
‘भिज्यो तिम्रो रातो पछ्यौरी’
गीतगाथा
अशोक सिलवाल
‘मन नपर्नेलाई त सायद संगीत पनि हल्लामात्र हो’, भन्दै मैले सोधें, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ पनि तपाईले नै गाएको होइन ?’
‘हो । यो गीत पनि मेरो त्यही समयको हो, जति बेला म जुन गाउँथे, त्यही हिट हुन्थ्यो । रेडियो नेपालमा पाण्डव सुनुवार दाई हुनुहुन्थ्यो । नाम सुन्नु भएको होला नि ?’, मैले पक्कै सुनेको छु भने झैं गायिका ज्ञानु राणाले सोधिन् ।
‘किन नसुन्नु ? उनीसँग त मेरो एउटा सन्दर्भ पनि छ । २०५८ सालमा मैले रेडियो नेपालमा रेडियो प्रसारणको लागि स्वर परीक्षा दिएको थिएँ । त्यसको तीन निणार्यकमध्ये एक पाण्डव सुनुवार थिए । त्यति मात्र होइन, एउटा भनाई खुब प्रचलित थियो, अनुहार न दनुवार पाण्डव सुनुवार । तर किन त्यसो भनिन्छ ? मलाई उनी ह्यान्डसम लाग्थ्योे’, मैले भनें ।
‘पाण्डव सुनुवार र वासुदेव मुनाल रेडियो नेपालको चौरमा संगै बसिरहनु भएको रहेछ’, उनले सम्झिइन्, ‘उहाँहरूले मलाई नजिकै बोलाएर भन्नुभयो, ज्ञानु ! एउटा गीत हामीले तिमीलाई नै सम्झेर तयार गरेका छौं । गाउने होइन त ?’
‘गाउने हो । कहिले रेकर्ड गर्ने त दाई ?’, उनले सोधिन् ।
‘मिल्यो भने आजै । नभए भोलि’, उनीहरूले भने ।
‘एक पटक सुनौं न त’, उनले आग्रह गरिन् ।
सुनुवारको संकलनको पूर्वेली गीत ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ भोलिपल्ट सुनुवारसँग गाइन् । गीत व्यापकै चल्यो ।
यत्तिका बर्षपछि कपनस्थित उनको घरछेऊको स्कुलमा त्यो गीत लाउड स्पिकरमा बजाएर बच्चाहरूलाई डान्स गराइरहेको उनले देखिन्, सुनिन् ।
ती बच्चाहरूलाई त्यो गीत गाउने मान्छे सँगै टाँस्सिएको घरमा बस्छिन् भन्ने सम्भवतः थाहा थिएन ।
स्वरमा भाइब्रेसन मिसाएर उनी सहमत भइन्, ‘हो, उनीहरूलाई थाहा छैन ।’
‘त्यो गीतमा डान्स गराउँदै गर्दा स्कुलले तपाईंलाई नै बच्चाहरूका अगाडि प्रिजेन्ट गर्दा ती बच्चाहरू कति खुशी हुन्थे होलान् ? अनि तपाईं झनै कति खुशी हुनहुन्थ्यो होला ?’, मैले भनें ।
‘स्कुलबाट मेरो गीत बजिरहेको हिजो पनि सुनिरहेको थिएँ’, उनले थपिन् ।
‘भिज्यो तिम्रो रातो पछ्यौरी कहाँबाट बज्यो भनेर झ्यालबाट हेरेको त स्कुलको कम्पाउन्डमा बच्चाहरू नाचिरहेका’, उनले अनुहार र आँखा दुवै चम्काएर फेरि थपिन् ।
‘त्यो गीत गाउँदाचाहिँ तपाईंभित्र कस्तो अनुभति जन्मिएको थियो ?’
‘रातो पछ्यौरी भन्नेबित्तिकै पूर्वेली दिदीबहिनीहरूको रोइला स्टाइलको गीतहरू सम्झें । अहिले पनि पाण्डव दाईसँग हिजो भर्खर दोहोरी गाएको जस्तो लाग्छ । तर, यत्तिका बर्ष बितिसके । सम्झिँदा हिजै जस्तो लाग्छ तर समयले कहाँ पु¥याइसक्यो’, उनले भनिन् ।
बासुदेव मुनालसँग उनले एउटा बालगीत गाएकी छिन् । मुनाल बितेको रात उनीसँगको त्यो बालगीत रेडिया नेपालले बजाएको थियो रे ।
पुरानामा नारायणगोपाल, गोपाल योञ्जन, कुमार बस्नेत, प्रकाश श्रेष्ठ, फत्तेमान, भक्तराजलगायत अरु थुप्रै र अर्को पुस्तामा रामकृष्ण ढकाल, यम बरालदेखि सुदेश शर्मासँग उनले स्वर मिसाएकी छिन् ।

नातिकाजी, शिवशंकर, गोपाल योञ्जन, दिव्य खालिङ, नारायणगोपाल, अम्बर गुरुङ, दीपक जंगम, प्रकाश गुरुङलगायत थुप्रैको संगीतमा पनि गाएकी उनलाई गीत गाउँदा सबैभन्दा इन्जोई चाहिँ क्रमशः नारायणगोपाल, गोपाल योञ्जन, कुमार बस्नेत आदिसँग हुन्थ्यो ।
‘संगीतकारको हकमा चाहिँ कसको संगीतमा आत्मा बढी घोलिएको अनुभव गर्नु हुन्छ ?’, मैले सोधें ।
‘दिव्य खालिङ दाई । असाध्यै राम्रो संगीत गर्ने । उहाँको संगीतमा गीत गाउँदाको आनन्द अवर्णनीय ।’
‘रातले सधैं चोरी ल्याउँछ …’ भन्ने गीतमा खालिङको संगीत थियो तर त्यो गीत अरु गीतजस्तो पपुलर भएन । अघि भनेजस्तै संगीत वा गीतको आफ्नै भाग्य हुँदोरहेछ ।
भन्दै थिइन्, ‘हो, आफ्नै भाग्य हुँदोरहेछ । तर, दिव्य दाईको संगीतमा जति जे हुन्छ नि, त्यसले दिन आनन्द निकै गहिरो । तर, किन हो, उहाँको गीत चाहिँ त्यतिविधि अगाडि आएन के । जति मैले गाएँ ।’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



