
आज राती सपनामा मैले मेरो जन्मघर बोलिरहेको सुनेँ
अम्बिका घिमिरे
परिवारलाई सुखमा राख्ने र बुढेसकालमा भए पनि थाप्लोको नाम्लो हटाउने रहरले आफ्नो थातथलो छोडेर मधेश झर्नुभएको मेरो बुवालाई पनि आफ्नो जन्मघरको याद मलाई जस्तै गरी आउँदो हो । सम्बन्ध बिच्छेदपछि अलग्गिएका पति पत्नीको सम्बन्ध र बेचिसकेपछिको जन्मघरसँगको सम्बन्ध उस्तै रहेछ्र । मनले जोडेको सम्बन्ध कागजको टुक्राले तोडिन्छ र ?
मनाउनेहरुले सम्बन्ध बिच्छेदको पनि बर्षगाँठ मनाए । तर, म त्यसलाई खुशीको उत्सव मान्न सक्दिन । जन्मभूमिको कुरा गर्दा आफ्नो सफलताको कथा बिर्सेर गह भरी आँसु पार्नुभएको मेरो बुवाको मन मैले धेरै पटक पढेकी छु । आमा बुढी भएर कुरुपै देखिएनी आफ्नी आमा कसैलाई नराम्री लाग्छ र ? हो, मेरो जन्म घर पनि त्यस्तै भएको छ । सन्तानको हातको एक घुट्को पानी खान, अन्तिम पटक सन्तानको मुख हेर्न, आफ्नो सन्तानले आमा भनेको अन्तिम पल्ट सुन्न सास अड्काएर बसेकी आमा जस्तै मेरो जन्मघर धुकधुकी सास अड्काएर मलाई पर्खिरहेको छ ।
बृद्ध बाआमालाई बृद्धआश्रममा छोडेर आउने छोराछोरीले पनि सपनामा आफ्नो बाआमा नदेख्दा हुन् र ? आफ्नो बाल्यकाल नसम्झिदा हुन् र ? हो, मेरो जन्मघर पनि बृद्दआश्रममा छोडिएका बृद्ध बाआमा जस्तै भएको छ । आज राती सपनामा मैले मेरो जन्म घर बोलिरहेको सुनेँ, चिच्याईरहेको सुनेँ, रोईरहेको सुनेँ अनि ब्युझेर म पनि रोएँ ।
घर ढुंगा माटोको थुप्रो मात्र होइन, इटाबालुवा र सिमेन्टको थुप्रो मात्र पनि हुदैँ होइन । घर एउटा निर्जीव बस्तु मात्र हुनैसक्दैन । ढुंगा माटो होस् वा इटा बालुवाको थुप्रोमा जब त्यसमा प्राण भरिन्छ अनि मात्र घर बन्छ । त्यसैले होला जति हामी घरको यादले तड्पिन्छौँ, त्यति हामीलाई कुनै निर्जीव चिजको याद्ले तड्पाउँदैन ।
कयौं वर्षदेखि मान्छेको स्पर्श नपाएको मेरो जन्मघरलाई भकारी भरी हुँदा आउने मुसाहरुले छोडे होला । भर्सेलि तातो हुँदा आउने बिरालाहरुले छोडे होला । जुठ्यानमा जुठो मिल्काउँदा आउने कौवा, परेवाले पनि छोडे होला । पोखिएको बिस्कुन खान आउने भंगेराहरुले पनि त छोडे होला । बिल्कुल एक्लो भएको छ्र रोगी भएको छ, बृद्ध भएको छ, कमजोर भएको छ । लाग्छ, मेरो बाटो हेर्दाहेर्दै एकोहोरो भएको छ । हो, मेरो जन्मघर मलाई कुरिरहेको छ । मेरो स्पर्शको लागि तड्पिरहेको छ । प्राण धान्नै मुस्किल हुँदाहुँदै पनि अझै उभिरहेको छ ।
जब म भेट्नेछु मेरो जन्मघरलाई, अंगालो मारेर धित मर्ने गरी रुने छु । मुटुभरिको माया दर्शाउने छु । यादको गह्रौ भारी बिसाएर हल्का हुनेछु । आँधीहरुलाई, हुरिहरुलाई, भूकम्पका धक्काहरुलाई र सबै किसिमका प्राकृतिक प्रकोपहरुलाई एउटा बिन्ती छ, मुस्किलले उभिएको मेरो जन्मघरलाई मैले भेट्नु पूर्व नमेटिदिनु ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



