हजुरीको मलामी र झ्यालकी युवती

कथा नबनेको कथा

गंगा भण्डारी

गहिरो निन्द्राको सपनामा म कहि घुम्दै थिएँ वा कसैसँग भेट्दै थिएँ, जोसँग विपनामा भेट हुन सम्भव नै छैन । या कतै प्रकृतीको सुन्दरतालाई क्यामेरामा कैद गर्दै थिएँ । अँहँ केहि थाहा छैन । तर, बस् गहिरो निन्द्रामा म कुनै संसारको भ्रमण गर्नमा व्यस्त थिएँ ।

अचानक घरमा फोनको घन्टी बज्यो । मन नहुँदानहुँदै आँखा मिच्दै फोन उठाएँ । बुबाको फोन थियो । कान्छी हजुरी बित्नुभयो, पशुपति आओ भनेर भन्नुभयो । खै यति दुखद खबर सुनेर पनि मैले आफूभित्र खासै पिडाको अनुभव गरिनँ ।

हजुरीले आफ्नो पूर्णजिवनकाल बाँचेर मात्रै मृत्युलाई वरण गर्नुभएको थियो । हतार हतार गर्दै पशुपतितिर लाग्यौं हामी । हामी जाँदा हजुरीको शवमा भर्खरै आगो लगाइएको थियो । हाम्रा सबै नातागोता पशुपति आर्यघाटमा जम्मा भएका थिए । कोही हजुरी यस्तो हुनुहुन्थ्यो, उस्तो हुनुहुन्थ्यो भन्ने कुरा गदैथिए तर मेरा आँखाले हजुरीको चिता मात्र देखिरहेको थियो । हजुरीको शरीरमा जति जति आगो बल्दै गयो, त्यति त्यति हजुरीसँग बिताएका पलहरु फिल्म झै मेरा आँखामा कद्न थाले । हजुरीले दशैंमा हात कमाउँदै टिका लगाइदिंदा ‘यो पालिको टिको आगौको निम्तो, दृर्गा भवानीले रक्षा गरुन्, ठूलो मान्छे हुनु, प्रगति गर्नु’ भनेर मलाई दिएका आर्शिवाद मेरो कानमा गुन्जियो । कहिलेकाहिं जाँदा मलाई चिन्नुभयो भन्दा ‘किन नचिन्नु, हाम्री वासुकी कान्छी छोरी त हो नि, मेरी नातिनी’ भन्दै मेरो हात समातेको तस्विर मेरो वरिपरि आयो र हिँड्ने बेलामा ‘अब कहिले भेट हुन्छ, आउँदै गर’ भनेको शब्द मेरो मानसपटलमा सलबलाउन थाल्यो ।

अब म कहिले हजुरीलाई भेट्न पाउने छैन, अब उनले मलाई कहिले दशैंमा टिका लगाएर आर्शिवाद दिने छैनन् । मन भक्कानियो तर खै किन मनले फुपु दिदी खोज्न थाल्यो । यताउति हेर्छु, कहिँ देख्दिनँ दिदीलाई । भिनाजुलाई सोधेँ दिदी खोइ भनेर ? दिदी त हजुरीको चिता नजिकै बसेर रोइरहनु भएको थियो । मेरो कान्छी हजुरीको छोरा हुनुन्थेन, एकजना छोरी मात्रै हुनुहुन्थ्यो । हामीले देखेका थियौं, दिदीले कति दुः ख कष्ट झेलेर पनि हजुरीको हरेक इच्छा पूरा गर्नुभएको थियो । सेवा गर्नुभएको थियो । दिदीप्रति भित्रैदेखि श्रद्धा लाग्यो । सायद तपाईंजस्ता छोरी सबैको भइदिए कसैले छोराछोरा भनेर भन्दैनथे होला । दिदी तपाईलाई सतसत् नमन् ।

हजुरीको क्रिया पशुपतिमै गरिने भइयो र मेरो बुवा कोर्रा बस्नुहुने भयो । हामी त्यहि क्रियापुत्री बस्ने घरतिर लाग्यौं । त्यहाँ त अनगिन्ती मान्छे रहेछन् क्रिया बस्ने । दिक्क लाग्यो । एउटा रुखको फेदमुनी गएर बसेँ । चारैतिर आँखा डुलाउदै थिएँ, मेरा आँखा अचानक एउटा झ्यालमा उभिरहेकी युवतीमाथि अडियो ।

