
त्यो नैनकलालाई त्यसै छोडेको हो त लोग्नेले ?
कथाः नैनकला तिमीलाई सलाम छ
मीरा पुडासैनी
‘त्यो नैनकलालाई त्यसै छोडेको हो त लोग्नेले ? नारी गुण एउटै छैन, साह्रै ठुल्ठुला कुरा गरेर लखरलखर अरूको घर भाँड्न हिँड्छे प्रवचन दिदैं । आफ्नै घर बिग्रेको कस्ले देखोस्, कतिका घरहरू बिगार्ने हो अब यसले’, पुछारतिरको कुर्सीमा बसेर एकजना प्रौण देखिने महिला बोल्दै थिइन् ।
उनको बोलीमा बोली मिलाउँदै नानाभाँती आरोप लगाउँदै अर्की महिला हो मा हो मिलाउँदै थिई ।
‘आफुलाई कति न चोखी देख्छे, अस्ति पनि कसको मोटरसाइकलमा बसेर रातको दोस्रो प्रहरमा घर आएको यहि आखाँले देखेकी हुँ मैले, पोई छोडे पनि पोइहरूको दुख छैन यसलाई, खुब अधिकारकर्मी भई टोपलेर आदर्शका कुरा गर्दै परिवार, गाउँ र समाज भड्काउँदै हिँडेकी छे । कहिलेसम्मको चुरीफुरी हो यसको हेरौंला नि ।’
गाउँमा नैनकलाको यस्तै यस्तै चर्चा हुन्थ्यो । तर ऊ कति पनि विचलित थिइन यस्ता कुराहरूप्रति, किनकि उसले आफुले जीवनमा भोगेको पारिवारिक उत्पिडन, हिंसा र पुरूषप्रधान समाजको निर्मम अकर्मण्यताले कठोर भएकी उसलाई यस्ता कुराहरूले केही फरक नपार्ने ज्याद्रो बनाइसकेको थियो । उसले आफ्नै श्रीमान र परिवारसँग भोगेको कठोर अन्तरसंघर्षले उसलाई ढुङ्गा जतिकै कठोर बनाइदिएको थियो । सन्तान जन्माउन नसकेकी बाँझी आइमाइको नाम पाएकी उसलाई छोडेको लोग्नेको पनि दोस्रो श्रीमतीबाट पनि सन्तान जन्मिएको छैन । यसैले गर्दा अहिले ऊ पारिवारिकबाट नितान्त निस्वार्थी र सामाजिक भइसकेकी थिई । सन्तान र परिवारबाटै अपहेलित असहायहरूको सेवामा दिनरात आफुलाई समर्पित गर्दै थिई ।
नयाँ बस्तीमा हिजो भएको एक घटनाविरूद्द आज उसको ८ नं वडा कार्यालयमा उसले वडा अध्यक्षसित समय मागेर वडाको रोहवरमा एउटी असहाय आमाको उद्दार गर्दै थिई, आफ्नो संस्थाको संरक्षणमा रहनेगरी ।
छोराहरू, नातागोता, ईष्टमित्र सम्पूर्ण भईकन पनि असहाय बनेकी एक बृद्ध आमाले उसको आश्रममा संरक्षण पाउँ भनी दिएको निवेदन र त्यसपछि ती आमाको छोराले नैनकलाविरूद्द आफ्नी आमालाई विभिन्न प्रलोभनमा पारी उक्साएको आरोपमा वडामा बोलाइएको न्यायिक समितिको ईजलाजमा समाज भेला भएको थियो ।
श्रीमान बितेपछिका करिव १४ वर्षसम्म ती आमाका जीवनमा घटेका दर्दनाक घटनाक्रमहरूलाई एक एक गर्दै छोरा बुहारीले गरेका अन्यायको बेलीबिस्तार स्वयं आमाले पोख्दै थिईन् । उनलाइ अशक्त अवस्थामा सन्तानले गरेका तिरस्कार र अपहेलनाको प्याला पिउन सक्दिन भनेर स्वतस्फूर्त कसैको बहकाउमा नपरी जेष्ठ नागरिक सेवा आश्रमको शरणमा पुगेका उनका पाइहरूलाई विश्राम दिन नैनकला उसको कानुनी सरंक्षक भएर वडामा वकालत गर्दै थिई ।
उसले भनेका एक एक शव्दहरू सहि थिए, गलत र खोटी त यहाँको समाज थियो । समाजको यस्ता विभिन्न कुरूप अनुहारलाई उसले सबैका सामु देखाउने आँट र साहसलाई धेरैले स्वीकार्न सकेका थिएनन् । तर समाजले चिन्न नसकेको उसको असली रूप र क्षमतालाई त्यो क्षेत्रका अन्याय र अत्याचारमा परेकाहरूले चाहिँ राम्ररी चिनेका अनि बुझेका थिए ।
