कहाँ हुन्छ ? यस्तो लाग्छ, जिन्दगी भनेको त आँसुहरुको घोल मात्रै हो । आँसु घोलक पदार्थ हो र पिडा घुलित पदार्थ हो । जब आँसुमा घुलिन्छ नि पिडाहरु आँसु स्वत हराए जस्तो लाग्छ, बिलाए जस्तो लाग्छ तर यथार्थमा आँसुको मुल तत्व नै पिडाहरु हुन् । पानीमा चिनी घोल्दा चिनी हराउँछ, पानी मात्र देखिन्छ । तर, त्यो पानीलाई गुलियो बनाउने त त्यो घुलेर हराएको चिनीले नै हो । मान्छेहरु पानी देख्छन् चिनी देख्दैनन् । ठिक त्यसैगरी मानिसहरू आँसु देख्छन्, पिडा देख्दैनन् तर त्यो आँसुलाई कस्तो बनाउने भन्ने चाहीँ पिडाले नै हो । नत्र त आँसु कहिलेकाँही मज्जाले हाँस्दा पनि आउँछ ।

जिन्दगीको सबैभन्दा दुखद घडि त्यो हो, जब आफ्नै भन्नेले आँखाभरी आँसु आउने चोट दिएर जान्छन् । अनि के भयो भन्दै सोध्न आउँछन् । हो, त्यो बेला शब्दमा केही भएको छैन् ठिक छु भनेता पनि भित्रभित्र मन दुखेको स्वयम् मलाई मात्र थाहा छ । जुन कुरा शब्दमा व्यक्त गर्ने इच्छा पनि लाग्दैन । जीवन भनेको एउटा सम्झौता नै त हो । यहाँ दिनु पर्ने जे छ, लिनु पर्ने जे छ, त्यो बराबर नै हुनु नै पर्छ । यो संसारमा मलाई बुझ्ने, मेरो आँसुको अर्थ बुझ्ने सिर्फ एकजना हुनुहुन्छ, त्यो मेरो बाबा हो । आज उहाँलाई छाडेर यो बिरानो ठाउँमा आएर बस्नु परेको पिडा, त्यो मलाई मात्र थाहा छ । मान्छे अनुहार हेर्छन्, मनका भाषा बुझ्दैनन् । जीवन भन्नुनै आँसु लुकाएर हाँस्नुपर्ने बाध्यात्मक परिस्थिति नै हो । माया गर्ने मान्छेबाट टाढा हुनुपर्ने ।

आज जीवनको यो पलमा मलाई बुबाले भन्नु भएको जीवनको यथार्थ चित्रण छर्लङ्ग हुदैछ । उहाँले भन्नु हुन्थ्यो, ‘छोरी ! जीवन भनेको यो हो, जब मानिसले जन्म लिन्छ, ऊसित सास त हुन्छ तर कुनै नाम हुँदैन र जब मानिस मूर्ति हुन्छ तब ऊसित नाम त हुन्छ तर सास हुदैन । यहि सास र नामको बीचको यात्रा नै जीवन हो ।’ अनि फेरि भन्नु हुन्थ्यो, ‘जिन्दगी आफूले लेख्न नजानेको र अरुले लेखेको चित्त नबुझेको किताब जस्तै रहेछ । हामी अव्यक्त शब्दका मालिक हौं तर ती शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।’ उहाँले भन्नु हुन्थ्यो, ‘जीवनमा कहिले निराश नबन किनकि जिवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौ र अन्तिम चुस्कीतिर मात्र चाल पाउँछौ, हत्तेरी चिनी त कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई सबसे मिठो बनाउने सबै चीजबीज हामीसँगै छन् । मात्र हामीले आफ्नो कपमा चम्चा चलाउन भुलेका हौं । कप मस्तिष्कको प्रतिक हो । त्यसैले आवेगमा आएर आफ्नो अमूल्य जीवन खेर नफालौं ।’

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button