लामा नकोरका कपाल, ब्लाउज नलगाएको, सेतो धोतीले छातीसम्म छोपेको । झ्यालबाट एकतमास आकाशतिर हेरिरहेकी थिइन् । म उनलाई हेरिरहन्छु । हेर्दा लाग्छ, उनी २५ वर्ष भन्दा बढी छैनन् । उनको सेतो धोतीले उनी आफ्नो जीवनसाथीको क्रिया बसिरहेकी छिन्, सजिलै अनुमान लगाउँछु । म उनलाई यसरी एकहोरो हेरिरहँदा पनि उनले थाहा पाएकी छैनन् । उनी त निरन्तर आकाशमा हेरिरहेकी छिन् सायद उनी आफ्नो जीवनसाथीलाई आकाशबाट धर्तिमा आउन आग्रह गरिरहेकी थिइन् । म मनमनै सोच्छु दुबै मिलि कति अनगिन्ती सपना सजाएका थिए होलान्, जीवनको बाटोमा कति लामो साथ खोजेका थिए होलन् तर केही पर नपुग्दै उनी एक्लिन पुगिन् । उफ † दैव पनि ।

अचानक उनका र मेरा आँखा जुध्छन् । झसङ्ग हुन्छु । उनका ती हेराइले मरो हृदयलाई विदिर्ण बनाइदिन्छ । म धरमरिएको अनुभव गर्छु । उनका आँखामा अनन्त शुन्यता मात्र देख्छु, मात्र शुन्यता । भन्छन्, मानिसका आँखा बोल्छन् तर उनका आँखामा शुन्यताबाहेक केहि थिएन । न जीवनप्रतिको इच्छा, न आकांक्षा, न त कुनै सपना नै ।

आफ्नै सपनाहरुको शव बोकेर उनले शुन्यतालाई आत्मसात गरिसकेकी थिइन् । तर उनका आँखाले कसैलाई भने खोजिरहेको थियो । उफ ! उनको खोजी अब कहिल्यै पूर्ण हुँदैन । जसलाई उनी खोजिरहेकी छिन्, ती कहिल्यै नफर्किने बाटो हिडिसकेका छन् । त्यो पनि एक्लै । उनले अबको बाटोमा उनकी श्रीमतीलाई लान चाहेनन् । छाडिदिए यहि धर्तीमा र लागे आफू खै कुन दुनियाँमा जहाँबाट आजसम्म कोही फर्केर आएका छैनन् ।

ती युवतीलाई खै कसले बोलायो उनी त्यो झ्यालबाट हराइन्, मेरो मनमा प्रश्नको मुश्लोहरु छोडेर । बोलुन्जेल, स्वास चलुन्जेल मान्छे जीवित हुने, जब मानिसको ढुकढुकी बन्द हुन्छ तब मानिस मर्ने अरे, उसलाई जलाएर खरानी बनाउनु पर्ने रे, अब ऊसँग कहिल्यै भेट नहुने, पृथ्वीमा उनले छोडेर गएका नातागोताको सम्झनामा मात्र ऊ जीवित रहने, उसलाई माया गर्ने मानिस उनलाई सम्झिसम्झी रुन्छन् । तर, ऊ चाहिँ आफ्ना माया गर्ने मानिसलाई सम्झेर रुन्छ कि रुँदैन होला ? उनलाई आफ्ना मान्छेको सम्झना आउँछ कि आउँदैन होला ? उसले पृथ्वीमा छाडेर गएका अनगिन्ती सपनाहरुको माया लाग्छ कि लाग्दैन होला ? उकुसमुकुस हुन्छु प्रश्नको मुश्लोमा ।

फेरि आँखा त्यही झ्यालमा पुग्छ । सायद म उनलाई खोजिरहेछु, उनको आँखामा रहेको अनन्त शुन्यतालाई हेर्न जसले मेरो मनलाई नै छियाछिया बनाइदियो । फेरि आइन् उनी झ्यालमा र आकाशतिर हेरिरहन थालिन्, मानौं उनी मौन युद्ध लडिरहेकी छिन् जसले उनलाई छाडेर कहिल्यै नफर्कने गरी छोडेर गयो ।

दिदीले बोलाउनुभयो । म उठेर हिँडे र तर मानसपटलमा ती युवती घुमिरहिन् र एउट गीत मेरो कानमा गुन्जिरह्यो, ‘हुँदैन मान्छे मात्रै नजाति, दैव पनि रहेछ पक्षपाति ।’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button