
प्रभा चौधरीको फाटेको मोजा
कथा
गुरुदत्त ज्ञवाली
कभर मोडलः शिल्पा लोचन
‘अइसन झोरवा लैके मै स्कुलमे जाइबे नइकरम्’, लौटनकी छोरी पुनसिया स्कुल जान पटक्कै नमानेपछि उसको बाउले एक झापड गालामा हाने ।
पाको मान्छेले सानी बच्चीलाई गालामा रन्काएपछि पुनसिया थचक्क बसी । एकछिन त बोल्नै सकिन । पछि उसकी आमा आएर उठाइन्, फकाइन् । पुनसिया स्कुल जान झन् मानिन ।
कारण सामान्य हो, उसको किताब राख्ने झोला फाटेको छ । फाटेको झोला लिएर स्कुल जान उसलाई हीनताबोध भयो वा लाज लाग्यो । उसले आमासँग बारम्बार भनेकी पनि हो । आमाले सुनिनन् वा छोरीको कुरो खाइनन् । जब पुनसियाको गनगन बाउले थाहा पाए, त्यसैको बदलामा उसले बाउको जब्बर हातबाट पिटाइ खाई ।
त्यो दिन त्यस्तै भयो, भोलिपल्ट पुनसियाकी आमाले फाटेको झोला राम्ररी सिलाइदिइन् । ऊ अब सरासर स्कुल जान थाली । स्कुल त जान थाली तर बाउले पिटेको पीडा हराएको छैन । उसको पिटाइ खाएतिरको कान दुम्म हुन थाल्यो ।
उति बेलाको कुरो, कपिलवस्तु जिल्लाको गजेहडा, कुनै समयको नामी ठाउँ हो । गाउँको दक्षिणतिर सरकारी प्राथमिक विद्यालय थियो– नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । लगभग पुरै थारुहरुको बाहुल्य भएको गाउँ पनि हो । त्यो बेला नेपाली भाषा बोल्न वा सुन्न बिहीबारे हाटबजार कुर्नु पर्ने अवस्था हुन्थ्यो पहाडिया नेपालीलाई । पहाडिया नेपाली भाषीहरुका केटाकेटी घरमै नेपाली बोल्ने वातावरण नभएको अवस्था पनि हो । अहिले त के के भयो के के ।
गाउँको माझमा एउटा सानो, टाटीले बारेको र खरले छाएको कच्ची घर, घरको नाम के थियो सम्झना भएन । घरमा जम्मा चार जनाको परिवार । लौटन र गौँटी । उनका दुईटा सन्तान । जेठी छोरी पुनसिया र सानो छोरो चिन्का । गौँटी भनेको नाम त होइन, एउटै गाउँकी केटी बिहे गरेमा थारुहरुमा गौँटी भन्ने चलन छ, गाउँकी केटी भन्ने अर्थमा होला । पछि नाम नै त्यही रह्यो । छोरीको नाम पुनर्वसु भन्ने अर्थमा पुनसिया भएको हो । त्यो नाम केटालाई सुहाउने हो वा केटीलाई ? त्यसको अर्थ खुलाउन जान्ने कोही थिएनन् । नाम राख्नु थियो राखे । छोरो त सानो भएर चिन्का भएको हो । उसको नाम पनि चिन्का नै रह्यो । छोरो जेठो भएको भए त्यो नाम बड्का हुन्थ्यो शायद । त्यो परिवार हरवा हो । त्यता हरवा भनेको कमैया हो । उसको घर नजिकै उक्त स्कुल थियो ।
स्कुलका प्रधानाध्यापक रामदयाल, उनी पनि थारु हुन्, पुर्बिया थारु । सहायकमा राघव झा र सीता शर्मा । पाँच कक्षा सम्मको त्यो स्कुलमा ६० जना विद्यार्थी, धेरैजसोको उमेर पन्ध्रदेखि बीस वर्ष । सानाथरे विद्यार्थी निकै थोरै थिए । पुनसियाको उमेर त्यस्तै दश वर्ष हुनु पर्छ, कक्षा एकमा पढ्ने । छोरी मान्छेलाई नपढाउने समयको कुरो हो । त्यसमा पनि थारुकी छोरी, भएन भनेर लौटनको परिवारबाट, त्यसै पनि गरीब । मान्छे पैसाले भन्दा मनले