एक शहर, पाँच दिन, तीन कालखण्डीय स्मृति

२०१५ , २०६२ एवम् २०७८ सालका समष्टिगत सम्झनाकाे कथा वृतान्त नगरी देहरादून !

देहरादूनले आज उसलाई आफ्ना वीर पुर्खाहरुकाे साैर्यकाे सम्झना गरायाे । तर पछि दशाैँ पटक हरिद्वार-ऋषिकेश जाँदा -गुज्रिँदा एक पटक पनि फेरि यस शहरमा जाने साइत नजुरेकाे कथा पनि हाे, याे ।

दिल्ली जीवनअघिकाे राेचक कथा !

अर्थ पछि खुल्ने छ ! बीचमा ‘इन्टर्भल’ नहुने गरी CVC प्लेनमा उडेर जानुअघि देहरादून revisit गरेकाे घटना सम्झिन पुग्याे, ऊ ।

पहिला त ऊ सन् 1956 सेप्टेम्बरका चिनियाँ कम्युनिष्ट पार्टीको अाठाैँ महाधिवेशनताका चिनजान भएका प्रख्यात भारतीय कम्युिनष्ट पत्रकार निखिल चकवर्तिलाई भेट्न उनकी कम्युनिष्ट सांसद पत्नी रेनु चक्रवर्तिकाे नर्थ एभेन्यूस्थित फ्ल्याटमा पुग्याे।

उसलाई हठात् भेट्दा प्रसन्न भएका निखिलले उसलाई नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी सदस्य भनी चिनाउँदा छक्क परेकी रेनुले केही दिन आफूकहैँ बस्न भनिन् । अत्यन्त मायाप्रेमपाई ४ दिन बस्दा उसले दुवैलाई आमनिर्वाचनकाे पूरै विश्लेषणातमक विवरण बतायाे । यसकाे आधारमा निखिलले पार्टी मुखपत्र ‘New Age’मा, हिन्दी ‘जनयुग’मा लेख पनि लेखेछन् ।

उसले आफू निजी कामले देहरादून जाने बताउँदा निखिलले उसलाई सानाे भाइसरह बिदा गर्दै बाटाे खर्च भनी एउटा खाम हातमा राखीदिए । ५० भारू रहेछ ! त्यतिबेलाकाे गहकिलाे रकम ! दिल्लीकाे प्रख्यात चाँदनी चाैक बजारमा रवाफिलाे प्यान्ट- टीशर्ट किनेर पनि मनग्य खर्च पुगेको !

राती नजिकैकाे रेलवे स्टेशनबाट उ देहरादून लाग्दा, उसले मेलवा देवीकै गीत गुनगुनाउँदै गाएकाे सम्झ्याे: ‘जति टाडा जान्छु लै लै, झन माया लाग्छ, बरि लै । माेहनी लायाै कि, सवारी मेराे रेलैमा ।’

कस्ताे-कस्ताे जीवन भाेगेकाे आफू अहिले कहाँ, के गर्न हिँडेको सम्झिँदा उसलाई आफ्नाे देशकाे, आफन्तहरुकाे ख्यालले अनाैठासँग भावुक बनाइदिएकाे थियाे ।

२०१५ सालकाे वृतान्त !

