आर्ट अफ लिभिङ: पारिवारिक सम्बन्ध र निसर्त प्रेम

राजेन्द्रप्रसाद फुयाल
प्रिन्सिपल, सृजना ज्ञानसागर मावि, तारकेश्वर–४, काठमाडौँ ।

व्यक्ति परिवारसँग जोडिएको हुन्छ । परिवार समाजसँग, समाज राष्ट्रसँग र राष्ट्र विश्वसँग समष्टिगत रूपमा जोडिएको हुन्छ । यसभित्र प्रेम, सद्भाव, पूजा–आरधानासँगै प्रतिष्प्रधा, घृणा, इष्र्या, राग र द्वन्द्वले मानवीय मनोविज्ञान तय गरेको हुन्छ । परिणाम त त्यहाँ कृष्ण, बुद्ध, ओशो, क्राइष्ट, मिरा जस्ता प्रेम र ज्ञानका प्रतिमूर्तिको जन्म हुन्छ साथसाथै प्रतिष्प्रधा र महत्वाकांक्षाका विगविगीको ताण्डव नृत्य पनि देख्न पाइन्छ । प्रतिष्प्रधा र महत्वाकांक्षाले भौतिक समृद्धि अवश्य हुन्छ । तर, भौतिक समृद्धिले मनुष्यभित्र अन्तर्मनको कोलाहाल तथा अशान्त मनको जन्म हुन्छ ।

सम्बन्ध खासमा दुई प्रकारको हुने गर्छ ।

१) रगतको नाताले सृजित सम्बन्ध
२) सहानुभूतिले जन्माएको नाता ।

विनासर्त प्रेम (अनकन्डिस्नल लभ) सबैमा लोकप्रिय छ, सबैको अपेक्षा पनि यही हो । जो जस्तो छ त्यही रूपमा स्वीकार्दै अपेक्षारहित, सहानुभूतिपूर्ण भावनात्मक सम्बन्ध बनाउनुलाई विनासर्तको प्रेम भनिन्छ । यो मानवीय मनोविज्ञानको एकमात्र साझा अपेक्षा हो । यद्धपि यो एक सिद्धान्त जस्तो देखिएको छ । तर, प्रेमलाई औपचारिक सम्बन्धभित्र मात्र स्थापित गर्ने प्रयास गरिएको छ । प्रेमलाई बैबाहिक सम्बन्धको घेराभित्र मात्र औपचारिक बनाउन सामाजिक रूपमा स्थापित गर्ने प्रयास निरन्तर भइरहेको छ । यस लेखमार्फत यो एक प्रकारको जबरजस्ती करणी हो भन्ने सन्देश दिँदै यसको न्युनीकरणको लागि विद्वान् महापुरुषले के भन्नु भएको छ, त्यसको जिज्ञासा र बोध गर्ने उपायहरू समेट्ने प्रयास गरेको छु ।

वर्तमान युगलाई वैश्यको युग भनेर चिनिन्छ । अर्थात् व्यपार र समृद्धिको युग हो । यसको अभिवृद्धि र विस्तार गर्न बजारीकरण तथा प्रदर्शनीको आवश्यकता पर्दछ । वैश्य युगमा फैलिएको बजारीकरणले परिवारदेखि समाजको भित्रसम्म प्रत्यक्ष रूपले प्रभाव पारेको छ । अर्थात् प्रेम प्रदर्शनी भएको छ । बजारीकरणले प्रश्रय पाएको छ । हृदयको भाषा मलीन भएको छ । यस युगले, भौतिक समृद्धि र आयातित ज्ञानबाट भरिपूर्ण त बनाइदियो, साथसाथै मनको रोगलाई सामाजिकीकरण पनि ग¥यो ।महत्वकांक्षी मनको विकास ग¥यो । यही महत्वकांक्षी मनले गर्दा मनुष्यलाई मानसिक रूपमा विक्षिप्त पनि बनाइरहेको छ ।