गरीब धेरै थिए । स्कुलमा कुनै शुल्क लाग्दैनथ्यो, तर पनि पढेपछि त्यो जीवन खर्चिलो हुन्छ भन्ने मान्यता थियो । अझ दश वर्षमै एक कक्षामा पढ्ने पुनसियालाई देख्दा सबैले अचम्म मान्थे, यति सानैमा स्कुल पठाउने भनेर । रमाईलो पनि लाग्दथ्यो त्यो देख्दा । अर्को रमाईलो कुरा भनेको कक्षा पाँचमा पढ्ने एउटी छात्रा मात्र थिइन् । ती पनि थारुकै छोरी । उनको घर सिउटी थियो । उमेर त कति हो कति ! बिहे भएकी, पहेँलो साडी लगाएर स्कुल आउने गर्थिन् । आमा बन्ने उमेरकी । नाम रामप्यारी चौधरी ।
त्यस्तो वातावरणमा पढाई हुन्थ्यो । अधिकांश विद्यार्थी थारु परिवारकै हुन्थे तर छात्रा खासै हुन्नथे । पहाडिया नेपालीमध्येका त गजेहडाका पाँच जना र मधौलियाबाट दुई जना गरेर जम्मा सात जना थिए, त्यसमा छात्रा तीनवटी मात्र । नेपाली भाषा बोल्न पाउने त कुरै थिएन । सामै क, कन्नानी का भनेर पढिने कुरा, क कन्नानी, कन्नानी का, ह्रस्व कि, दीर्घ की, तारे कु, बर्धे कू, एक्ल के, दोल कै, कल्मन को, दुर्काना कौ, मास्ते कं, दासे कः । यसरी पढाइ हुन्थ्यो । किताब पनि सरकारी, निःशुल्क पाइने । किताब नेपाली भाषामा भए पनि थारु वा हिन्दीमा पढाइ हुन्थ्यो । नेपालीबाट थारु वा हिन्दीमा मिनिङ्ग घोक्थे थारु विद्यार्थीहरुले । ‘पनि माने भी, तोरी माने लाही’ यस्तै ।

पुनसिया एक कक्षाकी छात्रा भएर पनि नेपालीमा खररर पढ्थी र बोल्थी । उसले नेपाली भाषा सिक्न कुनै मिनिङ्ग घोक्नु पर्दैनथ्यो । बोलीमा भने थारु लवज थियो तर अशुद्ध हुन्नथ्यो । त्यसैले पनि ऊ पहाडिया विद्यार्थीहरुसँग खेल्थी । भाषाको कारणले उसलाई पहाडिया विद्यार्थीहरुले मन पराउँथे र मायाँ पनि गर्थे । तुलनामा पहाडिया विद्यार्थी अलि सफा देखिन्थे, उनीहरुका झोला पनि राम्रा र नफाटेका हुन्थे । थारु विद्यार्थीहरुमा रामप्यारी अलि धनी घरकी छोरी हुनाले बेग्लै रवाफ थियो । बिहे भएको भएपनि माइतबाटै साइकल चढेर पढ्न आउँथिन् । त्यो बेला साइकल चढ्नु भनेको अनौठो कुरो लाग्दथ्यो, त्यसमा पनि छोरी मान्छेले । अरु विद्यार्थीहरु त साँच्चै भन्ने हो भने झल्लरे नै हुन्थे । त्यो सङ्गतमा परेकी पुनसियाले फाटेको झोलामा किताब राखेर स्कुल जान पटक्कै मानिन । त्यो मर्म उसका बाउ–आमाले बुझ्ने बेला पनि भएको थिएन, चासो नै थिएन ।
शिक्षक राघव झा पण्डित खालका मान्छे, सेतो धोती, पुरानो ढाँचाको कमिज, निधारमा चन्दन, मुखमा पान र खुट्टामा हवाइ चप्पल । त्यो रूप वा रङ्ग उनको कहिल्यै फेरिएन । राम दयालले भने बुससर्ट र पाइजामा लगाउँथे । बुलबुले कपालमा नुरानीको तेल लगाउँथे । उनले सेण्डिल जुत्ता लगाउँथे र मोजा पनि लगाउँथे । देख्दा अग्ला, सेता लुगा लगाउने, टाठा पनि थिए । पढाउन बस्दा एउटा खुट्टाको मोजा फाटेको, सेण्डिलबाट स्पष्ट देखिन्थ्यो । अगाडिका दुईटा औँला सेण्डिलबाट पनि बाहिर निस्केका हुन्थे । उनले पढाउने बेलामा अर्को खुट्टाले फाटेको मोजा भएको खुट्टा ढाक्ने प्रयत्न त गर्थे तर कति ढाकुन् ? विद्यार्थीहरु मास्टरजीको त्यो अवस्था देखेर गललल हाँस्थे । फाटेको मोजा देखेर होइन, जुत्ता भित्रको मोजा देखेर हाँस्थे । मोजा लगाएको त देखेकै थिएनन् ।
