
श्री छ तर मेरा आँखाको नानीमा मात्रै
राममायाको सपना
सुदर्शन खड्का क्षत्री
थली, काठमाडौं ।
कस्तो चीसो हावा लाग्दो रहेछ त्यहॉं त । पानी पनि कति चीसो । त्यो ओल्लोपट्टीको तातोपानी नभइदिएको भए त त्यहॉंको केही महिमा नहुने रहेछ । सॉंच्ची नै त्यस्तो ठाउँमा जहॉं हातै काट्ला भनेजस्तो चीसो पानी रहेछ । फेरि उस्तै हावापानी तर नजिकैको अर्को मूल भने किन त्यस्तो तातोपानीको होला, फोकै उठाइदेला जस्तो ? त्यसैले होला त्यस ठाउँको नाम पनि तातोपानी राखिएको ।
थकाईले म त भुतुक्कै भएँ पनि । थकाई नलागोस् पनि किन ? त्यति लामो बाटो । फेरि हुण्डाको चीसो हावाले मेरो त कानै लगेजस्तो लागेको थियो । छिः उमेश पनि कस्तो मान्छे होला, विस्तारै लगे पनि त हुने नि किन त्यसरी वायुपंखी घोडा झैं कुदाउनु पर्ने होला, कतै एक्सिडेण्ट परिदियो भने ? तर ऊ हुण्डा चलाउन निपूर्ण छ । उस्ले कतै एक्सिडेण्ट पारेको आजसम्म सुनिएको छैन । सिपालु छु भन्दैमा कुदाउनु पनि कहॉं हुन्छ र ? सायद मलाई पाएर त्यति खुसी मानेर उस्मा साहस बढेको हुनु पर्दछ । सॉंच्चि नै उमेश मलाई कत्ति माया गर्छ । मेरो मुखबाट निस्केको मामुली कुराबाट पनि ऊ मुटु फुट्ला झैं हॉंस्छ अनि मलाई पनि उसैगरी हँसाउन सिपालु छ ।
आज मेरो मनमा कता कताको सम्झनाले उकुसमुकुस बनाइदिन्छ । त्यो सानो अति सानो कणले यो असिम सूर्यप्रकाशलाई धमिलाउन खोजिरहेछ । त्यो मसिनो विन्दूले प्रशान्त महासागरको सारा जल रंगाउन खोजिरहेछ । के त्यस्ले यो ब्रह्माण्डलाई नै उथलपुथल गर्न सक्षम होला र ? म भन्न सक्तिन ऊ के पो गर्न असमर्थ छ र । तीनै भुवनमा के ऊभन्दा श्रेष्ठ अरू नहोलान् र ? तर म ठोकेर भन्न सक्छु कि सोह्रैआना उही नै श्री छ अनि विश्वमा उच्च छ माउण्ट एभरेष्ट जस्तै तर मेरा आँखाको नानीमा मात्रै । उही सर्वसुन्दर छ, छ अनि बिद्वान, बुद्धिमान साथै बुझकी र ज्ञानी पनि । ऊ के छैन, मेरो निमित्त विश्व छ ।
हो, मेरो लागि उही एक निशाना बनेको छ । म उसैको तपमा देह अर्पण गर्न तयार छु । तर, समाजले कुन दृष्टिले हेर्ला, मलाई अनि मेरो प्राणतुल्य … लाई । हामीलाई कुन श्रेणीमा राख्ला त्यो समाजले । के म उसैमा लीन होउँ त ? हुन्छ जरूर भरपर्नेछु तर म कतै वीच सागरमा त अलपत्र पर्दिन ? के उसबाट मलाई सुख, सुविधा यश, कीर्ति अनि मुक्ति मिल्न सक्ला ? मलाई शंका लाग्छ । यदि ऊ सर्वसम्पन्न छ भने आजैदेखि संसारका सारा प्राणीमात्रको आँखामा छारो हाल्न तयार बन्छु तर उल्टै आफूमै हालियो भने ? भयो, पुग्यो, म यस विवेकहिन, असभ्य समाजरूपी दुनाको दहीच्युरा बन्न चाहन्न । मलाई कसैको सहारा चाहिंदैन । कसैबाट सुखि, धर्मात्मा बन्न चाहन्न । अरूको मद्दतद्वारा यो पृथ्वीमा यश र कीर्ति फिंजाई स्वर्ग जान पनि रुचाउन्न ।
हाय राम ! म कति कोशिस गर्दछु उसलाई विर्सन तर असफल हुन्छु । म जति टाढा हटाउन खोज्दछु, उतिउति नजिक टॉंस्सिन आाइदिन्छ ऊ, मेरो सानो मुटुमा ठूलो आशन जमाउँदै । यो चुलबुले मनलाई एकान्त पिजँरामा बन्देज गरी थुप्राउन कोशिस गर्छु तर मेरा प्रयत्नहरू निष्फल बनिदिन्छन् । फेरि उही याद झुल्किदिन्छ टाढाबाट । कताकताबाट चियाए झैं लाग्दछ अनि नीलगगनको कालो पाटीमा आँखा दौडाउँछु, चम्केका बिजुलीरूपी खरीले कोरिएका सन्देशका छिरविरे किरिङ्मिरिङ् पाउँछु कि भनी । सर्याकसुरुकको आवाज यी दुइ खुला कर्णद्वारबाट चियाउन आउँछन् तर हावाको अन्जान गीत सिवाय केही कोशेली मिल्दैनन् । यो हृदयको तृष्णाले डंडेलो सल्काउन खोज्दछ तर जलबृष्टीको आसय लिंदालिंदै घिउको बॉंध फुटिदिन्छन् । यसैले म विह्वल हुन्छु, फेरि मनमा भावका फोका कति उठ्छन् कति फुट्छन् । एकमन भन्छ म मात्रै यसै कति आयु छोट्याउँ, के ऊ पनि फूलमा बासना बनिदेला ? यदि म अगाध समुद्रको एउटा मात्र माच्छो बन्नु पर्छ भने ऊ पनि एउटै मात्र कमलपुष्प बनिदेवस् । अनि हामी दुइको अमर पिरतीदेखी दुनियॉं आफ्नै आँखाहरू माडीमाडी बसुन् ।
आहा, त्यो रूप कति सुन्दर छ, देवलोकको शिरोमणी जस्तै । कति रसीलो सुमधुर वाणी छ, पत्थर नै पगालिदेला जस्तो । विचार कति उच्च र पवित्र छ । व्यवहार कति सरल छ । अनुहार देख्दैमा बोलुँबोलुँ जस्तो । म कसरी उस्लाई बिर्सुं जो मरूभूमिमा अमृतको बृष्टी गरिदिन खोज्दछ ।
यस्तै यस्तै कताकताको स्मृतिले मलाई बैचैन बनाइदिन्छ आठै प्रहर । विभिन्न कल्पनाको मादकताले पागल बनाइन्छ अनि निर्जन त्यो उराठलाग्दो छहराको नजिक बसी दुइ घुडामा मुन्टो अड्याई नयॉंनयॉं काल्पनिक संसारमा मनरूपी पुष्पविमानद्वारा सवार गरी नौलोनौलो देशको विहार गर्दछु । त्यो प्रशान्त महासागरमा सौर्यमण्डलको जुनकिरी जस्तै म एउटा कीट बनी सुष्क पतङ्गमा बसी अपार जलकृडा गर्दै प्रकृतिको मनोहर छँटा हेर्दै अघि बढ्दछु तर कहॉं कुन नौलो किरणमा पुगिने हो, म कोसंग सोधुँ ?
