
सतीको सराप निरन्तर प्रभावी यो देशमा
दीन पन्थी
राम्रो गर्नेलाई नराम्रो होस्, नराम्रो गर्नेलाई राम्रो होस् यस देशमा । यो सतीको सराप हो देशलाई । निरन्तर प्रभावी बनेको छ यो सराप । यहाँ यस्तै हुँदै आएको छ सधै ।
सतीको सरापबाट अभिशप्त यस भूमिमा म बाँचेको छु । मन रुँदा पनि दाँतले हाँसेको छु । लोभीपापीहरुका बाजाको तालमा म नाचिरहेछु । कहिले कानले, कहिले आँखाले निरन्तर गरलपान गरिरहेछु । भ्रष्ट आचारहरु ओढेर सदाचारका बोक्रे भाषणहरुमा देश डुब्छ । चतुरहरुका लीलाहरुमा झुक्किएर लोक जिल्लिन्छ । मिथ्या आडम्बर र पाखण्डभित्र जालसाजी र कपट हुर्किन्छ । नंग्रा र दाह्राहरुमा लत्पतिएको आलो रगत् नपुछिदै ब्वाँसाहरु दयावतार बन्छन् । सिद्धान्तहरु, नीतिहरु, आदर्शहरु किताबका ठेलीहरुमा हाँस्छन् । व्यवहारमा लोभ, मद, द्वेष र मात्सर्यहरु नाच्छन् ।
म हाँस्छु विसंगतिहरुमा, मिथ्या र पाखण्डहरुमा, फगत् हाँस्छु । सत्य ओढिन्न, चरित्र खाइन्न, आदर्श बोकिन्न । यी बकितम् हुन् बकिन्छन् । राजनीति एकदम दिगम्बर र निर्लज्ज बनेर चौरस्ताहरुमा जगत् हँसाइरहेछ । म यो रोचक नौटंकी हेर्छु, यो तमासा फगत् हेर्छु । वेताल, भैरव र नन्दीभृंगीको यो ताण्डव नृत्य म निःशुल्क हेरिरहेछु ।
म रुन्नँ किनभने मसँग संवेदना छैनन् । म माग्दिनँ किनभने आकाशले केही दिन्न । म केवल हाँस्छु । म हिडिरहेछु, सास फेरिरहेछु त्यसैले म जिइरहेछु । म बुख्याचा होइनँ । मसँग प्राण छ, मुटु छ, टाउकोभित्र गिदी छ मेरो । मैले छाती छाम्छु–भड्किरहेछ– घडीजस्तै टिकटिक् । नाडी छाम्छु– चलिरहेछ, अनि म ढुक्क हुन्छु– म अझै छु भनेर ।
देवासुर संग्राम हुन्छ, होला र हुन्थ्यो पनि । देवासुर संगं्राममा हामी विनासित्ती देवताको पक्ष लिन्छौं । समुद्र मन्थनमा रत्नहरु निस्के, अमृत निस्क्यो र निस्क्यो कालकूट विष पनि । विषले जगत् डढाल्न थाल्यो । अनि भागे सुरहरु, अनि भागे असुरहरु । शिवले पिए कालकूट विष नीलकण्ठ बनेर । पछि आए सुर–असुरहरु ।
देवासुरसंग्राम, समुद्रमन्थन एउटा मिथक, एउटा बिम्ब । कालकूट, सुर–असुर अमृत सबका सब बिम्ब । के सुर–असुरको यो दुश्मनी र जुद्धको अन्त होला ? मैले पढेका अक्षरहरु अक्षय भएनन्, क्षर भए । ती भातसित झुके, दौरासित झुके, लौरासित कामे । ती अक्षरहरु शिर उचालेर हिड्न सकेनन्, कष्टसाध्य सत्यको पथमा डट्न सकेनन् । मिथ्यातिर अल्मलिए । मेरी शारदा ! तिमी लक्ष्मीसित लत्रियौं । जाड्यान्धहन्त्री भएर किन अँध्यारोसित डरायौ ? मेरो ज्ञानको भोकलाई पेटको भोकले जित्यो ।
मेरा अक्षरलाई क्षरले उछिन्यो । मेरी प्रज्ञालाई अँध्यारोले उधिन्यो । मेरी प्रज्ञा नाना, छाना र मानामा बन्धक बनी । के मेरा त्यागहरु मेरा कमजोरी हुन् ? के मेरा भोगहरु मेरा सामथ्र्य हुन् ? दुनियाँ त्यागलाई गिज्याएर हाँस्छ । दुनियाँ भोगलाई सलाम गर्छ । दुनियाँ भन्छ– नैतिकता तँसँग जन्मेको होइन, आदर्श, सत्यनिष्ठा र इमान्दारी तँसँग जन्मेका होइनन् । तिनको पछि नलाग् । तँसँगसँगै भोक जन्मेको हो, राग, द्वेष काम र मात्सर्य जन्मेका हुन् । आफ्ना सहजात प्रवृत्तितिर लागेर सफल बन् । तैंले पढेको सिद्धान्त हो नैतिकता, त्यो छोडिदे । सहजात वासनाहरु बोकेर हिँडिदे सजिलो बाटोमा । लत्याएर मानवीय मूल्य र मान्यताहरु आदिम स्वभावमा फर्किदे । यस्तै स्वरहरु मुखरित हुन्छन् जताततै ।