भाेलिपल्ट बिहान देहरादून पुग्याे । रेलवे स्टेशननजिकै हाेटल रहेछ । त्यहीँ /काेठा लियाे– दिनकाे १० रू. मा एटज्ड बाथरुम भएकाे ! नुहाईध्वाई फ्रेश भई निखिलले दिएकाे पैसाले किनेकाे लेमन कलरकाे टीशर्ट र घ्यू रङ्गकाे ग्याबर्डिन प्यान्ट लगाई उ ब्रेकफास्ट गर्न ओर्लियाे । २ रु . मा डबल अमलेट, बटर जाम टाेष्ट र कफीकाे टन्न ब्रेकफास्ट गरी उ १ रु. मा एउटा टमटम भाडा गरी सिधै Indian Institute of Forestry, Dehradun तिर लाग्याे ! त्यहाँ उसकाे घनिष्ठताका अनेक सम्बन्ध भएकाे बालसङ्गाति, दाजु नृपेन्द्रनाथ रिमाल final year मा पढ्दैथ्याे । हाेष्टेलमा यसरी भेट हुँदा बीचमा जीवनका अनेक ओह्राली- उकालीले गर्दा पात्लिएकाे सम्बन्धले एक्कासी घनिष्ठता लियाे– यसकाे लागि, हात नमिलाइकनै, छाती घ्वाम्ल्याङ्ग नमिलाईकनै खाली अपार प्रसन्नताकाे भाव नै काफी भएकाे उसले झलझली सम्झ्याे ।

फेरि चन्द्रधर उप्रेती, धनमान सिँह बस्नेत, नृपेन्द्र र ऊ समेतकाे चारजना मित्रमण्डलीका सुनाैला समय सम्झदैँ र पुन: पुन: दाेहाेराउँदै अनि देहरादूनका अनेक रमणीय स्थल हेर्दै अनुपम आनन्दका चारपाँच दिन बिताई उ घर फर्केकाे एकएक घटना सिनेमाकाे flash back सरह उसकाे मनपटलमा छाइरह्याे ।

तर, २०६१ सालकाे भदाैतिर बेलायतकाे बर्मिङ्गघम शहरमा छाेरा सुरज रिमालकाे शान्त सुरम्य घरकाे एकान्त काेठामा ‘१९९७ सालदेखि २०१७ साल- एक अवलाेकन’काे शीर्षक नदिइसकिएका जीवनकथाका पानाहरु लिपिबद्ध गर्दा पाे उसले उही २०१५ सालकाे देहरादून बसाईका थप राेचक पक्षहरु थप्न सकेकाे थियोे ।

२०६२ सालकाे पुस्तकमा देहरादूनका थप सम्झना !

देहरादूनले काठमाडौँकै धेरै ठाउँहरुकाे सम्झना गराई उसलाई रमाएकाे थियाे- कतै दक्षिणकाली, कतै बूढानीलकण्ठ, कतै बालाजू त कतै गाेदावरी जाँदाका दृश्यावली पाउँदा । ठूलै संख्यामा नेपालीहरु, जताततै नेपाली भाषामा कुराकानी सुन्दा, याे शहरकाे पूर्व इतिहास सम्झ्याे, उसले । अखण्ड नेपालकाे एक गाैरवशाली भूभाग रहेकाे याे क्षेत्र अंङ्ग्रेज साम्राज्यवादीले नेपाल राज्यविरुद्ध षडयन्त्रात्मक युद्धद्वारा हड्पेकाे थियाे । कालान्तरमा डाेटी भनेर नै चिनिने सुदूरपश्चिमका निक्कै ठकुरी परिवारहरु प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर कँवरका निजी काेपका शिकार भई यही यत्रतत्र घरजम- बन्दबेपार गरी बसेका रहेछन् । निर्वासित जीवनमै पनि आफ्ना पाैरख, इलम एवम् उद्यमले यिनीहरुकै कारण नेपालीहरु ‘बहादुर’, ‘कान्छा’, ‘गाेर्खे’ वा ‘लाहुरे’ भनेर नचिनिने- नबाेलाइने सम्मानित समुदाय भएका भारतमा एकमात्र ठाउँ यही र यहीँ रहेकाे उसले अहिले सम्झ्याे ! यिनैमा आफ्नाे क्रान्तिकारी राजनीतिक गतिविधि र अन्ततः शहीदत्त्वद्वारा आफ्ना जाति, परिवार, जनता र देशकाे कीर्ति बढाउने दशरथचन्दका पुर्खा पनि पर्दथे । यहाँ नेपालीहरुकाे तुलनामा रैथानेहरु नै बरु ‘पाखे’ र ‘काँठे’ देखिन्थ्ये । यहीँ पूर्व राणा प्रधानमन्त्री द्वय देवशम्शेर तथा जुद्धशम्शेरका सन्तानहरु घर- व्यवसाय, परिवहन, कृषि, शिक्षादि क्षेत्रमा लागेर निकै नामी भएका थिए । जुद्धपुत्र शशिशम्शेर त यहाँ नयाँदिल्लीकाे कनाट सर्कस जस्तो वृत्ताकार बजार र अनेक उच्चविद्यालय खडा गरेर उल्लेखनीय भएका रहेछन् ।

