
राम्रो किताब र असल साथी एउटै भए पनि पुग्छ
कुमार रुपाखेती
एउटा टेलिभिजन अन्तर्वार्तामा कार्यक्रम प्रस्तोताले सोधे, ‘तपाईको नयाँ किताबको बारेमा केहि बताई दिनुस्न् ।’ यी ती लेखक हुन्, जसको वर्षमा दुई तीन वटा किताबहरु प्रकाशित हुँदा रहेछन् । उनका हरेक विधामा किताब निस्केका रहेछन् ।
कसरी यति धेरै क्षेत्रमा कलम चलाउन सकेका होलान ? अध्ययन, अनुसन्धान, लेखन, सम्पादन, प्रकाशन, प्रचार र वितरण समेत गर्न भ्याउने बहुआयामिक व्यक्तित्वको नाम टिपेर म पनि किताब पसल पुगेँ । पसलको भाईले उनका सबै जसो प्रकाशित किताबहरु मेरो अघिल्तिर फिँजारिदिए । मचाहिँ ओल्ट्याईपल्टाई गर्दै तरकारी पसलमा साग छानेझै गर्न थालेँ । एउटा किताबको शिर्षक र आवरणमा आँखा अड्यो ।
पल्टाएर सरसर्ती हेरेँ, मूल्य पनि आकर्षक नै लाग्यो । पसले भाईका आँखा झिमिक्क नगरीकन पढ्दै थिएँ । किताब फिर्ता गर्ने आँट गर्न सकिन । छुट त पाइएला नि ? १० प्रतिशत । भाई उत्साहित भयो । किताब च्यापेर घर पुगेँ । सहरको व्यस्त र नाम चलेको लेखकको किताब थियो मेरो हातमा । पढ्न थालेँ, दुइ पाता पढेँ । तेश्रो पाना पल्टाएँ, केहि कुरा पहिलो पातोकै दोहोरिएको जस्तो लाग्यो । फेरि पहिलो पानाबाटै पढेर पाँचौ पाना पुगेको याद छ, व्युँझदा मेरो नयाँ किताबले मेरो मुख छोप्पिइरहेको रहेछ ।
जब म ५ कक्षाको मिनपचासको बिदामा घरमा थिएँ, मेरो हातमा गुरुप्रसाद मैनालीको नासो कथा संग्रह आइपुग्यो । त्यस किताबलाई मैले एकै बसाइमा पढिसकेको थिएँ । त्यस किताबलाई अहिलेसम्म दशौं पटक पढेँ होला र हरेक पटक एकै बसाइमा नै सकेको अनुभव छ मसँग । लक्ष्मी निवन्धसंग्रहसँग पनि त्यस्तै नै नाता छ मेरो । यस्ता किताबहरु केहि संख्यामा छन् मसँग जसलाई कयौं पटक पढिसकेर पनि अघाइसकेको छैन मन ।
किताबकै प्रसंगमा केहि वर्षअगाडि नेपाल भ्रमणमा आएका एक स्टकहोल्म युनिर्भसिटीका प्रोफेसरले हिन्दुधर्मका किताबका बारेमा जिज्ञासा राख्दा मैले ‘हिन्दू धर्म, साहित्य र दर्शनका किताबहरु पढिसक्न एउटा जुनीले मात्र सम्भव छैन’ भनेँ । मेरो यो उत्तरमा उनले अरु प्रश्नहरु गरे । किन यतिविधीका किताबहरु ? के यी किताबहरु राम्रा र पूर्ण छैनन र ? उनका प्रश्नहरु धेरै थिए । मसँग जवाफमा एउटै वाक्य थियो, ‘होइन, होइन ती सबै नै पुस्तकहरु अत्यन्त राम्रा र लाभदायक छन् । यी किताबका शैली र स्तर फरक भए पनि त्यसबाट प्राप्त हुने ज्ञान समान छन् । जसरी समाजका विभिन्न व्यक्तिका बुझ्ने, अध्ययन गर्ने, मनन गर्ने क्षमतामा फरकपन हुन्छ, त्यसैलाई ध्यानमा राखेर विभिन्न कालखण्डमा ऋषिमुनि, महात्मा, विद्वान्हरुले वेदका ऋचाहरुलाई आधार मानेर पौराणिक ग्रन्थ, पुराण, सरल नीतिका कथा आदिका रचना गरेर वेदका मुल मन्त्रबाट मानिसले आआफ्नो वौद्धिकगच्छे अनुरुप ज्ञान लिन सकुन् भन्ने ध्येयले नै हामीसँग अथाहा पुस्तकहरु रहेको यथार्थ प्रष्टयाए ।’
मेरो कुरा कत्तिको वुझ्यो कुन्नि, झिनो स्वरमा भन्दै थिए, ‘किताबहरु धेरै भए पनि ज्ञान त एउटै रहेछ ।’