महिलाको आफ्नै घर कस्ता होला ?

मिरा पुडासैनी

असार महिनाको एकदिन निशा र दिनेशको नयाँ घरमा सरेको पुजा (हाउस वार्मिङ)को निम्तो मान्न हामी सात जना उसको घरमा पुग्दै थियौं ।

‘निशाले त निक्कै भव्य घर बनाएको छे रे नि’, कविता भन्दै थिई ।

उनीहरू बस्दै आएको सगोलको पुर्ख्यौली पुरानो घर उसका सासू ससुराको देहान्तपछि अंशवण्डामा देवरको भागमा परेकाले उनीहरूले नयाँ घर बनाएका रे ।

त्यही घरको पुजाको लागि हामी सबै सात जना कलेज पढ्दाका साथीहरू अपरान्ह ५ बजेतिर उसको ठुलो कम्पाउण्डभित्र बनेको त्यो भव्य घरमा पुगेका थियौं । कविताले भनेझैं निशाको नयाँ घरलाई घर मात्रै भन्दा अन्याय नै हुने रहेछ ।

‘रेजर्ट नै बनाएका रहेछन् त’, उत्साहित हुदैँ प्रतिमाले भनी ।

काठको बुट्टा काटेर कलात्मक तरिकाले बनाएको अति भव्य मुल ढोकाबाट भित्र पस्दा निशा मिठो अनि गर्विलो मुस्कानका साथमा हाम्रो स्वागतमा उभिएकी थिई । मुल ढोकाभित्र पस्ने बित्तिकै ठुलो बैठक कोठा र त्यहाँ राखिएका अति भव्य र आकर्षक सोफाहरू, निक्कै नै फरनकिला सिसाका टेवल, सोकेशहरू र भित्तामा झुन्डिएका पारिवारिक तस्वीरहरूले बैठक कोठालाई कुनै राजा महाराजाको महलको झैं झल्को दिएको देखिन्थ्यो । हामी सबै उसको घर, कम्पाउन्ड तथा सजावटको देखेर चित् खाएका थियौं ।

कुराकानी हुँदै गर्दा त्यो घर निशाकै नाममा रहेछ भन्ने थाहा भयो । निशाले त्यसो भन्दा उसको अनुहारमा देखिएको चमकले हामी सबैलाई विशेष प्रभाव पारेको थियो । हुन त ड्राईभर नै राखेर गाडी चढ्ने हैसियतमा भएकी निशाको जीवन सुरूदेखि नै आम महिलाहरू भन्दा निक्कै फरक नभएको हैन ।

ल बधाई छ है, सबैले एकैसाथ निशा र दिनेशलाई बधाई दियौं ।

हाम्रो समाजमा घर, जग्गा तथा सम्पत्तिको अधिकार प्राप्त गर्ने कति हजुरआमा, आमा, छोरी र बुहारी होलान् ? अझ आफ्नै कमाईले घर, गाडी, किन्न सक्ने हैसियत भएका कति होलान् ? सधै मनमा खेलिरहने यो प्रश्नको एउटा गतिलो उदाहरण देख्दै थिएँ, सुन्दै थिएँ ।

अरू केही नभए पनि आफ्नै कमाईबाट एउटा सानो चिटिक्क परेको घर बनाउने ईच्छा त मेरो पनि छ है, अनि यसैगरी म पनि तिमीहरूलाई बोलाउँला नि । मनुकाले ठट्यौली पारामा भनी ।

ूआफ्नै कमाईको केही हिस्सा परेका चिजहरूको बेग्लै माया र आत्मियता हुनेरहेछ भन्ने धेरैपटक अनुुभुती भएको छ । केही वर्षअगाडि आफैले किनेको स्कुटर, केही तोला सुनका गहनाहरू, घरमा जोडेका केही थान फर्निचर तथा भान्साका सामानहरू किन्दाका अनुभव थिए । मलाई भाडाँकुडाँमा विशेष रुचि भएकाले बेलाबेलामा किनिरहने गर्दछु ।

हामी मध्येबाट रूपसीले यसो भन्दै गर्दा घरायसी गार्होसार्हो पर्दा गरेको सहयोगले पनि धेरै आत्मसन्तुष्टि दिने रहेछ है, झन् आफ्नै घर बनाउन सके कति सन्टुष्टि मिल्दो हो है ।

