
र, म पनि ‘मोबाइल’धारक भएँ
रामहरि अधिकारी
कभरमोडलः लीला अनमोल
मैले पहिलो पटक मेरो राजनीतिकर्मी साढुदाइको पछिपछि लागिरहेको एकजना फाईँफुट्टीको साथमा मोबाइल देखेको हो, २० बर्षअगाडि । देशमा जटिल राजनितिक अवस्था भएको बेला त्यो मान्छेले आफ्नो कम्मरमा भिरेको मोबाइललाई वाकिटकि र त्यो मोबाइलधारकलाई आफुलाई पछ्याइरहेको गुप्तचर भन्ठानेर मेरो साढुदाईको सातो गएको रहेछ । मैले मेरो कुशाग्र बुद्दिको प्रयोग गरी त्यो भाँडो वाकिटकी नभै मोबाइल भएको पत्ता लगाएपछि साढुदाइले लामो सास फेर्नु भएको थियो ।
तर त्यो फाईँफुट्टिसित मोबाइलको बारेमा विस्तृत रुपमा बुझ्ने मौका भने मिलेन ।
त्यसपछि मेरै अफिसका एकजना हाकिमदाइको साथमा मोबाइल देखेको हो, त्यो घटनाको झन्डै एक बर्षपछि । मोबाइलको मूल्य ५० हजार पर्छ रे भन्ने सुनेकोले उनीसित मोबाइल मागेर हेर्ने वा त्यसको बारेमा विस्तृत रुपमा बुझ्ने आँट भने आएन । त्यतिबेला नेपालमा मोबाइल बोक्ने मान्छेलाई समाजको धनाढ्य र संभ्रान्त मान्छे भनेर मानिन्थ्यो । मान्छेहरुले अरु दुनियाँलाई आफू मोबाइल मालिक भएको देखाउन आफ्नो कम्मरमा मोबाइल भिर्ने गरेको देखिन्थ्यो । त्यहि भएर ‘भारतको दिल्लीमा मोबाइल बोक्न चाहने तर किन्न नसक्ने मान्छेहरुले मोबाइलको खोल लिएर खल्तीमा राखेर हिँड्छन् र दुनियाँलाई आफू संभ्रान्त भएको भ्रम दिन्छन् रे’ भन्ने सुनेको थिएँ ।
२०६३ को परिवर्तनपछि भने देशमा मोबाइलको बाढी नै आयो । त्यतिबेला एकपटक मोबाइल वितरणको लागि दूरसंचारमा फाराम खुलेको थियो र मेरो अफिसका धेरै साथीहरुले त्यो फाराम भरेका थिए । मैले भने सिम कार्ड र मोबाइल सेटको सम्बन्ध र भिन्नता नबुझेको हुँदा झन्झटिलो ठानेर फाराम भर्ने जाँगर गरिनँ । केहि समयपछि धेरै साथीले हातहातमा मोबाइल सेट लिएको देखियो । तर, मेरो हातमा भने थिएन । हाकिमसाब र केहि सहकर्मीले तपाईँ त प्रविधी नै नचिनेको मान्छे रहेछ । खे तपाईँले मोबाईल लिएको ? भनेर खिसी गरे ।
त्यसको केहि समयपछि देशमा मेरो मोबाइल (अहिलेको एनसेल) नामको निजी कम्पनीले सहज रुपमा मोबाइल वितरण गर्न थाल्यो र मैले पनि मेरो मोबाईलको ९८०३२ वाला सिम र रु ३२ सयमा मोटोरोलाको एउटा सेट लिएँ । र, म पनि मोबाइलधारक भएँ ।
एक दिन मेरो मोबाइल चल्दै नचल्ने भयो । म कुदेर मोबाइल पसल गएँ अनि पसलेलाई देखाएँ । पसलेले म बनाएर राखिदिन्छु, एक घन्टापछि आउनुस्ु भन्यो । एक घन्टापछि जाँदा मोबाइल बनिराखेको रहेछ । त्यसवापत सधन्यवाद रु २ सय ५० तिरेँ ।
केहि दिनपछि मोबाइल फेरि त्यसरी नै बिग्रियो । यसपाली भनेरु ५० तिरे पुग्यो । किन मर्मत शुल्कमा यत्रो फरक पर्यो भनेर बुझ्दा त मोटोरोलाको सेट बेलाबेला आफैँ ह्यांग हुँदो रहेछ र एकपटक स्विच अफ गरेर फेरि अन गर्ने बित्तिकै त्यसले पूर्ववत् काम गर्दो रहेछ । तर पसलेले तिम्रो मोबाईल बिग्रेको रहेछ, मैले मर्मत गर्दिएँ भन्दै मेरो पैसा टप्काएका पो रहेछन् ।
त्यो थाहा भएपछि त बिना खर्च आफै मोबाइल मर्मत गर्न सक्ने भैहालेँ ।
त्यसको केहि समयपछि त्यतिबेला बजार गरम गरिरहेको नोकिया सेटमा मेरो स्तरोन्नति भयो ।
मेरी जीवनसंगिनीले यसमा रिचार्ज गर्ने भनेर सोध्दा मैले एउटा मोबाइलबाट अर्को मोबाइल जति पटक ठोक्यो, त्यति रुपियाँ रिचार्ज हुन्छ भनेर जिस्क्याएको अस्ति जस्तै लाग्छ ।
