‘आजसम्म ऊ तपाईंको श्रीमान हो’

मुर्दार-१

सविना सापकोटा

‘दुई घण्टाअघि तपाईं नआएको भए केही भन्न सक्ने अवस्था थिएन । अझै पनि के हुन्छ भन्न सकिन्न । रगत धेरै नै गइसकेछ । हेरुम्, सकेको कोशिश हुनेछ’, आइसियुअगाडि कुरुवा बस्ने ठाउँमा बसिरहेकी उनलाई त्यति भन्दै नर्स भित्र गइन् ।

एक्लै के के बोल्दै थिइन्, ‘उबेला गधालाई भन्दा दुःख दियो । यो चाहिन्छ भनेर कहिल्यै भनेन, अहिले आएर मै आउनु परेको छ । मर्ने बेलामा त खोज्दै आउनुपर्ने रहेछ नि ।’

यस्तै यस्तै भन्दै आँखामा आएका आँशु पुछ्दै आइसियु छेउको बेञ्चको छेउमा बसिरहेकी महिलाले मेरो ध्यान तानिरहेकी थिइन् ।

म मेरो साथीको दिदी बिरामी भएर तीन दिनदेखि सरकारी अस्पतालमा दिउँसभरिको लागि पालो दिँदै आएकी थिएँ । मेरो साथीको परिवार भाइको विहेको लागि काठमाडौबाट चितवन आउने क्रममा मुग्लिन नारायणगढ खण्डमा पर्ने काली खोलामा पैरो जाँदा गाडी दुर्घटना भएको थियो । गाडीमा सवार नौ जना मध्ये दिदीको अवस्था अलि गम्भिर भएको हुँदा आइसीयुमा राखिएको थियो भने अन्यलाई जनरल वार्डमा राखिएको थियो । सबैजना निको हुने क्रममा थिए । घरका सबै जना विरामी भएका हुँदा आफन्त, इष्टमित्र र साथीहरु मिलेर रेखदेख गरिरहेका थियौं ।

मलाई आइसियुमा रहेकी दिदीको लागि दिनभरी अस्पताल कुर्नुपर्ने जिम्मा थियो । रातिको जिम्मा साथीकै मामाको छोरा अनुजलाई थियो । त्यसैगरी वार्डमा रहेका अन्य आठ जनाका लागि पनि त्यसरी नै काम बाँडिएको थियो ।

त्यो दिन अस्पतालमा तेस्रो दिन थियो । म बिहान नौ बजेतिर त्यहाँ पुग्दा ती महिला यताउति गरेको देखेकी थिएँ, पुग्नासाथ । अस्पतालमा आउने सबैको ख्याल त हुँदैन । तर ती महिला त्यति आत्तिएकी थिइनन् तर रोइरहेको चाहिँ देखिन्थ्यो, घरीघरी ।

एकछिन त म यताउता डुलेर समय काटिरहेकी थिएँ । भर्खरै आइसियुमा लगेको भएर होला, भित्रबाट घरीघरी ‘भुपेन्द्रको मान्छे आउनुस्’ भन्दै बोलाएपछि उनी जान्थिन् र आफ्नो काम सकेपछि अनुहार अँधेरो पार्दै फेरि त्यही ठाउँमा आएर त्यसले कहिल्यै सुखले बाँच्न दिने भएन भन्दै एक्लै बोल्दै बस्थिन् ।

त्यो क्रम पटकपटक चलिरहेपछि मलाई उनीसँग गएर कुरा गर्न मन लाग्यो । डराइडराई नजिक गएर बसेँ, एकछिन नबोलेरै नियालिरहेँ । बोल्ने बहाना खोज्दै बसेँ एकछिन् । उनी बोलिरहेको बेला प्वाक्क सोधेँ, ‘तपाईंको छोरा ? के भएको ?’ छोरा भनेर मैले यत्तिकै बोल्ने बाहना बनाएकी थिएँ । यति त थाह थियो कि भित्र कोही पुरुष बिरामी छ । किनभने उनले बेला बेला गाली गर्दा पुरुषलाई गाली गर्दा बोलिने शब्द ‘मुर्दार’ भनिरहेको सुनेकी थिएँ ।

उत्तरको प्रतिक्षामा म चुपचाप उनैलाइ हेरेर बसिरहेँ । उनी भने एक निमेष मलाई हेरेर अर्कोतिर फर्केर बसिन् । केही समय बसिसकेपछि उनलाई म बोलको सायद मन परेको छैन होला भन्ने सोचेर उठ्न मात्र लागेकी थिएँ, उनी बोलिहालिन् ।