हामी जस्ता कामकाजी महिलाले परिवारमा गरेका दैनिक घरायसी घरखर्च, भात भान्सा, रासन, तरकारी, केटाकेटीका किताब, फि, लगाएतमा खर्च गरिएका अन्य कुराहरूलाई कसैले गन्दै रहेनछन् । मैले पनि गुनासो गरिहालेँ ।

पारिवारिक लगानीका यस्ता हिस्साहरू सधै ओझेलमा परेको अनुभूति धेरै पटक भएका छन् । हामीले गरेका लगानीहरूलाई लगानी भनेर मान्ने दिन कहिले होला है । अधिकाशँ महिलाहरूलाई अनुदानकै रूपमा बुझ्ने जमात धेरै छन् समाजमा, अनि त रानी बनाउन भनेर भित्र्याईऐका बुहारीहरू, बिस्तारै भाउजू, देवरानी, जेठानी, आमा, हजुरआमा हुँदै जान्छन् तर पारिवारिक तथा पैत्रिक सम्पतिको स्वामित्वको अधिकार हाम्रो समाजमा थोरैले मात्र उपभोग गर्न पाएको देखिएको छ । रानी त हैन, ख्याल ख्यालमै भन्नू पर्दा परिवारमा नोकरानी दर्जामा नै रहि कतिपय महिलाहरू खरानी भऐका छन्। सायद आफैले आय आर्जन गर्न सकेर जाय जेथा जोड्न सके त महिलाहरूको आत्मसम्मान उचो हुने थियो ।

ूसबै ठिक र खुशी हुँदा मात्र त हो नि, श्रीमानको कमाई श्रीमतीको हो भनिने तर रिस उठेको बेला त तेरो बाउको सम्पति हो र , दाईजो, पेवा हो र भनेर कयौं श्रीमतीहरूले श्रीमान र उनको परिवारबाट सुन्नु परेको छ ।

निशा र दिनेश नभएको मौका पारेर मेनुकाले निक्कै दार्शनिक कुरा गरी । सबैले हो मा हो मिलायौं ।

त्यस साँझ सबै साथीहरू लामो अन्तराल पछि भेटघाट भएकोले हामीहरू आआफ्नो कुराहरू सुन्न र सुनाउनमा व्यस्त थियौं । निशाका श्रीमान दिनेश पनि हामी सगँ निक्कै आत्मियताका साथ कुराकानीमा सरिक भईरहेका थिए । महिलाहरूका जमघटमा हुने घर, परिवार, समाज, सासू ससुरा, दुःख सुखका बारेमा कुराकानीहरू भईरहेका थिए ।

हामी महिलाहरूले आफैले ९ महिना पेटभित्र राखेर जन्माएको सन्तानको त पहिलो पहिचान बावुकै नामबाट हुने गर्छ । हामी महिलाहरूले के कुरालाई चाहिँ आफ्नै मानेर गर्व गर्न पाउने होला है, तर निशा त सार्है भाग्यमानी रहिछे है ? हामी मध्येकी राधिकाले दिनेश उनीहरूका विचमा नभएको मौकामा आफ्नो कुरा राखेकी थिई ।

हुन पनि हो, त्या हामी जति थियौं, आफै आर्जेको के कुरा भयो र पुर्ख्यौली सम्पति न माईतीमा आमाको न त घरमा सासुको नाममा नै थियो ।

निशाले आफ्नै नाममा भनेको त्यो घर, गाडी, उसको भाग्य मात्रको प्रतिफल नहुन सक्थ्यो । निशा, पेशाले डाक्टर, उस्को राम्रै नाम छ मेडिकल वृतमा, अनि उसको श्रीमान पनि डाक्टर नै, उः भन्दा पनि नाम चलेका, त्यसैले नाम र दाम दुवै कमाएका यी दम्पतीमध्ये निशाले उसको आफ्नै नाममा घर भएको कुरा गर्दा त्यति आश्चर्य नमाने नि हुने हो, तर हामीहरूमध्ये कसैले त्यसो भन्ने सौभाग्य पाएका थिएनौं । आफ्नो कमाईबाट त त्यो सम्भव नै थिएन, घर अनि पुर्ख्यौली जाय जेथा पनि ससुराकै नाममा रहेका मध्ये धेरै थियौं त्यस जमघटमा । हामीहरूमध्ये सबैको त आफ्नै कमाईको हिस्साबाट मात्र वा पुर्ख्यौली जमिन बेचविखन नगरिकनै घर बनाउन पनि मुस्किल थियो ।