यहाँ यिनीहरु जस्ता अनेक परिवारले भारतीयहरुलाई भारत देशमा दाल, भात, डुकु मात्रकाे व्यवस्था हाेइन, घरवार जाेड्नसक्ने पनि गराएका रहेछन् ।

विभिन्न खाले भारतीय सत्ताधिकारी ‘हमने नेपाल काे यह दिया, वह दिया’ उड्किन थाक्दैनन् तर नेपालले र नेपालीहरुले आफूलाई दिएका मरमद्दत चाहिँ सधैँ बिर्सिन्छन् ! याे सम्झदा ऊ बराबर अत्यन्त दुु:खी हुन्थ्याे ।

अब २०७८ सालकाे सम्झना !

इतिहासकाे कालखण्डलाई यसरी टेलीस्काेपका खण्डहरु एकपछि अर्काेमा गाभ्दै गरी राखिए जसै ऊ अब किन हाे किन २०७८ सालमा २०१५ सालकाे देहरादून-भ्रमणकाे स्मरणले अहिले ऊ अनायास अङ्ग्रेज साम्राज्यवादविरुद्ध खलङ्गाकाे युद्ध, मलाउका युद्ध सम्झिन पुग्याे ।

यी युद्धहरुभन्दा दुई वर्षअघिकै त कुरा हाे नि, रुसमाथि फ्रान्सेली सम्राट नेपाेलियन बाेनापार्टले बर्वर हमला गरेका थिए । राजधानी मस्काेलाई कब्जा गरी क्रेमलिन राजदरबारभित्र रुसी सेनाकाे आत्मसमर्पणका लागि उनी सजधजका साथ तयार बसेका पनि थिए । तर पनि उनले रुसी रणनीतिज- याेद्धा मार्शल कुतुजाेभकाे हात हारकाे धुलाे चाट्नु पर्‍याे । महान साहित्यकार लिओ टाेल्सटायले आफ्नाे अमर कृति ‘युद्ध र शान्ति’मा त्याे ऐतिहासिक अवधिमा रुसी सेना एवम् जनताकाे अतुल्य पराक्रमकाे सजीव वर्णन गरेकै छन् ।

इतिहासकाे प्रश्न !

उसले साेच्दै गर्‍याे- दरबार त रुसमा पनि त्यतिबेला दुर्बल थियाे । त्यहाँ पनि षड्यन्त्रकाे ‘बहार’ थियाे- नेपालमा जस्तै । विजय देशभक्तहरुकै भयाे, आधिपत्यकारी सेना हार खायाे । हाम्रोमा पनि त्यत्तिकै शुरवीर एवम् पराक्रमी सेनानायक र जनता थिए । तर हामी जित्नसक्ने भएर पनि हा हार्‍याैँ । किन ? ऊ झनै विचलित भएर साेच्न थाल्याे । इतिहासले छाडेर गएकाे याे प्रश्नकाे उत्तर काे दिने, कसले दिने ? अनि नेपालमा कुन साहित्यकारले अङ्ग्रेज- नेपाल युद्धकाे अथवा खलङ्गाकाे लडाइँकाे वीरताकाे आलेखन गर्ने हाे ?

