विभेदकथाः एक कप चिया


मिरा गोतामे

असारको महिना । सिमसिम झरी परिरहेको थियो, छायाँ अफिसबाट घर फर्कदा ।

दिनभरीे दर्किएको पानी केहि मत्थर भएको थियो, रोकिएको थिएन । दिनभरीको एकोहोरो झरीले उसलाई काममा मन लगाउनै दिएन । चिसोपनको अनुभव भइरह्यो । घरकै मिठो दुधको चियाको याद आइरह्यो । पटक पटकको कालो चियाले पनि उसको धीत मरेकै थिएन । दुधको चियाको पारखी नै हो छायाँ । तर, अफिसमा त कालो चियामा नै चित्त बुझाउनु पर्छ उसले ।

दुध चिया त हाकिमहरुका कोठा कोठामा मात्र पुग्छन्, बुट्टेदार सेरामिक कपमा । उनीहरुजस्ता साधारण कर्मचारीले भेट्ने त कालो चिया नै हो, त्यो पनि स्टीलका गिलासमा । आफ्नो भान्छाकोठाभरी भनेजस्ता डिजाइन र साइजका सेरामिकका कप प्लेट सजाएकी छे उसले । तर के गर्नु ? अफिसमा चाँहि ओठै पोल्ने गरी कालो चिया पिउनु पर्ने बाध्यता ।

मान्छे आफ्ना विचार र व्यवहारले अरुभन्दा अलग हुनुपर्ने हो । तर, फरक कपमै चिया खाएर भए पनि आफूलाई अरुभन्दा अलग देखाउन खोज्ने प्रवृत्ति हुँदो रहेछ मान्छेमा । यो पनि एक किसिमको विभेद नै हो भनेर जो कोहिले बुझ्न नसक्ने रहेछन् ।

यस्तो झरीबादलको मौसममा दिनभरी कार्यालयमा खटिनु पर्दा ऊ आफ्नो माइतीघरलाई मिस गर्छे । दिदी, ऊ र भाइ एउटै बेडमा एउटै ब्लाङ्केट ओढेर पपकर्न खाएका पलहरु बिर्सन सक्दिन छायाँ । त्यसमाथि पानी दर्कियो कि घरकी सहयोगी सरस्वती दिदीले मिठो चिया पकाएर दिइहाल्नु हुन्थ्यो । आफैले केहि गर्नु पर्दैनथ्यो, विवाहअघि ।

जागीरे भएपछि विवाह भएको हो उसको । दुई वर्ष भयो वैवाहिक बन्धनमा बाँधिएको । जागीर र घरायसी काम एकैचोटि धान्नु पर्दाका धेरै कठिनाईहरु भोग्नु प¥यो उसले । उसको जीवन नै रफ्तारमा बित्न थाल्यो । खाएका गाँस राम्ररी निल्न नपाउँदै अफिस हिँडेका घटनाहरु त आम बन्न थाले । कुन दिन त्यहि गाँस अड्केर इहलीला समाप्त हुने पो हो कि जस्तो ।

घर फर्कदै गर्दा मौसमको चिसोले उसलाई माइतीघरकै याद दिलाइ रहेको थियो । यस्ता दिनहरुमा उसको बुबाले अफिसबाट घर आउँदा खसीको मासु ल्याउनु हुन्थ्यो । अनि आफै मिठो पारेर पकाउनु हुन्थ्यो । आमाले जीरा पड्काएर बास्ना आउने गरी रायोको साग भुट्नु हुन्थ्यो । टिम्मुर हालेर सिलौटामा पिनेको गोलभेंडाको अचारसँग खसीको मासु र रायोको साग खाँदाको बेग्लै रमाइलो हुन्थ्यो ।

त्यो दिन उसले पनि खसीको मासु किनेर लाने विचार गरी । मासु पसलमा छिमेकीसँग भेट भयो । पसलेले मासु काटुन्जेल यताउताका कुरा भए छिमेकी दिदीसँग । फेरि सँगसँगै घर फर्के उनीहरु । दिदीको घरनजिकै आएपछि उनले छायाँलाई चिया खान कर गरिन् । छायाँलाई पनि यो प्रस्ताव ठीकै लाग्यो । दूधको चिया पिउन उसलाई मन त थियो नै । घर पुगेपछि पनि एउटी बुहारीलाई कसले पो चियाको लागी सोध्छ र ?