ऊ आफ्नो काम र समाजप्रतिको उत्तरदायित्वका कारणले त्यस समाजका निमुखा बृद्ध बृद्धाहरूको एउटा बलियो आधार बनेकी थिई । यस्तै प्रगतिशिल सोचाई र विचारका कारण उसका विरोधीहरू भने समाजमा प्रशस्तै थिए ।
ऊ भन्दै थिई, ‘हो, यो त्यही समाज हो, सन्तानमा छोरा नै चाहिन्छ भनेर भन्ने, छोरा नपाएको निहुँमा बुहारीलाई शारिरिक र मानसिक यातना दिने, बुहारीमाथि सौता ल्याइदिने ।’
‘अनि कहाँ जान्छ, त्यो पितृसत्तात्मक समाज, जब छोरा मात्र जन्माएकी एउटी बिरामी, वृद्ध, दीर्घरोगी विधवा आमालाई उनकै छोराले उपचार गराउन भनेर लगेर अस्पताल नै नलगी आमाको नाममा रहेको जमिन आफ्नो नाममा गराएर आमालाई घरबाट निकालिदिने कुकृत्य गर्दा पनि चुईक्क बोल्दैन । ती आमाले छोराहरू पाएर के पाईन र के गुमाईन ? के आमाहरूले छोरा जन्माएको भविस्यमा यस्तै गरून भनेर हो त ?’, नैनकला भन्दै थिई ।
यी आमाको अरबौंको सम्पति उनी नमर्दै छोराहरूले विभिन्न बहानामा आमालाई थाहै नदिई आफ्नो नाममा बनाएका रहेछन् । निद्रामा नै ल्याप्चे लगाउनेदेखि अस्पताल लाने भनेर मालपोतमा लगेर पनि आफ्नो उदेश्य पूरा गरेको कुरा आमाले समाजमा बकिरहदाँ कैयौं आमाहरूको आँखाबाट आँसु बगिरहेको थियो ।

मरेपछि खान पाउने भए पनि, आमाको मृत्युसम्म पनि कुर्न सक्ने धैर्यता छोरा, बुहारी र नातीहरूले देखाएनन् । त्यही अरबौंको सम्पतिको केही हिस्सा आमाको उपचारको निम्ति खर्च गर्ने सम्मको कर्तव्यबोध पनि तिनीहरूमा रहेन । सुगर, प्रेसर र दम, लगायत धेरै रोगले गालेको आमाको उपचार नगरेर पाटीको बास बनाउन आँटेकाले ती आमाले आश्रमको शरण खोजेकी थिईन्, आफ्नो नाममा बाँकी रहेको एक रोपनी जमिन आश्रममा दान बक्सिस गरी नमरून्जेल त्यही रहनेगरी भनी मन्जुरिनामासहित नैनकलासँग आज वडाको न्यायिक समितिको बैठकमा उपस्थित भएकी थिईन् ।
छोरा भने यस आरोपको बचाऊ गर्दै थियो । विपक्षमा उभिएकाले आमालाई आफुले नै सम्मानपुर्वक राख्दै आएको जिकिर गर्दै थियो । उसले नैनकलालाई आमालाई उक्साएर सम्पति हडप्नेसम्मको झुटो आरोप लगाउँदै थियो । तर आमाका आँखाबाट बगेको आँसुले झुट के हो साँचो केहो बताइरहेको थियो ।
तर, यो भावनाको संसार त थिएन नि, भावनाले, वात्सल्यले, मानवताले, कर्तव्यले, आँसुलाई चिनेको भए त सायद आमाको आँखामा आँसु नै हुने थिएन होला नि । आफ्नै सन्तानविरूद्व न्यायको कठघरामा उभिनु पर्ने यस्तो दिन पनि त आउने थिएन होला नि ।
श्रीमानको मृत्युपछि सन्तानबाट अपहेलित यस्ता आमाहरू समाजमा प्रशस्त भेटिन्छन् । तिनीहरूको न्यायको लागि यो समाज किन केही बोल्दैन ?
नैनकलाले ती वृद्ध आमाको ईच्छा अनुसार उनलाई सन्तान बनी संरक्षण गर्छु भनी स्वयं आमाको र उनको छोराको उपस्थितिमा चलेको न्यायिक समितिले जे निर्णय गरे पनि, यहाँ एउटा आमाको कोखले हारेको हुनेछ, ममताको बर्खिलाफ भएको हुनेछ । कसैका सन्तानले पनि आफ्ना जन्मदातालाई यस्तो स्थितिमा कहिल्यै नपुराउन् ।
नैनकला तिमीलाई सलाम छ मेरा ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)