
बीचैमा देउता छिरेपछि
लघुकथाः ईश्वरका सन्तान
हरिप्रसाद गौतम
नरहरि बाजे बिहान सबेरै निस्केका थिए । उनी निस्केको आधा घन्टा पनि नबित्दै हर्केकी छोरी आएर बाजेलाई बोलाई । उनी बिहानै गइसकेको कुरा उनकी छोरी सुधाबाट थाहा पाई । यति सुन्नासाझ आफू पनि कचहरीतिर लागी ।
हिजो हर्केको छोराले गरेको बालसुलभ हर्कतले गाउँ तातिएको रहेछ । पसले बाजेले हर्केको छोराले कार्टुनका सबै पोकाको मूल्य बराबरको खानेतेलको पैसा तिर्नुपर्ने जिकिर गर्दै कचहरी डाकेका रहेछन् । जानीजानी छोएको होइन भन्दै हर्केको छोरो रुँदै रहेछ । त्यत्रो धेरै तेलको पैसा ब्यहोर्न नसक्ने अडान हर्केले लिएछ । बुद्धिजीवीमध्ये केही आजको जमानामा पनि यस्तो विभेद भन्दै त्यहाँबाट उठेछन् । भिडभाडको बीचबाट एकजनाले पसलेका विरुद्धमा जातीय भेदभावको मुद्दा लगाउने कुरा गरेपछि पसले हच्किएछ । मुद्दाले साँच्चै ठूलो रुप लिने डरले नरहरिबालगायत उपस्थित सबैले यो सबै तेल एक एक पोका बेहोर्ने उपाय सुझाएछन् र हामी सबै एउटै ईश्वरका सन्तान भएकाले सबै मान्छे बराबर हौँ । अबदेखि कसैले पनि भेदभाव गर्ने छैन भन्ने भाषण छाँटेछन् । परर्र ताली बजेपछि कचहरि टुङ्गिएछ ।
साँझपख तेलको पोको हातमा लिएर घर आइपुगेका बाजेको अनुहारतिर हेर्दै छोरी सुधाले आजको छलफल कसरी टुङ्गियो ? भन्दै सोधिछ । बाजेचाहिँ तेलको पोको घरबाहिर बस्तुलाई कुँढो दिने ठाउँतिर थन्क्याउँदै पानीको छिटो हाली घरभित्र पसेछन् ।
बाजेका पछिपछि भित्र पसेकी छोरीले यस्तो महान् बाबाले पनि छिटो हाल्ने अनि आमाले महिनावारी बारेर छुट्टै बस्न सुहाउँछ त ? भनी सोध्दा बाजेले हामी मान्छेले छुवाछूत नबारे देउताको पूजा गर्न त भएन नि भनी पन्छिएछन् ।
बीचैमा देउता छिरेपछि बोल्नै भनी उप्किएको सुधाको मुख बन्द भएछ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)