त्यो बेला शिक्षकलाई मास्टरजी भन्ने चलन थियो त्यतातिर, नत्र मास्टर साहेब हो खास भन्ने । रामदयालले विद्यार्थी किन हाँसेका हुन् भन्ने कुराको मेसो पाउँथे वा पाउन्नथे, थाहा भएन । उनको ध्यान पढाउने भन्दापनि फाटेको मोजातिरै गएको जस्तो लाग्थ्यो । त्यो समयको कुरो, अझ सेण्डिलमा मोजा नलगाएकै भए पनि हुने हो । पुनसियाले त्यो कुरो निकै ख्याल गरेकी हुन्थी । उसको झोला फाटेको कारणले परेको हीनताबोध, भाषाको हिसाबले त बिचरा के बुझोस् भाव बुझेकी हुन्थी । उसको मनमा मास्टरजीलाई त्यो कुरा भनुँ भनुँ लाग्थ्यो तर भन्नलाई पनि आफ्नो झोला सिलाइएको हुनु पर्ने थियो । घरमा पुनसियाले आफै फाटेको झोला सिलाउन जान्दैनथी । त्यसैले आमालाई धेरै अनुरोध गरी ।
पुनसियाको झोला जति दिन सिलाइएन, त्यति दिनसम्म उसको ध्यान पनि कि त उसकै झोलामा गयो वा मास्टरजीको मोजामा गयो । उसले अरु थारु समुदायका साथीहरुका झोला कस्ता थिए भन्नेतिर हेरिन । लाग्थ्यो ऊ अरु थारु साथीभन्दा अगाडि छ वा जान्ने भएकी छ । भाषाले त त्यो कुरो पनि जानेकी छैन । व्यवहार र सङ्गतले अगाडि थिई । जब पुनसियाको झोला सिलाइयो, सिलाउन पनि उध्रेर सिलाएको भए पो ? पूरै टालो हालेर सिलाइएको थियो । त्यो बेला रङ्गी बिरङ्गी भएपनि टालो हालेर सिलाइएको झोला मात्र होइन लगाउने लुगा समेत राम्रै मानिन्थ्यो । मै हुँ भन्ने मान्छेले पनि टालेका लुगा लगाएको देखिन्थ्यो । कट्टु, जाँगे, सुरुवाल, महिलाले ब्लाउज आदि टालेर लगाएको देखिन्थ्यो, धेरैका कुममा, घुँडामा र पिठ्युँमा टालो हालेको देखिन्थ्यो । चप्पलको फिता र तलुवा पनि टालेर लगाउने चलन थियो ।
पुनसियाको झोला सिलाइएपछि उसको मनोबल बढ्यो, ‘बरियाँ भइल’ भनेर मुसुक्क हाँसी । गोरो अनुहारकी पुनसियाको मुख मात्र हाँसेन, आँखा मात्र हाँसेनन्, डिम्पल भन्छन्– खोपिल्टे गाला त हाँसे हाँसे, उसको मन निकै हाँस्यो । रमायो । अब पढ्नमा थप उर्जा मिल्यो उसलाई । निक्कै खुसी भई । एक कक्षाका किताब त उसले, ‘उ बाबा हेर लौ जिउ गर, बाबा जाने शहर भरे आउछु घर’ खररर नहेरेरै भन्थी, लेख्नमा पनि उस्तै राम्रा अक्षर । केटी देख्नमा उस्तै राम्री हो, सफा सुग्घर उस्तै । त्यो स्कुलकी नमूना विद्यार्थी हो र पनि शिक्षकको ध्यान त्यता पुगेको देखिन्नथ्यो । कसैले स्याबास भनेको सुनिएन ।