हो म एउटी पथिक हूँ मरुभूमिको, अकेली बटुवा हूँ विभत्स अरण्डेको, असहाय लता हूँ उजाड भूमिको । म एउटी नारी हूँ दानवी समाजबाट उछिट्टिएकी । एउटा पिलपिलउँदो तारा हूँ, जो स्वर्गबाट सललल बगिसकेको, पृथ्विमा खस्न नपाउँदै बीचैमा विलाउन लागेको । तर, कुनै दयालुले उसको दुवैहात पसारी, थापी, सहारा दिन खोज्दैछ । अब म के गरूँ, मेरो खोपडीमा कुनै उपाय सुल्झदैंन ।
हाय गजव ! पूर्णिमाको रातमा चखेवाका जोडीको अगाध पिरती, त्यो पारी डॉंडामा लुक्न लागेका रविको पहेंलो केशराशी, पर्वतराज हिमालयका देशलाई जगमगाई रहेका, प्रभातको किरणले धर्तीमाताको ओठमा लाली घसिरहेको साथै टलपलाउँदा शीतका थोपारूपी मोतीका सितारा जडिरहेको । सूर्यदेवले आफ्नी प्यारी पृथ्वीलाई कत्ति सजाइरहेका हुन्छन् मायॉको घुट्को निल्दै । बगैंचामा झुलिरहेका ती रंगीविरंगी फूलहरू, आफ्नो यौवनको सुगन्ध यत्रतत्र छरिरहेका हुन्छन् । तिनका मादकतामा पुतली भ्रमरादि वेसुरको गीत अलाप्दै नजाने पनि नाचिरहेका ती साहित्यकारका भावुक आँखाले देख्दछन् तर यी मेरा दुई खटप्वालले भने जताततै उजाड, उदाङ्ग र फुस्रो सिवाय केही देख्दैनन् । जहॉंतहॉं विरहयुक्त प्रचण्ड ज्वाला दन्किरहेको मात्र देखिन्छन् अनि देखिन्छन् तीखातीखा कॉंडाले भरिएका मेरा गोरेटाहरू । अरूले देखिरहेका ती हरियाली कल्की परेका श्रृङ्खलाहरूलाई म देखिरहेछु सुकेका तृणले भरिएका अनकण्टार पहरा । अरुले जे देख्दछन् म त्यस्को विपरित देख्छु, यसैले होला भावुक र साधारण हृदयको अन्तर ।
प्रेम, दया र ममताको पाठ पढ्न नजानेका यो संसाररुपी छाप्रोका मानवरुपी दानवहरू, एकले अर्काको चुक्ली लगाउनु, जुधाउनु, बजाउनु अनि आफ्नो स्वार्थ पूर्ति गर्नु सिवाय अरू के नै जानेका छन् र । एउटै चन्द्रसूर्यरूपी दियालोको प्रकाशमा हुर्केका प्राणीहरू एउटै आमाका सन्तान हौं भन्न जान्दैनन् । क्षणिक तृप्ति र रुखो स्वार्थको निमित्त एउटाले अर्काको मुटुको रगत चुस्न इश्र्या, राग, द्वैषका जिब्रो बिषालु सर्पका फँणा झैं सलवलाइरहेका छन् । ज्ञान, विवेक, बुद्धि र धनमा कीरा उमारिरहेका छन् अनि भाइभाइको गला रेटी रगतको तलाउ बनाई त्यस्मा पौडी खेल्न, नयॉंनयॉं बिषालु तर सुक्ष्म हतियारको श्रृजना गर्नमा । त्यसैले यस्तो समाजको हावापानीमा हुर्केको उमेशलाई म कसरी विश्वासको पात्र ठानुँ ?
यस्तैयस्ता भावुकताको आँधिवेरीमा घामपानीको देशको बाटो गरी उडिरहेकी हुन्छिन्, राममाया चुँडिएको चङ्गा बनी कहिले तल कहिले माथि गर्दै । जब टिनीनीनी बजिरहेको टेलिफोनको एकोहरो घण्टीले उनको कानको जाली नै फुटाउला जस्तो गर्दछ तब झल्यॉंस्स हुँदै ‘छिः मैले कस्तो सपना देखेछु’ भन्दै टेलिफोन उठाउँछिन्, ‘हेलो, हेलो, हेलो ।’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



