
श्रीमानको कन्फेसनः ओशोले त्यसै लेखेका होइन रहेछन्
छोटो कथा
दीपलभ बुढामगर
रोल्पा, रानीमाला, हाल: काठमाडौं ।
कमजोरी मेरै हो । न कुनै रामो काम पाएं न धेरै कमाएर मिठो मसिनो खुवाउन सकेँ । उसै पनि बेरोजगारीले पिल्सिएको मेरो देश । देशभित्रको एक बेरोजगार नागरिक म ।
विकल्पको रुपमा विदेशिनुपर्ने बाध्यता । उसै पनि एकचोटी विदेशमा ७ वर्ष बसेर नआएको पनि होइन । साहुको ऋण तिर्दा तिर्दा आमा बाबाको बुढेशकालको रोगको उपचार गर्दा गर्दा, छोरा छोरीलाई हुर्काउँदा, पढाउँदा खिएका मेरा हात गोडाहरु । के पुग्थ्यो त्यति जाबो पैसाले । घर किन्दा ल्याएको ऋण अझै तिर्न बाँकी छ । फर्किने समयमा न आमा देख्न पाए न बाबा । अहिले परिवारमा म, छोरा छोरी र मेरी जीवन संगिनी । जसोतसो गुजारा चल्दै छ ।
जीवन त्यसै पनि सोचेको जस्तो हुँदैन । संघर्षमै बिताएको मेरो जीवनको अभिन्न अंग हुन मेरी श्रीमती । जतिसुकै अप्ठेरो परे पनि मुसुक्क हाँसेर मनको पिडा टाढा बनाउने कोशिश गरिहन्छिन् । कहिलेकाँही धिक्कार लाग्छ कि मैले सुखमय परिवारमा हुर्किरहेकी एक सुशोभित केटीलाई प्रेमका हरेक सपना देखाएर नर्क जस्तो जीवनमा ल्याएछु क्यारे ।
सहरका हरेक गल्लीमा डुल्दै रमाउँदै हुर्किएकीलाई मैले झुपडीमा ल्याएर खडा गरेको छु । तर उनले कहिल्यै मसँग असहजता भने पोखिनन् । खेल्न त उनको मनमा पनि अनेकौँ असन्तुष्टिका शब्दहरु खेल्छन् होला । पोख्न नसक्नुमा सायद मलाई दुख महसुस गराउन नचाहेर पनि हुन सक्छ । हिजो घरमा ल्याउँदा पनि उनले अब केही समयपछि कमाएर सुन्दर घर बनाइहाल्छौ नि भनेर उल्टो साहस दिन्थिन् । आज उस्तै अवस्थामा हुँदा पनि परिस्थितिसँग नडराउनु भन्छिन् । ओशोले त्यसै लेखेका होइन रहेछन्, नारी परिवार मजबुतीको जननी हुन् । आज महसुस गर्दैछु ।
रामो रामो वस्त्रमा सजिएर अरु जस्तै गरी हिँड्न कति मन हुँदो हो । शिरदेखि पाउसम्म धपक्कै गहनाले ढाकेर हिँड्न पनि मन हुँदो हो । विचरी ! न हातमा छपक्क चुरा छ न छोरा छोरीलाई पार्कमा घुमाउँदा फोटो खिच्न गतिलो मोबाइल नै । छोराछोरीलाई पनि होलसेल पसलबाट आएका सस्ता कपडामा ओडाउनुबाहेक विकल्प छैन । छोरा छोरीले पनि कस्तो गरिब परिवारमा जन्म लिइएछ भनेर चित्त दुखाउँदा हुन् । तर, के गरुन् !
मुसुक्क हाँसेर मनको पिडा भुलाइदिने मेरी जीवनसाथी । म बोलेर व्यक्त गर्न सक्दिन कि तिमीलाई म कति माया गर्छु । घरमा खुसीको दियो बालिदिने लक्ष्मी समानकी तिमी नभई तिमी मेरी लक्ष्मी नै हौ । तिमी जस्तै सकारात्मक व्यवहारमा निपूर्ण नारी पाउनु मेरो अहोभाग्य हो ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