‘हस्’ भनेर उसले स्वीकृती जनाई । दिदीकोमा चिया पिएर फर्कदा अलि ढिलो भईहाल्यो । उसका श्रीमान पनि घर आइसक्नु भएको रहेछ । अरु बेला ढिलो हुन्थ्यो उहाँको । अरु बेलामा झम्टनै खोज्ने सासूको व्यवहार नरम भयो छोराका अगाडि ।

‘किन ढिलो भयो आज बा ?’, सासुको बोलीमा चिप्लोपन सुनियो ।

‘मासु पसलमा समय लाग्यो आमा’, उसले मासुको झोला टेबलमा राख्दै भनी । छिमेकीको घरमा चिया पिएको कुरा भन्न जरुरी लागेन उसलाई । भविष्यमा पनि ढिलो हुन सक्थ्यो । अनि कदंकदाचित कुनै
दिन अबेर हुँदा सधैंको लागि कारण बन्न सक्थ्यो त्यो एक कप चिया ।

डाइनिङ टेबलमा मासु राख्दै गर्दा उसको नजर एउटा प्लेटमा राखिएको आलुको तरकारीमा प¥यो । दिउँसो खाजा बनाइएको तरकारी रहेछ । सासु आमाले हतारहतार त्यो प्लेट उचालेर छोरातिर हेर्दै छायाँलाई भन्नुभयो, ‘ल खाऊ, तिमीलाई राखीदिएकी ।’

अचम्मै भयो ! कहिल्यै उसका लागी खाजा नपाक्ने घरमा आज उसको लागी पनि पाकेछ । अन्य दिनहरुमा ऊ घर फर्कदा भान्छामा केहि पाकेको हुुँदैनथ्यो । पाके पनि ऊ पुग्नु अगावै सबैले खाईवरी भाँडाहरु पनि माझिइसकेका हुन्थे । उसले थाहै नपाउने गरी । हुन पनि घरका को नै थिए र ? सासुससुरा र एउटी नन्द मात्रै त हो ।

छायाँ घर पुगेपछि फेरि उसले नै सबैलाई चिया पकाएर दिनु पथ्र्यो । आमालाई हर्लिक्स चाहिन्थ्यो । बुबालाई कालो चिया । नन्दलाई कफि अनि उसका श्रीमानलाई चाँहि लेमन टि चाहिन्थ्यो । सबैलाई फरक फरक चिया बनाउँदा बनाउँदै ऊ थाकिसकेकी हुन्थी । उसको चिया सेलाइसकेको हुन्थ्यो । त्यसैले तातो चिया खाने लोभमै ऊ एकछिन छिमेकी दिदीको घरमा अल्मलिएकी थिई ।

आमाको हातबाट प्लेट लिंदै गर्दा उसका आँखा भाँडा माझ्ने सिंकतिर दौडिहाले । उसका लागि एक प्लेट आलु मात्र होइन, त्यो खाएको ज्याला बापत माझ्नु पर्ने एक डङ्गुर जुठा भाँडा रहेछन् ती । कस्तो हिसाबकिताब ! खाजा नहुँदा भाँडा पनि नहुने, हुँदा त्यो बापतको भाँडा पनि माझिदिनुपर्ने । छायाँका आँखा रसाए । कामदारलाई पो कामको बदला ज्याला दिइन्छ । उसलाई पनि कामदारलाई जस्तै खाजाको बदला काम पनि तयार अवस्थामै राखीएको रहेछ ।

