प्रेमपत्रः महामहिम, मेरो तीर्थ हौ तिमी

मात्रीका भण्डारी मुना

प्रियवर,
प्रेमिल अभिवादन !

हरेक दिन आउने यो चौबीस घण्टाको समय तिमीलाई सम्झिनका लागि एक पलजस्तो मात्र लाग्छ । यी सपनाजस्ता दिन तिम्रै झझल्कोमा बित्दै बित्दै जान्छन् । मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, म तिमीलाई त्यहाँसम्म देख्छु । तिम्रो सम्झना र मायालुपनलाई बहन गर्न नसक्दा बहन्छन् अश्रुबुँद अनि लछप्पैै भिज्छ मन । जब नियाल्छु सजल मन तब तिम्रै सुकुमार मुहार मुस्कुराइरहेको हुन्छ ।

त्यसैले आज धेरैदिन पछि तिम्रो सम्झनामा चिठी लेख्दै छु । कामको ब्यस्तताले गर्दा ढिलो भएकोमा माफी चाहन्छु । तिमीसँग बिताएको अमूल्य मिलनको कहानी मेरो हृदयको पानपाते पानामा स्मृतिको कलमले कहिल्यै नमेटिने गरी लेखेकी छु ।

मेरो प्यारो मान्छे, तिमी त्यो सुन्दरता हौ, जसलाई तस्वीरमा उतार्न सकिन्न। तिमी त्यो भाव हौ, जसलाई कवितामा लेख्न सकिन्न, न कुनै शब्दमा ब्यक्त गरेर सकिन्छ, न माना पाथीमा भर्दा भरिन्छ, न कुनै बस्तुमा दाँज्दा दाँजिदो रहेछ ।

प्रेम अढाई अक्षरको शब्द छ तर कस्तो अचम्म ?

गडयाङगुडुङ आवाज निकाल्दा चिरिएर दुई फयाक भएको आकाशको छातीबाट भएको मुसलधारे वर्षाबाट हाम्रा मुटुहरु लगलगाइरहेछन् ।

प्रेमको हर्ष विष्मादोन्मुख प्रतिच्छायाँमा लुकामारी खेलिरहेछन् । यी कम्पित मुटुलाई ठेगान लगाउन् मलाई तिम्रो अनि तिमीलाई मेरो मायाको न्यानो चाहिएको छ । ए न्यानो मान्छे, तिमी र म मिलेर भावनाको उर्बर खेती गर्ने किसान बनौं ।

प्रेम शाश्वत छ, महान छ, र दूरताले यसलाई अझ गाढा बनाउँछ । प्रेममा एक अर्काको अनुपस्थितिले यादलाई अझ प्रगाढ बनाउँछ र माया चरमोत्कर्षमा पुग्छ । त्यसैले तिमिलाई आफ्नो सोचेर कयौं दिनपछिको न्यास्रो मेट्न गरेको मेरोभावपुर्ण टाईट अँकमालले तिमी अनियन्त्रित भएको महसुस नभएको होईन मलाई । तेस्को लागि म हृदय देखि माफी चहान्छु…! अनि अर्को कुरा तिम्रो त्यो दिनको इस्पर्सले घरीघरी झसङ्ग झस्के पनि सरिर भरी तिमिनै तिमि छौ जस्तो भान भयो । मैले हारेको छु जित तिम्रै भएको छ फेरि पनि तिम्रै जित हुने छ तिम्रो खुशिको लागि म बारबार हारिदिउला हाम्रो मायालाई न उमेरले छेक्न सक्यो न जातले नै छेक्यो ।

विश्वभरिका राता गुलाफहरु जडेर मैले तिमीलाई विराजमान गराउन सिंहासन तयार गरेकी छु । फूलको राजा गुलाफ भएझैं तिमी मेरो जिन्दगीको राजा हौ । सधैंको लागि तिम्रो सवारी होस् अनि सुस्तरी बस है, यो गुलाफमय रक्तिम सिंहासनमा । प्रेमजस्तै कोमल र नाजुक छ यो पनि र भत्किन सक्छ ।

मेरो महामहिम, तिमी सर्वश्रेष्ठ हौ । दिउँसो, राति, भोक, तीर्खा, निन्द्रा मलाई छुटयाउन गाह्रो परेको छ । केवल तिम्रो ख्याल छ । मेरो तीर्थ हौ तिमी र हरपल प्रेम चढाउँदैछु म तिम्रो चरणमा । यो शीर तिम्रै सामु झुक्न लालायित बनिरहेको छ। म तिम्रै लागि यो धर्तीमा जन्म लिएँ, तिम्रै लागि जीवन अर्पण गर्छु ।

वास्तवमा प्रेम अद्भुत नै रहेछ सानु !

उहि तिमिलाई आसाध्य माया गर्ने…
जुनकीरी


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button