सन् २००७ मा एउटा छोटो कोर्सको लागि छात्रवृत्तिमा फिलिपिन्सको लसव्यानोस विश्वविद्यालय जाने मौका मिल्यो । त्यहाँबाट फर्किँदा छात्रवृत्तिबाट बचेको रकमबाट नेपाली रु १२ हजार बराबरको मोबाइल किनेर ल्याएँ । नेपाल फर्केर त्यो मोबाइल चलाउन पनि राम्ररी सिकेको पनि थिइनँ, मेरो जागिरे थलो हेटौँडाको एउटा चश्मा पसलबाट त्यो हरायो । मैले चश्मा पसलको सोकेसमाथि राखेर चश्मा हेरेँ अनि मोबाइल त्यहिँ बिर्सेर १५ मिनेट परको अफिस फर्केँ । अफिस गएर हेर्दा साथमा मोबाइल नभेटेपछि तुरुन्तै चश्मा पसल फर्केर हेर्दा मोबाइल गायब ।
त्यति रहर गरेर किनेको झन्डै एक महिनाको कमाई बराबरको मोबाईल हराएको हरायै भयो ।
त्यसपछि सन् २००८ को फरवरीमा वर्ल्डभिजनको तर्फबाट एउटा अन्तराष्ट्रिय कार्यक्रममा भाग लिन भारतको चेन्नई जाने मौका मिल्यो । त्यतिबेला पनि मैले त्यहाँको चिनोस्वरुप एउटा मोबाईल किनेर ल्याए भारु ८ हजारमा । मअफिसभित्र वा कुनै पनि कार्यक्रमा रहेको बेला घन्टी आउँदा अनावश्यक हल्ला हुन्छ भनेर म मोबाइललाई प्राय साईलेन्ट मोडमा राख्ने गर्छु ।
त्यतिबेला पनि मेरो मोबाइल साईलेन्ट मोडमैै हुने गर्थ्यो । भारतबाट फर्केको केहि दिनपछि पनि सधैँ झैँ अफिसबाट घर फर्किँदा रत्नपार्कबाट किर्तिपुर जाने माईक्रो बस चढेँ । बसभित्रको भिडमा मिसिने बित्तिक्कै एउटा पाकेटमारले मेरो खल्तीबाट मेरो मोबाइल निकाल्यो । भिडभित्र मान्छे नदेखे पनि मैले त्यसको हात समातेँ । तर, त्यसले आफ्नो हात फुत्कायो । मैले मेरो मोबाईल चोरी भयो भनेर हल्ला गरेँ । र, अन्य यात्रुहरुले आफ्नो मोबाइल दिँदै आफ्नो मोबाइलमा कल गर्नु भने । मेरो मोबाईल साइलेन्टमा भएकोले पत्ता लाग्ने कुरै भएन ।
तर गाडी रोक्न लगाएर सबै यात्रु झारेर सबैको खल्ती जाँच गर्नु पर्थ्यो । तर, त्यति बुद्धिया आँट आएन । त्यो पनि हरायो ।
बेलायतबाट फर्किँदा नेपाली रु १ लाख जति परेको सामसुङको राम्रो मोडेलको मोबाइल उतैबाट ल्याएको थिएँ र त्यहि चलाउँदै थिएँ ।
२०१७ को अन्तिमतिर म दैलेखमा जागिर गर्थेँ । त्यतिबेला खल्तीबाट मोबाइल घरी घरी खसिरहने हुँदा झोलाको खल्तीमा राख्ने गरेको थिएँ । र, एउटा शनिबार बिहान लुगा धुन याँमानको बाटामा सरफ पानी राखेर सारा कपडासँगै झोला पनि चुर्लुम्म डुबाएँ । झोलाभित्र मोबाइल डुबेको यादै भएन । साँझतिर झोला धुँदा पो मोबाइल टक्रक्क गर्यो । मोबाइललाई दुई दिनसम्म घाममा सुकाएँ । तर, के गर्नु बेलायतबाट ल्याएको त्यति महँगो मोबाइल पनि पानीमा डुबेर शहीद भयो ।
त्यसपछि सुर्खेतमा जागिरे भएको बेला एउटा ग्रोसरी पसलमा छिर्दा त्यसको काउन्टरको टेबलमा मोबाइल राखेर सामान लिन थालेँ । सामान लिएर पैसा तिर्न ५ मिनेटपछि काउन्टरमा फर्किँदा काउन्टरमा ३,४ जना ग्राहक थिए तर टेबलमा मेरो मोबाइल थियेन । मैले मेरो मोबाईल खै भन्दै साहुनीको मोबाइलबाट मेरो नम्बरमा कल गरेँ । घन्टी गयो तर उठेन ।
समस्या उहि यानिकि मोबाइल साइलेन्ट मोडमा हुनुको कारण त्यहिँ भएको चोरले हेर्दाहेर्दै मोबाईल टप्कायो । म त्यहाँबाट कुदेर १० मिनेट परको जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गरेँ । त्यति बेला भने मोबाइल स्विच अफ भएको थियो ।
प्रहरीलाई सबै कागजपत्र तुरुन्तै बुझाए पनि त्यहाँबाट आजसम्म मेरो मोबाइल भेटिएको खबर पाएको छैन ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