पारिवारिक सम्बन्धभित्रको औपचारिकता

पारिवारिक सम्बन्ध भन्नाले छोरा–छोरीदेखि आमा–बुवा, ससुरालीदेखि मामा, दिदी बहिनीदेखी दाजुभाइ र ज्वाइँ भान्जा–भान्जीर भाउजू–बुहारी सम्मलाई समेट्न सकिन्छ ।यस सम्बन्धलाई वैधानिकतथा औपचारिक बनाउन सामाजिक–सांस्कृतिकदेखि धार्मिक अनुष्ठान सम्मका परिपञ्चको लक्ष्मण रेखा बनाइएको छ । परिणाम त प्रेम औपचारिक भएको छ । औपचारिक प्रेम र औपचारिक सम्बन्घ वर्तमान युगको बुनियादी भूल भएको छ । वर्तमान समयमा यो एक दीर्घकालीन समस्या त हुने होइन ? भन्ने लाग्न थालेको छ । यद्धपि सबै मानिसको निर्विकल्प अपेक्षा सर्तरहित प्रेम नै हो । तर जब सम्बन्धमा औपचारिकताको आग्रह हुन्छ तब सर्तरहित प्रेमको परिकल्पना परिकल्पना मात्र हुन पुग्छ ।

मेरो आफ्नो अनुभव र देखे जानेको आधारमा केही उदाहरण छन् । जस्तो, घरको धार्मिक वा सांस्कृतिक (विवाह, पाश्नी) मा निमन्त्रणा गर्न स्वयम् गएको छ । त्यहाँ भाइ–बहिनीहरु, बुहारी, छोरा–छोरी सबै छन् र सबैको बिचमा आउनुको कारणसहित सामुहिक निमन्त्रणा गरिएको छ । तर सहभागितामा कुनै २–४ सदस्य आउँदैन किनभने उसलाई निमन्त्रणा भएको छैन। यस्तोे पनि सुनिन्छ, यो एक औपचारिकता त हो नी ! उसले बोलाए जस्तो ग-यो मैले गए जस्तो गरेँ वा जान मन लागेन वा यस्तै यस्तै कुनै पुरानो अर्थहीन मुद्दा उठाएर अउँदैनन् । यो कस्तो प्रकारको रगतको नाता !? रगतको नाता भनिसकेपछि त्यहाँ कुनैपनि गुनासो र नकारात्मक प्रतिक्रिया हुन नपर्ने हो । जसरी थाहा पाएपनि तन मन वा धनले के सम्भव हुन्छ, सहयोग गर्नु पर्ने होइन र !?

अझ उदेक लाग्ने कुरा, केही दिएन, त्यत्रो उत्सव भयो मैले के पाँए ? दिएको छ भने यति जाबो … ! माग्नेले पनि पाउँछ । के यसले पारिवारिक सम्बन्ध मजवुत र समुधुर बनाउन सक्ला ? रगतको नाताभित्र त कम्तिमा सहयोगको भावना होस, शुभेच्छा होस् । एक सदस्यको प्रगतिमा हृदयदेखि गद्गद् होस्, आशीर्वाद देओस् । यो स्वभाविक रूपमा हुनुपर्छ । तर अपशोच सबैभन्दा बढी इष्र्या, जलन यही सम्बन्धभित्र हुने गरेको पाइन्छ । उपहार पाउनु, सम्मान पाउनुलाई अधिकार सम्झन्छ ।सम्मान, माया, प्रेम जस्तो कुरा अधिकार बाट प्राप्त हुने कुरा होइन । यो उमेर समूह र नाता सम्बन्धले जवरजस्ती पाउने कुरा होइन भन्ने सबैले बुझ्नु जरुरी छ । यद्धपि यसलाई सामाजिक परम्परामा जकडिएको हुन्छ । यसले मात्र बजारीकरण गरेको हुन्छ तर त्यहाँ हृदय हुँदैन । त्यहाँ आत्मा हँुदैन । अर्थात् त्यहाँ जीवन्त व्यक्तित्वको अभाव हुन्छ । अझ अगाडि भन्नुपर्दाः एक परिवारभित्र कोही हार्दिकताले दिदी–बहिनी वा अरु कुनै मित–मितेरो भएर आएमा उसको अनावश्यक टिका टिप्पणी, छेडछाडका झलकहरू देख्दा त झनै अचम्म लाग्छ ।