हामी साथीहरूको सर्कलमा सबैजना कामकाजी नै थियौं, कोहि कलेज शिक्षक, कोहि बैंकर, कोहि सरकारी सेवामा पनि थिए । मैले पनि केही वर्षयता आफैले एउटा व्यवसाय सन्चालन गरेको छु । काम सुरू गर्दा खल्तीमा त्यति गतिलो रकम थिएन, त्यति बेला घर परिवारबाट थोरै सहयोग र अरू बैंकबाट ऋण काँडेर व्यवसाय सुरू गरेको थिएँ । त्यति बेला घरबाट पाएको सहयोगलाई पनि मैले पछि तिर्नु पर्ने हिसाबका रूपमा राखेकी छु ।

विवाह गरेर आईसकेपछि त माईतीका अगाडि पनि हात फैलाउन सजिलो हुने रहेनछ, व्यवसायमा सुरूका ५–७ वर्ष त केवल लगानी मात्रै गर्नुपर्ने, अहिलेसम्म पनि प्रतिफल सोचे अनुरूप छैन, झन् कोभिड सङ्क्रमण यताका २, ३ वर्ष त निक्कै गार्हो भएको छ । बैंकको व्याज पनि तिर्न मुस्किल भएको बेलामा थप लगानीको निम्ति कहाँबाट के ल्याउने ? एक दुईपटक त माईतीबाट सहयोग नमिलेको हैन तर कति पटक माईतीमा गएर हात फैलाउनु, न त घर परिवारसँग पैसा माग्नु, आफ्नो नाममा केही छैन वेचविखन गरेर उकासौैं न भन्न, कम्ता गार्हो भएको छैन मलाई, हामी मिडिल क्लासलाई सार्है गार्हो पो छ त ।

मैले भनेका कुरालाई सबैले समर्थन गरेका थिए ।

निशाले त्यो घर आफ्नै हो भने जसरी, आफ्नै भनेर गर्वसाथ सबै महिलाहरूले भन्न पाउने के त्यस्तो चिज होला है ? फर्कने बेलामा एक अर्कासँग यहि विषयमा जिज्ञासा राखिरहेका थियौं ।

के निशाले आफ्नै कमाईबाट मात्र त्यो घर बनाएकी होला ? यो उनीहरू दुईजनाको संयुक्त लगानीको प्रतिफल हुन सक्ला बरू, त्यसो हो भने दिनेशको कमाई ? कि त उसको माईतीको सहयोग वा दाईजो पो पाएकी थिई कि वा श्रीमानले कमाएर बनाएको त्यो घरमा उसको कमाईको आधा हिस्सा थियो कि, वा श्रीमानले नै त्यो घर जग्गा उसको नाममा राखिदिएका पो थिए कि ? त्यहाँ धेरै अनुतरित प्रश्नहरू थिए ।

अझ पनि हाम्रो समाज महिलाको कमाई र घर सम्पति जोड्न सक्ने गरीको आत्मनिर्भरताप्रति त्यति विस्वस्त हुन सकेको छैन । हामी साथीहरू आफै निशाको कुराप्रति त्यति विस्वस्त हुन सकेका थिएनौं । के वास्तवमै आफ्नै कमाईले घर, गाडी जोड्ने गरी कति प्रतिशत महिलाहरू आत्मनिर्भर हुन सक्लान्वा ? भएका होलान् ?

गएको राती त मैले पनि आफूुँग आफ्नै भव्य घर, गाडी भएको मिठो सपना देखेछु । सारै मिठो आनन्द महसुस भएको थियो । सायद हिजो साथीहरूसगँका अन्तरङ्ग कुराकानीको प्रभावले होला, कस्तो अनुभव हुदो रहेछ भन्ने थाह भयो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button