
… अनि मैले घर छाडेँ
मेरो अस्तित्व के ? म को हुँ ?
आशिष खरेल
हेलो ! म राज, अहिले म मेरो सम्पुर्ण पढाई सकेर ड्याडको अफिस समाल्दै आइरहेको छु ।
एकदिन मेरो दिमागमा एक अनौठो प्रकारको प्रश्न उत्पन्न भयो । जसको जवाफ मैले दिन सकिनँ, जुन प्रश्न थियो, ‘म को हुँ ?’
म २०५५/०३/०५ को दिन काठमाडौं जिल्लामा जन्मेको हुँ । अलि हुनेखानी परिवारमा जन्मेको हुँदा मैले सानैदेखि केही कुराको खाँचो परेको अनुभव गरेको छैन । सानोमा केही चाहेमा सब कुराहरु सजिलै पाउँथे । चाहेका सबै कुराहरु सजिलै पाउँदै आएको हुनाले होला, मलाई केको कति महत्व छ भन्ने कुरा राम्ररी थाहा थिएन । मलाई भोक, पिडाको अनुभवसमेत कस्तो हुन्छ भन्ने राम्ररी थाहा थिएन । किनभने, भोक लाग्नुअघि नै सबै परिकार खान पाउँथे । अलिकति घाउचोट लाग्ने बितिकै ठुल्ठूला चिकित्सकबाट उपचार पाउँथे । त्यसैले गर्दा होला, स्कुल, कलेज समयमा कुनै प्रकारको अभावको अनुभूति पाइन ।
तर, अचानक दिमागमा त्यस्तो प्रश्न आयो कि जस्को जवाफ मैले आफुले आफुलाई दिन सकिनँ । अनि मैले सोचेँ, सानैदेखि चाहेको सब पाउँदै आएको छु तर ती सब मेरा ममड्याडका मेहेनतको पसिना हुन् । सबले मलाई मुकेशको छोरा भनेर चिन्छन् । तर कसैले तिम्रो अस्तित्व के हो भनेर सोध्यो भने म मुकेशको छोरा हुँ भन्नेबाहेक केही अरु जवाफ थिएन । तर, म आफ्नो पहिचान मेरो ड्याडको नामबाट मात्र नभई म यो हुँ भनेर चिनाउन मैले घर छाडेर अन्तै गएर केही गर्ने निधो गरेँ । अनि मैले घर छाडेँ ।
घर छाडेको दिनको साँझतिर मलाई खोज्न थालिसकिएछ छ । तर, म भने घरभन्दा निकै टाढा पुगिसकेको थिएँ । घरबाट टाढा एक्लै हिँडेपछि आफ्नो खान बस्नको लागि केही गर्नैपर्यो । मैले सानोतिनो काम गरेँ । म लेख्नमा अलि राम्रो थिएँ । त्यसैले मैले काम गर्दै एउटा पुस्तक लेख्ने निधो गरेँ र मैले २ महिनामा ‘स्मल बेबी’ भन्ने पुस्तक लेखेँ । तर, त्यो सफल हुन सकेन । तैपनि मलाई आफ्नो पहिचान सबलाई दिनु थियो । त्यसैले मैले असफलतालाई पछाडि छाड्दै एकपछि अर्को गर्दै पुस्तकहरु प्रकाशन गरेँ । तर, चाहेको जति उपलब्धी हाँसिल गर्न सकिनँ । तैपनि मैले प्रयास जारी राखेँ । अनि मैले लगभग १ सय २५ दिन लगाएर ‘अ पिसफुल लाइफ’ नामक पुस्तक लेखी प्रकाशन गरेँ, जुन पुस्तकले मलाई एक नयाँ सुरुवातको हौसला प्रदान गर्यो, जुन पुस्तक बजारमा यत्रतत्र फैलियो । सबले त्यो पुस्तक मन पराइदिनु भयो । त्यस दिनपछि पनि मैले थुप्रै पुस्तक, निबन्ध, कविता, काव्य, महाकाव्य आदि लेखेँ । ती सबै प्रकाशनहरु सफल हुँदै गए । त्यसपछि मैले पछाडि फर्केर हेर्नू परेन । ती सब संघर्ष गर्ने समयमा मैले भोक, पिडा, चोट सबकुरा कस्तो हुन्छ भन्ने अनुभव गरेँ । साथै मैले आफु र आफ्नो प्रतिभालाई पनि चिन्न सकेँ ।
मैले मेरो लेखबापत थुप्रै सम्मान, पदक र पुरस्कारहरु पनि र्पाँ । अनि म करिब ७ बर्षपछि घर फर्के । जब म घर पुगेँ, ममड्याडले ‘बाबु ! किन यसरी हिँडिस्’ भन्दै हुनुहुन्थ्यो । तर, मैले केहि नबोली ममड्याडलाई झ्याम्म अंगालो मारेँ । उहाँहरु केही बोल्नसक्नु भएन र हिँड् बाबु भन्दै भित्र लग्नु भयो । अनि मैले फेरि ड्याडको अफिसमा काम सघाउँदै, लेख पनि लेख्दै गउँ । पहिले सबले मुकेशको छोरा भनेर चिन्ने गर्थे । तर अहिले भने मुकेशको सहित्यकार छोरा भनेर चिन्छन् ।
अहिले पनि राती सुत्ने समयमा मेरो दिमागमा यो प्रस्न आउँछ, ‘म को हुँ ?’ तर अहिले म जवाफविहिन छुइनँ । अहिले मुस्कुराउँदै म यो प्रश्नको जवाफ आफुले आफूलाई दिन सक्छु, ‘म साहित्यकार हुँ ।’
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



