
बलेसीमा जून पोखिँदा थाप्ने भाँडो छ किन्नुपर्ने
कविता: यायावरीय चरित्रहरू
सुमन घिमिरे ‘अग्रिम‘
सर्लाही
निकै अबेरसम्म –
अत्याउँने सुनामी बनेर पर पर …
कता- कताबाट
एक हुल सपना आएर बिथोलिरहन्छन् बारम्बार !
रुन्चे विद्रोहका पाइलाहरू
निस्सासिएर घोप्टो पर्दा
कतै घाम लाग्छ त कतै कलेँटी पर्छन्
आदिम आवाजहरू ।
ऐंठन हुन्छ शरीरमा
ऐंजेरु पलाउँछ समाजमा
भइदिन्छ विरक्त समय पनि
बेला बेलामा निठुरी परदेशी झैँ
अनि,
जीवनका अभिशप्त काँडाहरू बोकेर बरालिन्छन्
साइबेरियाका मैदानमा
जीजिविषाका यायावरीय चरित्रहरू ।
कोही उकालो,
कोही ओरालो,
कोही लमतन्न झैँ लाग्ने दमारहरू
पर्गेल्दै लाग्छन् –
एक अँगालो उज्यालो भेट्न
र, एक हुल सपनाको कलिलो घाम ओच्छ्याउन ।
छन् बाँकी धेरै कुरा गर्नुपर्ने !
बलेसीमा जून पोखिँदा- थाप्ने भाँडो छ किन्नुपर्ने,
दलानमा घाम पोखिँदा- थाप्ने डोको छ बुन्नुपर्ने,
अँगेनोमा भाँडो बसाल्न
बटुल्नुपर्ने छन् झिँजामिजाहरू थुप्रै थुप्रै ।
यायावरीय चरित्रहरू
भएका छन् एकोहोरो अचेल !
सायद,
बरालिएर गएका छन् सपनाका ठेलीहरू
भाले बास्न नपाउँदै
चकमन्न रातमा ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)