उसले ‘मलाई खान मन छैन’ भन्ने जवाफ दिई । एक प्लेट आलुमा आफ्नो स्वाभिमान दाउमा राख्नै मन लागेन उसलाई । उसको मन दुखिरह्यो । बिहे अघि आमालाई घुर्की लगाएका पलहरु खुबै याद आए । थाकेर घर आइपुग्दा सबैले खाएर रहेको आलु खान पनि ज्याला तिर्नु परेको देखेर उसको मन रोयो ।

अरु बेला मिठो मसिनो खाजा पाक्दा पनि त उसलाई राखीदिन मिल्थ्यो । तर, राखिएको हुुँदैन थियो । उसले खोजी पनि गरिन किनकि सासुआमाका बानी बितेका दुई बर्षमा उसले थाहा पाइसकेकी थिई ।

दिनभरीको झरीले रुझेको उसको मन अहिले झन निथु्रक्क भिज्यो । सबैजना सँगै बसेर मिठोसँग खसीको झोल र भात खाने उसको इच्छा त्यसै बिलायो । जता गए पनि भेदभाव देखेर उसलाई आफ्नो अस्तित्व माथि नै प्रश्न गर्न मन लाग्यो ।

भोलिपल्ट ऊ किचनमा जाँदा आमाले दुइवटा कपमा हर्लिक्स हाल्दै गरेको देखी उसले । ऊ छक्क परी । घरमा हर्लिक्स खाने त आमा मात्रै हो । अर्को चाँहि नन्दलाई होला भन्ने ठानी उसले । तर, आमाले हडबडाउँदै एउटा कप उसलाई थमाउनुभयो । विश्वास गर्ने परिस्थिति त थिएन किनभने विवाहको दुई वर्षसम्म आमाले उसको लागि पानीसम्म तताइदिनु भएको थिएन ।

कप लिएर ग्यासतिर जाँदै गर्दा पो रहस्य खुल्यो । आमाले कपमा हर्लिक्स हाल्दै गर्दा पोखिएछ । त्यहि सोहोरेर अर्को कपमा हालेर पो उसलाई दिइएको रहेछ । ऊ त्यतिखेर भान्छामा नपुगेको भए त उसलाई यो रहस्य कहिल्यै थाहा हुने थिएन । उसले त्यो घटनालाई सासुको माया भन्ठान्ने थिई । तर, ऊ पुगी । पोखिएको कुरा खेर फाल्नु भन्दा बुहारीलाई दिनु उचित लागेछ उहाँलाई । कस्तो बिडम्बना ! बुहारी त को हो र ? उसले त जुठा भाँडा नै गर्नुपर्छ । पोखिएका, खेर गएका र बाँकी रहेका नै खानु पर्छ भन्ने कस्तो मानसिकता ?

अफिसमा पनि एक कप चियामै विभेद गरिन्छ । घरमा पनि कुन समानता छ र ? अफिसबाट थाकेर आउँदा ‘चिया खान्छौ ?’ भन्ने कोहि हुन्नन् । बनाएर दिए खाउँला भनेर मुख ताक्ने मात्रै हुन्छन् । छायाँ विथोलिन्छे । उसलाई जीवनमा कोहिसँग केहि गुनासो छैन । आफ्नो काम आफै गर्न ऊ सदैव तयार छे । कामको मामलामा उसलाई कसैले भेट्न सक्दैन । अफिसमा होस् या घरमा । काम ऊ मरेर गर्न सक्छे, इमान्दार छे ।

तर, पनि कामका बीच होस् या थकानका बीच उसलाई एक कप चियाको चाँहि सधैं लोभ लाग्छ अरुको हातबाट । अफिसमा आफू व्यस्त हुँदा होस् वा थाकेर घर पुग्दा, कसैले चिया बनाएर दिए पनि हुने झैं लाग्छ उसलाई । तर कठै ! उसले जताततै यहि एक कप चियामै विभेद पाउँछे ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button