२–४ जना भेट भयो कि टिकाटिप्पणी, गुनासो, कुतर्क लान्छना र अहङ्कारको सम्मेलन भएको जस्तो लाग्छ । यो नीरस, हतोत्साहित, कुण्ठाले द्रवित मनोवृत्तिको परिणाम हो । जीवन किन नीरस भएको छ ? किन दुःख र पीडाले द्रवित भएको छ ? किनभने जब व्यक्तिको मनोवृत्ति सकारात्मक हुँदैन उसले सोच्ने र दिने प्रतिक्रियाहरु पनि नकारात्मक हुन्छन् । तबऊ कसरी शान्त र सन्तुष्ट रहन सक्छ ?

‘तपाईँको हालखवर के छ ? ठिकै छ ! बाँचिएको छ ! खै के भन्ने चलिरहेको छ ! घरमा सबै कुशल–मङ्गल छन् ? सबै ठिकै छन् !पेशा–व्यवसाय कस्तो छ ? ठिकै भन्नु प-यो वा चित्त बुझेको त छैन तर विकल्प पनि छैन । समय छैन, व्यस्त छु, पैसा छैन, मलाई कसैले बुझ्न सक्दैन !’

यस्ता अभिव्यक्ति, दिनमा कति पटक हुन्छ गिन्ती गरौ त ! यस्तो लाग्छ उसको जीवनमा अरूसँग अपेक्षाको पहाड नै भएको छ । गुनासोहरूको लहरै छ । जीवन एकप्रकारले पुरै उदेकलाग्दो भएको छ । भित्रैदेखि खुसी छैन तथापि अपेक्षा, आकांक्षा खुसी रहने, शान्त रहने हुन्छ । बिज उदेकको रोप्ने, नीरसको रोप्ने, गुनासोको रोप्ने अनि फल शान्ति, खुसी, श्रद्धा तथा सर्तहीन प्रेमको खोज्ने ? ऋषिमुनिदेखि आजसम्मको शोधले यो असम्भव भनेको छ ।

यी सबैको जड (मुख्य तत्व) के हो ?

क) अहङ्कार
ख) समाजमा परम्परागत रूपमा स्थापित मूल्य–मान्यताहरु

अहङ्कार

मनुष्यभित्र झाँगिएको अहङ्कार नै अन्र्तमनको यस दुर्दशाको जड हो । अहङ्कार जीवन समृद्धिका लागि ठुलो वाधक हुन्छ । अहङ्कारको मुख्य कारण घरदेखि स्कूल सम्मको शिक्षा प्रणाली नै हो । एक बच्चालाई सानो उमेरदेखि केही बनेर देखाऊ ! केही गरेर देखाऊ ! भन्ने जस्ता महत्वाकांक्षा घर स्कुल समाज सबैले सिकाइरहेको हुन्छ । यसकै पणिाम त ‘म’ को विकास हुन्छ र त्यो ‘म’ लाई केन्द्रविन्दुमा राखेर गरिने क्रिया, प्रतिक्रिया, धारणा, विचार तथा अभिव्यक्तिहरू अहङ्कार हुन् ।

‘हीनताबोधलाई लुकाउँदै म कोही हो भनेर प्रत्यक्ष अप्रत्यक्ष रुपमा देखाउने उपायलाई नै अहङ्कार भनिन्छ ।’ ‘यस धम्मो सनंतनो, भाग २ – ९७– ओशो’

