
आइसक्रिमको अस्तित्व मेटियो
कविताः आशक्ति र अस्तित्व
राधिका कल्पित
ऊ प्यासले खरिएर आयो
फटाफट फ्रिज खोल्यो
आइसक्रिमको डब्बाबाट आइसक्रिम निकालेर
हतारहतार कोनमा भर्यो
मीठो मान्दै चाट्दै गयो
उत्साहित हुँदै टोक्दै गयो
आइसक्रिमलाई पग्लने मौकै नदिईकन
यसरी चाट्यो
मानौ उ चाट्न जन्मेको हो
यसरी चुस्यो
मानौ ऊ चुस्न जन्मेको हो
बबुरो आइसक्रिम
यसरी पग्लियो
मानौ पग्लनु उसको कर्तव्य हो
आइसक्रिम यसरी सकियो
मानौ सकिनु उसको नियति हो
अन्तिममा
उसले कोनको ठुटो भुईँमा फुत्त मिल्कायो
र, अगाडि बढ्दै गर्दा
उसकै खुट्टाले कुल्चिएर
कच्याककुचुक भयो ।
एकातिर जम्माजम्मी
एउटा राक्षसी भोकको स्यानो अध्याय सकियो
अर्कोतिर
एउटा आइसक्रिमको सिङ्गो अस्तित्व मेटियो ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)