सन्धिमा हस्ताक्षर गर्दा मुलुककाे धेरै ठूला भूभाग गुमाउनु परेता पनि हाम्रा याेद्धाहरुकाे देशभक्त, राष्ट्रियता र वीरता अक्षुण्णरहेकाे त्यस कालखण्डकाे इतिहास के विस्मृतिमै रहिरहने ? ऊ झनझन दु:खी भई आफैलाई साेधी रह्याे ।

त्यस्ता वीर पुर्खा भएका उसका वर्तमान पुस्ताका शासकहरु विदेशीहरुकाे पुच्छर कन्याउँदै विभिन्न नामधारी चिह्नले आफूलाई देवान ठान्दै शासन गर्दैआएका मुसाका छाउराकाे यस कालखण्डमा देशभक्ति तथा राष्ट्रियताकाे कुरा गर्नु हाँसाेउठ्दाे कुरा हुनेगरेकाे विचित्र विडम्वना भएकाे पनि उसले नसम्झिरहन सकेन ! यस्ताे त ‘अग्रगमन’लाई राेक्ने ‘प्रतिगमनकारी’ डाम लाग्ने नै भयो । उता, ‘जनजाति’का तलबी अधिवक्ताहरुका लागि यस्ताे कुराे सरासर ‘ब्राह्मणवाद’काे नग्नरूप हुने नै भयाे । यिनका लागि बरु चङ्गेज खाँ वा तैमूरलेन वा अक्टरलाेनिआदि ‘वीर’ ठहर्लान् तर हाम्रा पृथ्वीनारायण शाह, नायब बहादुर शाह, भीमसेन थापा, अमरसिँह थापा, कालुपाण्डे, भक्ति थापा, बलभद्रआदि त ‘ब्राह्मणवाद’कै उपज भइहाले– यस्ता सत्यविकृत प्रचार उसले बारम्बार सुन्दै आएकाेले उसमा देशकाे माया झनै उर्लिँदै आयाे ।

अनि आफ्नाकाहरु चाहिँ यतिबिघ्न लाछी, काँथर वा हुतिहारा किन भन्ने प्रश्न उठिरहेकै बेला उसले भारतकाे राजधानी नयाँदिल्लीमा ‘बिजनेस वर्ल्ड’ पत्रिकाकी सज्जा सम्पादिका ज्याेति थापालाई सम्झ्याे । उनैकाे ‘इतिहास यात्रा मलाउ’ नामकाे पुस्तककाे एक भाग रहेकाे ‘सम्झना गाेरखाली वीरता’काे अध्याय उसकाे ‘अवलाेकन’ ग्रन्थ तयार हुनबेलामा उसले टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानकी महासचिव डा मीना आचार्यबाट पाएकाे थियाे । अचम्म !

ज्याेतिकाे जन्म महान जहर सिँह थापाकाे वंशजमा भएकाे रहेछ । कास्की चिसापानी, देउरालीका साहेराम थापाका सुपुत्र जहर थापा र उनका दुईजना भाइ बडाकाजी अमर सिँहकाे नेतृत्वमा नेपाली फाैजमा भर्ती भएका रहेछन्, सन् १७९०मा ।

उसले त्यस पूरै अध्यायलाई आफ्नाे पुस्तकमा राखेर ‘पुर्ख्याैली वीर इतिहासलाई सजीवता प्रदान गर्ने सद्प्रयासमा लागेकी ज्याेति थापा, तिम्राे जय हाेस्” लेखी आभार जनाएकाे पनि सम्झ्याे ।

उसले नभनाेस् पनि किन ? उनी भारतमा बसेर याे भूभागलाई आफ्नै पुर्खाकाे उद्यमथलाे ठान्छिन्, ‘हाम्रा’ विभिन्न रङ्गरूपका चाहिँ नेपालकाे नून खाएर मुलुककाे राष्ट्रियता र सम्प्रभूतालाई, लैनचाैरले अह्राएबमाेजिम, तिलाञ्जली दिँदै ‘सारे जहाँ से अच्छा, हिन्दाेस्तां हमारा’ भन्ने सङ्कल्प- साेझाे गर्न चुक्दैनन् ! हुतिहारा कमारा जस्ता !