‘आफैँलाई केही हुँ भनेर मान्नु र अरुबाट फरक देखाउने प्रयास अहङ्कार हो ।’ ‘श्री श्री रवि शंकर’

अहङ्कार दुई किसिमको हुने गर्छ ।

-प्रत्यक्ष (जो कोहीले देख्न सक्ने)
-अप्रत्यक्ष (सुक्ष्म स्वयम्ले छुट्टाउन नसक्ने वा सजिलो नहुने)

प्रत्यक्ष (जो कोहीले देख्न सक्ने)

यसभित्र प्रदर्शनी हुने गर्दछ । ‘म’ को गन्ध मनग्य पाइन्छ । म शिक्षक, त्यो पनि गणितको, विज्ञानको हो । मैले भनेको थिएँ नि ! फलानु त कामै नलाग्ने मान्छे हो । म जस्तो असल बुहारी, सासु, छोरा–छोरी … त ! यस्तै यस्तै जताबाट पनि र जसरी पनि ‘म’ को व्याख्या हुन्छ । ‘म’ को श्रेष्ठताको लागि भरपुर बढाइ–चढाइ हुन्छ । तर्क–कुतर्क द्वारा पुष्टि गर्ने हरप्रकारको प्रयास हुन्छ । स्वयमले स्वयमको अपमान गरेको पनि पत्तो पाउँदैन ।

सुक्ष्म अहङ्कार

सुक्ष्म अहङ्कार सुषुप्त अवस्थामा बसेको हुन्छ । उपनिषद्का ऋषिहरूको अभिमतलाई आधार मानेर भन्ने हो भने सुक्ष्म अहङ्कारलाई शरीरको कुनै भागमा सुषुप्त अवस्थामा बसिरहेको क्यान्सरको भाइरस जस्तै हो । फरक के हुन सक्छ भने एक जना, सुरा–सुन्दरी वा धन–दौलततिर दौडन्छ तर अर्को यो छोडेर विपरित दिशामा भागिरहेको हुन्छ । जस्तो म विनम्र छु, ध्यानी छु दयालु छु सबैमा खुसी देख्न चाहान्छु जस्ता सकारात्मक कुराहरु सुक्ष्मअहङ्कारभित्र पर्दछन् । गाउँमा विवाह पार्टी हुन्छ, पपगीत रातको १२–०१ बजेसम्म बजाउँछन् । अर्कोतिर त्यहीँ हरे राम हरे कृष्ण भजन पनि भएको हुन्छ, जुन रातको त्यही १२–०१ बजेसम्म हुन्छ । दुबैको उद्धेश्य फरक छ । तर समाजमा दुवैबाट निद्रा खलबलिन सक्छ । यसको तर्कको रूपमा एकले ‘यो हाम्रो स्वतन्त्रता हो, विवाह–भोज सँधै हुन्छ र ?’ अर्कोले ‘यो त धार्मिक अनुष्ठान हो । सबैको कल्याण हुन्छ । यस्तो पवित्र कार्यमा पनि विरोध ?’ दुवैले अहङ्कारको प्रदर्शन गरेका छन् तर एक प्रत्यक्ष र अर्को सुक्ष्म मात्र हो । तर बुझ्नु पर्ने भनेकोे खानेकुरा एउटै तर कसैको लागि अमृत र कसैको लागि हानिकारक तथा अरुचि हुन सक्छ । एकले इच्छाएको दोस्रोले स्वीकार्नु पर्ने भन्ने हुन्न । कुनै एक समाजको रीतिरिवाज वरदान होला तर त्यही अर्को समाजमा अभिशाप तथा पाप हुन सक्छ ।

