रुकुमकी म, विवाहसँगै मेरो परिचय स्वतः बर्दिया पुगेछ

टीका विष्ट

मतदान अधिकारको प्रयोग र बसाइ व्यवस्थापनका लागि बसाइसराई रुकुमबाट सुर्खेत कायम गर्ने सोचेर प्रक्रियाबारे गाउँपालिकामा बुझें । तर, म जन्मेको, हुर्केको, पढेको, सकेको योगदान गरेको मेरो परिचय विवाहसँगै स्वतः बर्दिया पुगेछ । (विवाह नामको एउटा सम्बन्धले महिलाको जीवनमा कति कुरा फरक पार्दौ रहेछ ? फेरि कुरा गरौंला ।) ०७४ कात्तिक १८ गते बर्दियाको बाँसगढी नपा ८ को कार्यालय गएँ । कर्मचारीले बसाईसराइ लिन मिल्दैन भने । कारण सोध्दा भन्न सकेनन् । धेरैसमय अनरोध गर्दा, बुझाउन खोज्दा पनि दिन नमानेपछि जनप्रतिनिधिलाई भेटें अनि थाहा भयो महिला एक्लै बसाईसराइ लिन अहिलेसम्म कोहि नआएकोले अलमल भयो रे ।

भन्न खोजेको कुरा के भने, हाम्रो समाजमा महिलाहरुले कुनै पनि काम बुवा, दाइ, श्रीमान, भाइ, छोरा लगायतको सहारामा वा अगुवाइमा गर्छन् वा गर्नुपर्छ भन्ने मान्यता छ । त्यो सरासर महिला कमजोर छन् वा हुन भन्ने मान्यताले बनेको सोच हो । तर, अहिलेको समय त्यस्तो छैन । महिलाहरु आफ्नै पहलमा हरेक काम गरिरहेका छन्, गर्न चाहन्छन् । यसर्थ महिलालाई सुरक्षित राख्ने वा बनाउने नाममा हाम्रो स्वतन्त्रतामा अङ्कुश लगाउने काम भनेको फेरि हामीलाई अवलाको संज्ञा दिनु हो । तसर्थ भिजिट भिसा कार्यविधि संशोधनमार्फत भिजिट भिसामा विदेश जाने ४० वर्षमुनिका महिलालाई कडाइ गर्ने नाममा वडा र परिवारको सिफारिस चाहिने कुराले महिलाको श्रमको छनोट, स्वतन्त्रताको अधिकार हनन् गरेको छ । यसलाई अबिलम्ब फिर्ता लिइयोस् । सरकारका विभिन्न जिम्मेवारीमा रहेका महिलाहरुले यस कुराको सशक्त विरोध गरुन् ।

बरु सरकारले महिला सुरक्षाका लागि कानुनको संशोधन, थप कानुन निर्माण र प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने विषयमा देशव्यापी बहस चलाओस् । अभियान सुरु गरोस् । जुन समाजमा बालिका र हजुरआमाहरु सुरक्षित छैनन्, त्यहाँ जवान महिलाहरु हिंसामा नपरुन् भनेर यस्ता बेतुकका कानुन निर्माण गर्दा कानुन निर्माणको जिम्मा लिएका कर्मचारी, सम्बन्धित नेता वा अधिकारीहरुको सतही र पुर्वाग्रही सोच असरल्ल भएको सबैलाई छर्लङ्ग भएको छ । समानताका हक विरोधी यस्ता कुरालाई सच्याउन सबैले खबरदारी गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button