
दुईवटा बच्चा जन्माएपछि नै पाइन्ट लगाउन थालेकी हुँ
शकुन्तला देवकोटा
प्रश्न थियो, पहिलो पटक पाइन्ट लगाउन कति अप्ठ्यारो लाग्यो ?
मैले दुईवटा बच्चा जन्माएपछि नै पाइन्ट लगाउन थालेकी हुँ । त्यसअघि कुर्ता सुरुवाल लगाउने गर्थें । जे लगाउन थाल्यो, त्यही बानी पर्ने त हो । हाम्रो आमा, हजुरआमाहरुले सारी, फरिया लगाएर नै जीवन बिताउनु भयो ।
महिलाको लागि सारी, फरिया सुहाउने पहिरन त हो तर सजिलो र सुरक्षाको हिसाबले कुर्ता, सुरुवाल नै राम्रो हुन्छ । तर, मलाई खासै मनपर्ने पहिरन होइन कुर्ता, सुरुवाल । बच्चा बेलामा जामा खुब मनपराउँथे । आमाहरुले सारी लगाएको देख्दा खुब रहर लाग्थ्यो, कहिले ठुलो भएर सारी लगाउने होला भनेर । तर, हामी काम गर्न बाहिर हिँड्ने महिलाको लागि सारी दैनिक लगाउन सम्भव नहुने रहेछ भन्ने अहिले थाहा पाएँ ।
काठमाडौमा धेरै समय जाडो हुने भएकोले कुर्ता, सुरुवालभन्दा कपडाको पाइन्ट लगाउँँदा अलि सहज महसुस गरेर टप्स र कपडाको पाइन्टबाट सुरु गरेँ । अनि विस्तारै कटराइज र जिन्सतिर आइपुगेँ ।
कामको सिलसिलामा बाहिर हिँड्न पर्ने । जता जाँदा पनि टप्स र पाइन्टट लगाउँदा सजिलो महसुस हुने । जब मैले स्कुटर चलाउन थालेँ, त्यसपछि बाक्लो किसिमको पाइन्ट खोजीखोजी किन्न थालेँ । बाक्लो पाइन्ट किनेर लगाउने अनुमति मैले मेरै श्रीमानबाट पाएको । स्कुटर चलाउँदा कहिलेकाहँि लड्न सकिन्छ । हावा पनि लाग्छ । त्यस कारण सबै सुरक्षाको हिसाबले बाक्लो पाइन्ट नै लगाउन थालेकी हुँ ।
नेपाली पहिरन सारी ब्लाउज असाध्य मन पर्छ । बजारमा नयाँ सारी आयो कि किन्न मन लाग्छ । तर, लगाउने दिन सिमीत मात्र हुन्छ । दराजमा अरु सामानलाई भन्दा सारीलाई नै प्रथमिकताका साथ सजाएर राख्ने गर्छु ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)