एक दिन दिउसोको हाफ्छुट्टीको समयमा पुनसिया, शिक्षिका सीता शर्माको नजिकै पुगी र भनी, ‘मास्टराइन् मास्टराइन्, उ त्यो मास्टरजीको जुराप हेर्नु्स् त ?’ स्थानीय भाषामा महिला मास्टरलाई मास्टराइन् भन्ने चलन । सीताले रामदयालको फाटेको मोजा देखिन् र मुसुक्क हाँसिन् । त्यसो त सीता पहाडिया मूलकी नेपाली, त्यसमा पनि भारतको कलकत्तामा बसेर पढेकी । अङ्ग्रेजी र बङ्गाली भाषा पढ्न, बोल्न र लेख्न राम्ररी जानेकी । हिन्दी त्यसै पनि जानेकी । बरु नेपाली भाषा बोल्दा बङ्गाली लवज आउँथ्यो । बोलीको लवज पुनसियाको अझै राम्रो हो । सीताले भनेर हो वा आफै हो, रामदयालले थाहा पाए । उनी लाजले भुतुक्कै भए । लाज पनि अरु त कोसँग मान्नु थियो र ? उनै सीतासँग लजाए । भोलिपल्ट उनले मोजा लगाएनन्, खाली सेण्डिल मात्र लगाए । गजेहडाको हाटबजारमा मोजा किन्न पाइन्नथ्यो । जुराप भन्थे मोजालाई । जुराप त कि बडाहाकिमले लगाउँछन् वा लाहुरेले भन्ने जान्दथे । लाहुरे भन्ने कुरा पनि सामान्य थारुहरुले बुझ्दैनथे, जिम्दारकै खलक हुनु पथ्र्यो त्यो कुरो बुझ्न ।
रामदयाल एक्लै बस्थे डेरामा । उनले कुनै थारुकै घरमा खाने व्यवस्था गरेका थिए । त्यो बेला डेरा र खाने विषयमा पैसा लाग्दैनथ्यो । राघव झा भने पण्डित हुनाले सिधा र दक्षिणाले खान पुग्ने मात्र होइन खेत किन्ने पैसा कमाउँथे, उनी सपरिवार बसेका थिए । सीताको घर गजेहडामै थियो । कदमाहे बाजेकी छोरी पनि भन्थे तर धेरैले शर्माजीकी पत्नी भनेर जान्दथे सीतालाई । कदमको बोटनेर उनको माइती घर थियो, घर माइत उही थियो त्यो बेला सम्म । त्यो बेला रामदयाललाई गाउँलेले पालो गरेर सिधा उठाएर दिन्थे । त्यसरी सिधा दिन पाउनुलाई भाग्य ठान्ने समय थियो । खुसीले दिन्थे । उनको परिवार शायद घरमा थिए । घर सप्तरीतिर थियो शायद, पुर्बिया मास्टरजी पनि भन्थे ।
पुनसियाले सीता शर्माको सहयोगमा रामदयालको मोजा मागेर घरमा लगी र उसकी आमालाई सिलाइदिन भनी, महिनौँसम्म वा किनेदेखि धोएको थिएन होला त्यो मोजा । नधोइएको मोजा धुन समेत पठाएर उसले त्यो मोजा मास्टरजीलाई दिई । त्यस घटनाले पुनसियाको चर्चा पायो । उसको सबै कुराको मूल्याङ्कन हुन थाल्यो । कक्षामा प्रथम हुनु, अनुशासनमा प्रथम हुनु, सबैले माया गर्नु, सबै काम भए । ऊ त्यो स्कुलकी नमूना छात्रा बनी । सीता शर्माको सङ्गतले झनै टाठी भई । एवंरीतले कक्षा एकमा सर्वप्रथम भई, होलफष्ट । त्यो बेला क्लास टप्ने भन्ने चलन थियो । दुई कक्षा नपढीकनै तीनमा भर्ना भई । उसको विषयमा कपिलवस्तु जिल्लामै चर्चा भयो, खास गरेर स्कुलहरुमा । त्यो हल्ला शिक्षा कार्यालयसम्म पुग्यो ।
एक दिन त्यस स्कुलमा तौलिहवाबाट विद्यालय निरीक्षकको टोली आयो । टोलीले धेरै स्कुलमा निरीक्षण गरेर अन्त्यमा त्यस स्कुलमा पुगेको थियो । टोलीले स्कुलमा त खासै कमजोरी भेटाएन । निकै राम्रो भन्ने कुरा पनि पाएन । सामान्य थियो स्कुलको अवस्था । त्यो रात टोली गजेहडामै बस्यो, बड्घरको घरमा । बड्घरको घरमा खान बस्न सुविधा हुन्थ्यो । समाजले आदर गर्ने तथा धनी किसानहरु धेरै भएको र तुलनामा अरु भन्दा