देशकाे मायाले अत्यन्त भावुक भईरहेकै बेला ऊ २०१५ सालमा टमटमबाट देहरादून घुम्दा यता देखेकै कुनै वन्यक्षेत्रमा भारतीय साहित्यकार कमलेश्वरले आफ्ना मित्र सुभाष पन्तले जाेगार गरिदिएका घरमा बसेर त आफ्नाे कालजयी उपन्यास ‘कितने पाकिस्तान’ लेखेका हाेलान् भन्ने सम्झन पु्ग्याे । ओहाे, आफ्नी छाेरी सरहकी डा. अरुणा उप्रेतीले उपहार दिएकी यै किताब तीन पटक पढिसक्दा पनि धित न मरेर नै ऊ बारम्बार आफूलाई मनपरेका यसका अध्यायहरु दाेहाेराइरहन्छ । याे पनि वीरहरुकाे कहानी हाे- मृत्युलाई जित्ने औषधिकाे खाेजमा हिँडेकाे एउटा पुरानाे आट्जेक सभ्यताकाे सम्राटकाे अदम्य यात्रा कहानी। यही त हाे, एउटा साहित्यकारकाे एकल विश्व अदालत जसमा अन्यायपीडित न्यायकाे ढाेका ढक्ढकाउन आउँदछन् भने, मानवताविरोधी युद्धअपराधी हिटलर आत्महत्याद्वारा Nuremberg अदालतबाट भाग्न सके पनि यहाँ घिचयाएर ल्याइन्छ, आणविक विनाशक युगकाे आरम्भ गर्ने ट्रूमन र अपराधी अमेरिकी वैज्ञानिकहरु, सिन्ध सभ्यताकाे बैरी माउन्टबेटेन र US- Military- Industrial- Complex रूपी रावणकाे नेतृत्वमा बल्कान सभ्यताकाे विनाशक NATO सर्दारहरुलाई कठघरामा उभ्याईएकाे हुन्छ ।

देहरादून महात्म्यमा २०६२ मा उल्लेख हुन छुटेकाे एउटा महत्त्वपूर्ण प्रकरण याे शहर, स्थान तथा क्षेत्र उसका परम पावन सद्गुरुदेव स्वामी सत्यदेवज्यूकाे अध्ययन, आध्यात्मिक दीक्षाधारण, संन्यास जीवन एवम् शरीर विसर्जनका घटनाका साक्षी रहेकाे थियाे । भारतकाे उत्तराञ्चल प्रदेशकाे यही राजधानी शहर नजिकै हरिद्वारकाे श्रीहनुमान मन्दिर गुरुआश्रममा उसले र उसकी जीवनसँगिनी मधुले उनीबाट गुरुमन्त्रदीक्षाकाे साैभाग्य पाएका थिए। अनि गुरुकृपा नै उसकाे वर्तमान जीवन एवम् कर्मकाे सार्थकताकाे कारणतत्त्व भएकाेले पनि आज यस संस्मरणकाे औचित्य सिद्ध भएकाे आनन्दबाेध भइरहेकाे थियाे, उसलाई ।

यस्तै सन्त एवम सुरवीरहरुकाे चिन्तन- मनन-लेखन गरिरहेकै बेला ऊ आफ्नाे कुलका दीपक, उसकाे पिताले आफ्नाे बाबुसमान सम्मान गर्ने आफ्नाे आदर्शपुरुष सर्दार कविराज शिवनाथ रिमाललाई पनि नसम्झिरहन सकेन ।

He was a phenomenon!

