मलाई जात होइन, मानिस हुन मन छ

कविताः मलाई ‘म’ हुन देउ

लीना बानियाँ

मलाई न माथिल्लो हुन मन छ
मलाई न तल्लो हुन मन छ
मलाई त केवल म हुन मन छ ।

न मलाई यो जात हुन मन छ
न मलाई त्यो जात हुन मन छ
न मलाई यो थर लिन मन छ
न मलाई त्यो थर लिन मन छ
मलाई त केवल मै हुन मन छ ।

न त मलाई यो घर हुन मन छ
न त मलाई त्यो घर हुन मन छ
मलाई केवल आफैभित्र हुन मन छ
मलाई त केवल मै हुन मन छ ।

न त मलाई यो चिनारी प्यारो
न त मलाई त्यो चिनारी प्यारो
मलाई केवल आफुलाई चिन्नु छ
मलाई त केवल आफु नै बन्नु छ ।

न त मलाई पर सर्न मन छ
न त मलाई वर पर्न मन छ
मलाई त केवल आफैमा अडिन मन छ
मलाई त केवल आफै हुन मन छ ।

न मलाई यो संस्कारमा अडिन मन छ
न त मलाई त्यो संस्कारमा जडिन मन छ
मलाई मानव संस्कार मात्र जोड्न मन छ
मलाई त केवल मै हुन मन छ ।

न त मलाई ऊ चिन्न मन छ
न मलाई आफु भिन्न भन्न मन छ
कोरिदिएको गोरेटो छोडेर कतै
फराकिलो एउटा रोड खन्न मन छ ।

न सुन्न मन छ न सुनाउन मन छ
न बुझ्न मन छ न बुझाउंन मन छ
सुत्र अब कुनै नयाँ लिएर
मानवताको मात्रै हिसाब गर्न मन छ

न त लिंगीय परिचय यथार्थ मान्न मन छ
न एक शक्ति मात्र ठुलो भन्ने मान्न मन छ
न त कतै जकड़ीन मात्र मन छ
न आफु मात्र कतै फर्किन मन छ
मलाई त सबै एउटै हुन मन छ
मलाई केवल मानिस हुन मन छ
मलाई त केवल मै हुँ न मन छ ।

(सत्यकथाकथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button