
मैले हिम्मतलाई तिम्रो गिद्धे नजरविरुद्ध काँडाजस्तै उमारेकी छु
कविताः ऊर्जा
शोभा पोखरेल
याद गर
सुन्दर गुलाफले पनि
आफ्नो अस्तित्वको रक्षार्थ
काँडाहरूलाई पहरेदार राखेकी छ ।
नफक्रदै कोपिला
कोही जब मिच्न किच्न
उद्यत हुन्छ
काँडाहरुले पक्कै धर्म बिर्सेने छैनन् ।
वासनाले भरिएका तिम्रा फोहोरी ऑखा
जब मेरा अंग अंग चहार्छन्
र, मेरो अस्मितालाई तिमी
उपभोग्य साधन देख्छौ
बारूद बनेर पड्कन
मलाई मेरै धैर्यले ऊर्जा दिइरहनेछ ।
मैले मेरै हिम्मत, आँट र साहसलाई
तिम्रो गिद्धे नजरविरुद्ध काँडाजस्तै उमारेकी छु ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)