हावा कुरा मात्र लेख्न आउँछ है तँलाई ?

अजिव छ यो जिन्दगी

सुप्रिया खनाल

कहिले बितेका खुशीहरु सम्झेर रमाउन मन लाग्छ । कहिले बितेका दुखका दिनहरु सम्झेर पिडा लाग्छ । सम्झदै ल्याउँछु जबजब विगतका पलहरु अनि दुःखहरू सम्झन्छु अहिलेको परिस्थितिमा आफूलाई पाएर खुसी लाग्छ ।

विगत जे थियो, सब बितेर गयो, सक्कि गयो जे भए पनि, बाँकी भबिष्य कसरी चल्छ थाहा छैन । वर्तमान त यसै टालटुल पारेर चलिरहेको छ । सोध्छन् मलाई, ‘तँ किन यति सिरियस ? खाली हावा हावा कुरा मात्र लेख्न आउँछ है तँलाई ?’ मुस्कानले नै लुकाउने गर्छु पिडा । ‘तेरो जिन्दगी त कस्तो आनन्द छ’ भनिदिन्छ दुनिँया ।

कहिले त मुखभरीको जवाफ दिन मन लाग्छ, ‘मेरो जस्तो जिन्दगी तिमीहरूको भए थाहा पाउने थियौ । जुन दिनसम्म तिमीहरु स्वयममा घट्दैन, तबसम्म तिमीहरूले सायद पीडा बुझ्दैनौ ।’ फेरि मन दुख्ला कि भनेर भन्न सक्दिन ।

मुस्कुराउँदा जल्ने अनि मौन बस्दा सवाल गर्ने । कति अजिबको छ है यो दुनियाँ ? कसैले त यतिसम्म भन्न भ्याउँछन्, ओहो स्टाटस त खाली स्याड स्याड मात्र जान्छ त, ब्रेकअप भयो कि के हो तेरो ?

समस्या धेरै हुन्छ नि । उदास हुँदैमा प्रेममै धोका पाएको हुन्छ र ? जब म दुखी हुन्छु, त्यतिबेला सबैभन्दा खोजी मेरो आफ्नाले नै गर्छन् । किनकि, मेरो दुःखमा जो रमाउनु छ अनि जब म खुसी हुन्छु तब नि मेरो आफ्नालाई नै खोजी लाग्छ । अब फेरि कसरी दुखी बनाउन सक्छु, बहाना जो खोज्नु छ ।

उमेरले हो म काँच्चै छु तर जति मान्छेले पुरै उमेरमा भोगेका हुँदैनन् नि, त्यति पीडा त मैले २० कै उमेरमा भोगिसकेको छु । खुसी के हो अनि आँशु के हो ? मुस्कान के हो अनि मुस्काउनु के हो ? जीवन के हो अनि जिउनु के हो ? साँच्चैको मृत्यु के हो अनि पलपल मरिरहनु के हो ? साथी के हो अनि साथ के हो ? आफ्ना को हो अनि आफन्त को हो ? दुखाइ के हो अनि दुख्नु के हो ? समाउने हात कस्तो हुन्छ अनि आफ्नाले नै गरेको विश्वासघात कस्तो हुन्छ ? हो यो सब भोगिसकेको छु ।

जिन्दगीले लिन पर्ने परीक्षा सबै लिइसकेको छ मसँग । नौनी जस्तै छे, यसलाई सजिलै पगाल्छु नसोच्नु मलाई । आफ्नाबाट मिलेको अपमान अनि साथीहरूबाट मिलेको घात, त्यसमाथि भगवानले लिएको हर समयको कठिन परीक्षाले चट्टान भन्दा पनि बढी खँदिलो बनाइसक्यो । आफूले बुझ्ने भएदेखि हरेक पहाडभन्दा ठूला समस्याहरू र पत्याउनै नसक्ने सच्चाईहरुलाई आत्मसाथ गर्दै यहाँसम्म आइपुगेको छु ।

म हाँसेको देखेर ‘यो त बिग्रिसकिछे’ भन्ने अधिकार कसैलाई छैन । म मेरो मनभित्र भएको पीडालाई बाहिर देखाएर दुनियाँलाई खुसी हुने मौका दिन चाहन्नँ । त्यसैले जे छ, मनभित्र नै गुम्साएर बाहिर २४ सै घण्टा हाँस्ने गर्छु । गार्‍हो त छ नि हौ रातभरी रोएर सुन्निएका आँखा बिहान कसैले देख्छन् कि भनी लुकाउन । मलाई थाहा छैन, मेरो जिन्दगीको कहानी के हुन्छ ? बस्, म हार भने कहिल्यै मान्ने छैन । जिन्दगीसँग त लड्नु पर्छ ।

आकाशबाट तारा झर्दा मेरा सबै सपना पूरा होस् भनेर कहाँ पूरा हुन्छन् र ? बस्, मलाई यो जिन्दगीले एउटा पाठ भने गज्जबको पढाएको छ । एउटा बाटो बन्द भयो भन्दैमा हार नमान्नु, उदास नहुनु, भथवानमाथि नभए आफूमाथि विश्वास राख्नु । भनाई छ नि, भगवानले एउटा ढोका बन्द भए हजार ढोका खोलिदिन्छन् ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button