उसले आदरसम्मानपूर्वक एवम् निष्ठाभावले टङ्गाल ठूलाेबुबा, गैह्रीधारा सर्दार बुबा सम्वाेधन गर्ने यी व्यक्तित्त्व आफ्नाे जीवनकालमै एक संस्थानसमान बनिसकेका मूर्धन्य आयुर्वेद चिकित्सक एवम् आध्यात्मिक विद्वान थिए। यिनका बारेमा उसले आफ्नाे ‘अवलाेकन’मा ‘मेराे बुबाका दाजुभाइरु’ शीर्षकमा लामै प्रकाश पारेकाे छ। उन‌ले एकदिन आफ्ना मित्रहरुमाझ कुरामा कुराे चल्दा ‘हामी सब नेपाल भित्रिँदा कछाडमा र हाम्रा आईमाईहरु छिटकाे फरिया बेरेर आएकाे सकार्न कुनै धक मान्नुपर्दैन’ भन्ने उसले सुनेकाे हाे । यहाँकाे सन्दर्भचाहिँ उही देहरादून नगरी नै हाे, जहाँ उनकाे सिद्धि अरु उत्कर्षमा पुगेकाे थियोे ।

२००५ तिर नै ‘श्री ३ महाराज’ प्रधानमन्त्री पद्मशम्शेरप्रति चिफसाहेब पदमा आसीन उत्तराधिकारी माेहनशम्शेर तथा उनकाे मण्डलीकाे मनशाय प्रस्ट भएपछि ‘राजर्षि महाराज’ भएका जुद्धशम्शेरले परिवारसहित अर्घेली छाडेर देहरादून अनाैपचारिक राजनीतिक निर्वासन जीवन राेजिसकेका थिए। उनले अाफ्ना अनेक पटकका जीवनदाता वा प्राणरक्षक सर्दार कविराज शिवनाथ रिमाल पनि आफूसँगै लगे। अनि त्यहीँ भारतका प्रभावशाली उप- प्रधानमन्त्री तथा गृहमन्त्री ‘लाैहपुरुष’ सर्दार बल्लभभाई पटेलकी छाेरी मेनु बेन पटेल राजाकाे दर्बारमा आफ्ना पिताकाे स्वास्थ्यलाई लिएर आइन् । फलत: सर्दार कविराजले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुकाे आग्रहबाट अनेकपटक देहरादून- दिल्ली यात्रा गरिरहनु परेकाे प्रकरण उसलाई आफ्नाे बहुविज्ञ भतिजा ईञ्जीनियर गाैरीनाथ रिमालले सुनाएकाे स्मरण भयाे। आखिर, यी कविराज यस्ता चिकित्सक थिए जसका बारेमा स्विट्जरल्याण्डका मुटु चिकित्सकहरुले राजा त्रिभुवनलाई ‘आफूसँग यस्ता कुशल निजी डाक्टर हुँदाहहुँदै यहाँले उपचार गर्न यति टाढासम्म आउनै नपर्ने’ भनेका थिए ।

विचरा त्रिभुवन ! आफ्नाे दरबारकाे हारेममा, अर्थात् काेठीमा अनेकानेक भित्रेनी राख्ने चरम सामन्ती शेखहरुसँग हातेमाले गर्ने अमेरिकी ‘प्रजातान्त्रिक’ सरकारले नेपालका प्रजातन्त्रवादी राजालाई दुई पत्नीभए बापत अमेरिका आउन भिसा नदिएका कारण जुरिक जानु नपरी अमेरिका नै उपचार गराउन मिल्दाे हाे, तापनि, त्यहाँ पनि यही भन्नेथ्ये ।

तन्नेरीवस्थामा नै विशिष्टता हासेल गरेका हाम्रा डा. मृगेन्द्रराज पाण्डेले तिनै आयुर्वेद चिकित्सककाे देहावसानमा श्रद्धाञ्जली अर्पण गर्न आर्यघाट जाँदा ‘He was a phenomenon’ भनेका थिए ।

यस प्रकारबाट उसकाे दिल्ली गमन नाटककाे पर्दा अब विस्तारै विस्तारै खुल्दैथ्याे ।

आजलाई उसले जय नेपालकाे अभिवादन गर्दै आफ्नाे कथा यहीँ बिसायाे ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button