मलाई नांगै हिड्न लाज लाग्छ यद्यपि म नांगै जन्में । लाज नभएको भए म दुनियाँ जित्थें । जीवन त जुवाको खाल हो । युधिष्ठिरहरु जुवा हारिरहेछन्, शकुनिहरु जुवा जितिरहेछन् । सत्यको स्थान छैन जुवामा । सत्यवादी वनवास जाऊ । कपटीहरुको राज्य जम्न देऊ । हिटलर, मुसोलिनी, बोकासा, इदीअमीन र पोलपोटहरुको खाँडो जाग्न देऊ । समय हो । कसैले जित्छ, हार्छ । कसैले हार्छ, जित्छ । जसले पछि जित्छ त्यही विजयी हो । क्राइष्ट, सुकरात, गान्धी र गंगालालले हारेर जिते । उनलाई जसले मारे तिनले जितेर हारे । कसैले आफूलाई अजम्मरी ठान्दो हो, म ठान्दिनँ ।
म प्रत्येक चराचर अनित्य देखिरहेछु । पृथ्वी बोकेर कसैले लगेन । सुनचाँदी बोकेर कोही गएन । सबै माटोमा मिले, चितामा जले । मैले प्रत्येक शिशिरमा पातहरु झरेको देखेको छु, प्रत्येक वसन्तमा पातहरु पलाएको देखेको छु । जो पलाउँछ त्यो झर्छ, जो फुल्छ त्यो ओइलाउँछ, जो जन्मन्छ त्यो मर्छ । प्रत्येक दिनान्तसँगै बैंस ढल्छ । प्रत्येक बैंससितै ढल्छन् सपनाहरु । प्रत्येक जीवितले अमरताको आकांक्षा राख्छ । प्रतिदिन जल्छन् मसानमा चिताहरु । प्रतिदिन गर्भाधान हुन्छ । प्रतिदिन भ्रूणहत्या हुन्छ । प्रतिदिन शिशुहरु जन्मन्छन् ।
यो सृष्टि रहर हो कि कसैको प्रेरणा हो ? अक्षरहरु अविनाशी छन् । जुनकिरीजस्ता अक्षर छर्नेहरु किन अँध्यारोमा बस्छन् ? जुनकिरीहरु अँध्यारोमा बत्ती बाल्छन् । उज्यालो भए पछि किन लजाएर लुक्छन् अँध्यारा कुनाहरुमा ? यहाँ अक्षरहरु उम्रे, फुले र प्रभातका शित झैं टल्के । अँध्यारोमा रमाउँछन् लाटोकोशेरा र चमेराहरु । उज्यालो मनपर्दैन तिनलाई । अँध्याराको खोजीमा डुल्छन् निशान्तमा निशाचरहरु ।
हामी भन्छौं तमसो मा ज्योतिर्गमय । जगले घर थाम्दछ, आफू लुक्दछ गुमनाम भएर । माथि तलामा बस्नेहरुलाई, कौसीमा घाम ताप्नेहरुलाई, कोठा कोठामा रतिव्रmीडा गर्नेहरुलाई के वास्ता जगको ? हिजो बित्यो फर्केर आउँदैन । बगेको पानी र बैंस फर्कन्नन् । आज हेमन्त छ । घाम तापेर न्यानो खोजेर बस्छौं हामी । भोलि वसन्तमा शीतल छहारी खोजौंला । बूटाहरु नकाट घाम छेक्यो भनेर । आज आकाशमा बादल देखिंदा सराप्छौं बादललाई । भोलि जेठमा बादल माग्दै, पानी माग्दै महादेउ पानी देऊ भन्ने दिन आउला । त्यसबेला भ्यागुता कराएको कति मिठो ह कि ?
हिजोका जगमा आज उभिएको छ । आज टेकेर भोलिमा पुगौंला । हिजोलाई नभुलौं–आफू हिडेको बाटोलाई । त्यहाँ हाम्रो गौरव छ, मधुर स्मृति छन् । हिजोको मिठोले भुलौं आजको तितोलाई । यद्यपि हिंजो फर्केर आउँदैन, हाम्रा बितेका पुर्खाजस्तै, पुर्खाका पदचिह्न जस्तै । पुर्खाका विरासतहरुमा, हिजोका पुरुषार्थहरुमा टल्किने–झल्किने ज्योतिहरु छन् टिप्नुपर्छ । तिनको प्रकाशमा बाटो देख्नुपर्छ आजले ।
के नेपाल पृथ्वीनारायण, कालु पाण्डे, दामोदर पाण्डे, बहादुर शाह र अमरसिंह थापाका भूलहरुबाट जन्म्यो ? किन आज हामी नेपाललाई खण्ड–खण्ड गराउन उद्यत छौं ? भूल कसको हो ? भूल !