‘हेर्नोस न्, जसले जिन्दगीभर तँ मेरो कोही होइनस् भनेर मरे बाँचेको ख्याल गरेन, आज त्यसैको मान्छे खोइ भन्दा म आउनु परेको छ’ भन्दै आँखाभरी आँशु बनाएर मतिर फर्किइन् । मैले महसुश गरेँ कि उनी भित्रैबाट कमजोर भएकी छिन् र डाँको छोडेर रुन चाहन्छिन् । यदि म उनकी आमा अथवा साथी कोही भएको भए गल्र्याम्म अंगालो हालेर रुने थिइन् होला । तैपनि आफुलाई सम्हाल्न खोज्दै थिइन् ।

म भने नसोचेको उत्तर पाउँदा के गरुम के गरुम को अवस्थामा पुगेँ । एकछिन त आफैसँग रिस उठ्यो किन जान्ने भएर सोध्नु परेको होला भनेर । अनि हत्तपत्त आफुसँग भएको पानीको बोतल उनीतर्फ तेर्साएँ । लाग्यो, पानी खाएपछि उनलाई केही सहज हुन्छ कि ? उनले पानी खाइन् । म हेरिरहेँ ।

केही समयपछि उनी अलि उजेली जस्ती देखिइन् र मतिर फर्केर बिहानदेखि अहिलेसम्मका सबै बृतान्त सुनाइन् ।

‘बिहानै पाँच बजे टिनिनि फोनको घण्टीसँगै मेरो निद्रा खुलेको थियो । फोन उठाउनासाथ उताबाट आवाज आयो, ‘भुपेन्द्र दनै तपाइको को पर्नुहुन्छ ?’ म एकछिन अलमल परेँ । के भन्ने साचिरहँदा उताबाट अलि चर्को स्वरमा ‘को पर्नुहन्छ भनेको, किन नबोलेको’ भन्ने रिस मिसिएको आवाजले मलाई फेरि झस्कायो र हत्तपत्त ‘श्रीमान’ भन्ने जवाफ दिएँ । त्यसपछि अलि सहज हुँदै उताबाट ‘भरतपुर अस्पताल प्रहरी युनिटबाट फोन गरेको । तपाईको श्रीमान हिजो राती दुर्घटनामा परेर गम्भिर घाइते हुनुभएको छ । अस्पताल आएर विरामी बुझिदिनुपर्यो’, मैले केही भन्न नपाउदै फोन काटियो ।’

लामो सास तान्दै उनले उनले बोल्दै गइन्, ‘एकछिन त म केही सोच्नै नसक्ने भएर बसिरहेँ । सपना हो कि विपना जस्तो पनि भयो । एक्कासी छोरीले ‘कसको फोन हो ममी, यति विहानै ?” भन्दा पो थाह पाँए त्यो सब कुरा बिपनामै भएको रहेछ । मैले सबै कुरा विस्तारमा छोरीलाई सुनाँए । छोरी पुरै आक्रोशित हुँदै पर्दैन है जान, जे सुकै होस“ भन्दै गाली गरी । मलाई भने के गर्नु के नगर्नु भइरहेको थियो ।’

उनी बोलिरहँदा मलाई एकपटक दिदीको अवस्था हेर्न भित्र जाने अनुमति पाएर म भित्र जानुपर्ने भयो । ‘एकछिनमा आउँछु है’ भन्दै भित्र गएँ । दिदीलाई सुधार भएको पाएर म खुशी हुदै बाहिर आँए र फेरि उनका कुरा सुनाउन आग्रह गरेँ, ‘अनि कसरी आउनुभयो त, छोरीले नजानु भनेपछि पनि ?’

उनी फेरि बोल्न थालिन्, ‘आमा छोरी दुबैजना चिया नास्ता खाएर बसिरहेका थियौं । फेरि फोनको घण्टी बज्यो । भित्रभित्र अर्कै खालको डर लागिरहेको थियो । तैपनि फोन उठाएँ । उताबाट महिलाको कर्कश आवाज आएको थियो, ‘तपाई भुपेन्द्रको श्रीमती होइन, किन यतिबेलासम्म नआउनुभएको, विरामीको अवस्था विग्रिसक्यो ।’ यति सुनेपछि मैले बल्लबल्ल आँट गरेर आफुहरु अहिले सँगै नभएको र चार महिनाअगाडि नै सम्बन्ध विच्छेदको लागि निवेदन दिइसकेकाले अस्पताल पनि आउन नचाहेको व्यहोरा एकै सासमा सुनाइन् ।’

उनले भन्दै गइन्, ‘तर पनि ती फोेन गर्ने महिलाले मेरो कुराको वास्तै नगरी ‘आजसम्म ऊ तपाईको श्रीमान हो, त्यसैले तपाई आउनुपर्छ । नआएदेखि प्रहरी भ्यान लिएर लिन आउँछौ’ भन्ने चेतावनी आएपछि मैले विस्तारै ‘हुन्छ’ म आउँछु भनेर फोन राखेँ ।

(भोलि क्रमशः)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button