जस्तो कुनै समाजमा फुपू चेला र मामा चेलाको बीचमा बैवाहिक हक लाग्छ । कतै काका र ठुलो बुबाको छोरा–छोरी बीचमा, कतै पिता एक र आमा दुईबाट जन्मेका सन्तान बिचमा पनि बैवाहिक सम्बन्ध हुन्छ । अहिले पनि नेपालको उत्तरी गोरखामा पाण्डव विवाहको प्रचलन छ । करीव ५०० वर्ष पहिले भरतको राजकीय परिवारदेखि नेपालको थारु परम्परामा दाइको मृत्युपछि भाउजुसँग विवाह गर्ने वा दाजु घर बाहिर हुँदा भाउजुसँगै देवरले रात बिताउन पाउने प्रचलन आजभन्दा केही दशक अगाडिसम्म कायमै थियो । आज पनि यस प्रकारको विवाहबाट बनेका श्रीमान–श्रीमती देख्न सकिन्छ ।

मैले सुनेको छु र पढेको छु, अफ्रिकाको कविला समुदायमा एउटै कोखबाट जन्मेका आमा–बुवाको सन्तानको बीचमा बैवाहिक सम्बन्धले पहिलो प्रथामिकता पाउँछ । अझ अगाडि भन्नु पर्दा घना जङ्गलको छेउछाउमा बस्ने अफ्रिकी कविला समुदायमा त आमा–छोराको बीचमा पनि विशेष परिस्थितिमा श्रीमान–श्रीमतीको सम्बन्ध कायम रहन्छ । स्मरण गर्नुपर्ने कुरा के हो भने सबैसँग बलियो तर्क छ र आधार छ ।

गलत नबुझ्नु होला । जे गर्दा पनि हुन्छ भन्न खोजेको कदापि होइन । सामाजिक मुल्य–मान्यताहरू समाजको विकास क्रममा स्थापित भएका हुन्छन् । विभिन्न प्रचलन तथा धारणहरू जन्मन्छन् । तर, यसलाई कुनै पनि प्रकारको नकारात्मक टिप्पणी हुनु राम्रो होइन । अन्यथा आज भेषभूषा, धर्म–संस्कुति, जातजाति लगाएतको जुन प्रकारको घम्साघम्सी छ, यो त्यही अहङ्कारको परीणाम हो ।

मानवीय जीवनको आधार विनासर्तको प्रेम र श्रद्धामा बाँचेको हुन्छ । प्रेम र श्रद्धा जिउँदो हुन्छ । चलायमान हुन्छ । परिवर्तित हुन्छ । अर्थात् आज दिइरहेको विनासर्तको प्रेम भोलि नहुन सक्छ । आज भएको श्रद्धा भोलि नहुन सक्छ । किनभने जीवन परिवर्तित छ । जबकी समाजलाई यो ठिक लाग्दैन । तथापि यसलाई स्वभाविक पनि मानिन्छ किनभने समाजले स्थिरता चाहन्छ । स्थिरता नै समाजको बलियो आधार पनि हो । समाजले वर्णाश्रम, बालबिवाह तथा बैवाहिक प्रचलन जसरी स्थापित गरेको छ, लगभग सबै सामाजिक स्थायित्वका लागि तथा स्थिरताको लागि हुन् । आज युरोप, अमेरिका तथा विकसित देशहरूमा सम्बन्ध विच्छेदको श्रृङ्खला बढ्दै जानुको कारण समाजले कायम गरेको स्थिरता टुट्दै जानु पनि हो ।

हाम्रो जस्तो देशमा यस प्रकारको साहसिक लहर त आइपुगेको छैन । यसको परिणाम अपशोच भइरहेको छ । हरेक कुरा बजारीकरण भएको छ । चाडपर्वदेखि विवाह–उत्सवसम्म परम्परागत संस्कृति तथा मनोरञजन भन्दापनि देखावटी र फजुल खर्च भएको छ । वास्तविक पूmल र त्यसको सुगन्धबाट कृत्रिममा अर्थात् प्लास्टिक पूmलको सुगन्धमा परिवर्तन भइरहेको देख्न सकिन्छ । यसले अन्ततोगत्वा मानव समाजलाई प्रतिकूल दिशातिर लैजान्छ । समाजमा हिंसा, हत्या, चोरी, भ्रष्टाचारी लगायतका मानवहित विपरित क्रृयाकलापहरू मनग्य देख्न र सुन्न सकिन्छ ।

यसको समाधान कसरी गर्न सकिन्छ ?

यसको समाधानको बारेमा सद्गुरु ओशो, सद्गुरु जग्गी वासुदेव र हाल आएर आर्ट अफ लिभिङका गुरु श्री श्री रवि शंकरले ५ वटा सजिलो उपायहरू दिनुभएको छ ।

१) जीवनमा उतार–चढाव भइरहन्छ तर कुनै पनि कुरा स्थीर रहदैन । एक प्रकारले विरोधात्मक तवरले अगाडि बढिरहन्छ । दुःख–सुख भइरहन्छ । धैर्य गर । पर्ख र हेर । मनलाई सम्हालिराख ।

२) जो जस्तो छ उसलाई त्यही रूपमा स्वीकार गर । आपूm बदलिन सकिन्छ तर अरूलाई बदल्ने प्रयासमा नलाग । तिम्रो काम, भन्नेसम्म हुन सक्छ । सुन्ने वा नसुन्ने लागु गर्ने वा नगर्ने उसलाई नै छोडिदेऊ ।

३) तिमीले भूल गर्दा अरुबाट क्षमाको अपेक्षा वा आशा राखेको हुन्छौ भने अरुको भूलमा तिमीले पनि माफ गर्न सिक अथवा त्यसका लागि प्रयासरत हौऊ । जहिले पनि याद राख ‘तिमी अरुबाट जे अपेक्षा वा आशा राखेका हुन्छौ, अरुले पनि तिमीबाट त्यही अपेक्षा राखेका हुन्छन् ।’

४) आफ्नो बारेमा अरुले के सोच्छन् ? के भनेका होलान् भनेर ध्यान नलगाऊ । फ्रान्सका एक मनोविद्को अनुसन्धानमा ‘जीवन प्रेम र घृणा, प्रशंसा र आलोचनाको सन्तुलनमा चलेको हुन्छ । यदि तिमीलाई कसैको जति मात्रामा अथवा जति प्रतिशतमा घृणा–आलोचना गरेको हुन्छ त्यही प्रतिशतमा प्रेम तथा प्रशंसा पनि गरेको हुन्छ । जीवनमा न प्रशंसकको कमी हुन्छ न आलोचकको समाप्त हुन्छ ।’

५) वर्तमान क्षणलाई महत्व देऊ । वर्तमानमा बाँच्ने प्रयास गर तर यी सबैका लागि बोध हुन जरुरी छ । बोध अथवा समझको विकास साधनाले हुन्छ । साधना भनेको सम्यक आहार–विहार (खानपिन) अर्थात् सात्विक भोजन, सकरात्मक सोचको विकास, सकारात्मक सोच भएका साथी सङ्गत, साहित्य अध्ययन र मनन, ध्यान–योगले मात्र सम्भव हुन्छ ।

अन्तमा तपाइँका परिवार र यसका सदस्य तपाईँका लागि जहिले पनि महत्वपूर्ण हुन्छन् । किनभने तिनीहरु नै तपाईँका असली सहयोगी हुन् । अनन्य मित्र हुन् । तपाईँको गौरव पनि हुन् । तपाईँको परिचय पनि हुन् । जन्मदेखि मृत्युसम्म काम लागिरहने शक्ति हुन् । ईश्वरले तपाईँको कुनै खास प्रयास विना नै पारिवारिक घेरामा जोडिदिनु भएको छ । घेरा सम्भव भएसम्म अझ मजबुत बनाउनु होस् अर्थात् कति सम्भव छ प्रयास गर्नुहोस् । कहिल्लै आलोचक तथा बाधक नबन्नुहोस् । तपाईँको कल्याण हुनेछ । ईश्वरको कृपा रहिरहने छ ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button