उन्नत गाउँ भएको हुनाले खाने कुरामा थप रमझम समेत हुने हुँदा धेरै कर्मचारी टूरमा आउँदा गजेहडामै बस्दथे । त्यसमा शिक्षा शाखाबाट इन्स्पेक्टर आएका जीप चढेर । जीपगाडी देख्नु र छुन पाउनु भनेको त्यो बेला अनौठो त हुन्थ्यो नै, धेरै मान्छेले आफूलाई भाग्यमानी ठान्दथे गाडी छुन पाउँदा । अतिथिहरुलाई हुनसम्मको सत्कार भयो । साथमा शिक्षक शिक्षिका समेत थिए । कुरै कुरामा पुनसियाको प्रसङ्ग फेरि चल्यो । सबैले उसको चर्चा गरे ।
त्यसको भोलिपल्ट पुनसियालाई भेट गरे । कुराकानी गरे । उसको घरको अवस्था हेरे । नाम टिपे र उसमा विलक्षण प्रतिभा छ भन्ने मूल्याङ्कन गरे । त्यो बेला क्यामरा सुलभ थिएन त्यसैले फोटो खिच्न संभव भएन । त्यसरी टोली तौलिहवा फक्र्यो । पुनसियाको उच्च मूल्याङ्कन भएछ जिल्ला शिक्षा कार्यालयमा । उसलाई सरकारले नै खर्च ब्यहोरेर काठमाडाँै पढ्न पठाउने सिफारिस भएछ । प्लान पाइ उसले । त्यसपछिको धेरै वर्षसम्म त्यो कुरा सामान्य चर्चा हुँदै सेलायो । शिक्षामा परिवर्तन आयो । न्यूनतम योग्यता नपुगेका त्यो स्कुलका सबै शिक्षक शिक्षिकालाई बिदा गरियो । नयाँ दरबन्दी आयो र अन्त्यमा त्यो स्कुल नजिकैको बाणगङ्गा माध्यमिक विद्यालयमा विलय भयो । एउटा इतिहास मेटियो ।
काठमाडौँ पुगेकी पुनसियाको नयाँ स्कुलमा भर्ना हुँदै त्यो नाम फेरियो र प्रभा चौधरी भयो । स्कुल आवासीय भएकोले उसलाई खान बस्नको समस्या हुने कुरो भएन । शिक्षा निःशुल्क थियो । उसले पढ्दै गई । हाइस्कुल सकी । लामो बिदामा घरमा आउन त मन लाग्थ्यो तर उसको घरको कुनै ठेगान हुन्नथ्यो । उसको बाउ लौटन, आखिर हरवा न हुन् ! हरेक माघपछि नयाँ मालिक खोज्नु पर्ने । कति वर्ष त मालिक फेरेर गजेहडामै रहे । धेरैले जग्गा बेच्दै जाने र नयाँ किसानहरुले थोरै जग्गामा आफैले खेती गर्ने कारणले हरवाइ काम पनि पाउन गाह्रो हुन थाल्यो । पछि उनी डोङ्गहवा भन्ने गाउँमा गएर काम गरे । अर्को वर्ष त्यहाँबाट बठनपुरा भन्ने गाउँमा सरे र त्यहाँ उनको नाम डोङ्गाहे बन्यो । बठनपुराबाट रुपन्देहीको भैँसाहीमा स¥यो उनको हरवाइ । त्यहाँ उनको नाम बठनपुराहे बन्यो । पुनसिया घरमा आउने वातावरण भएन ।
पुनसिया अर्थात प्रभाले काठमाडाँैमै क्याम्पस पढी र उच्च शिक्षा हासिल गरी । त्यो बेला ऊ एक्लै बस्न र खान सक्ने भएकी थिई । पढाइमा तेज भएकीले छात्रवृत्ति पाउँथी । सरकारले पनि बेलामौकामा सहयोग गर्दथ्यो । उसको जीवनशैली पूरै परिवर्तन हुँदै गयो । खालि समयमा ट्युसन आदि पढाउने काम गर्न थाली, त्यसैले उसले पैसा कमाउन पनि सक्ने भई । पछि त बाउ–आमा र भाइलाई समेत उतै लिएर गई । क्रमशः जागिर खान थाली । जागिर पनि संयोगले शिक्षा विभागमै मिल्यो, शाखा अधिकृत पदमा । उसको जिम्मेवारी बढ्यो, बायोडाटा राम्रो बन्यो र पदोन्नति पनि भयो । कुशल अफिसर बनी । प्रभा चौधरी भन्ने नाम शिक्षा क्षेत्रमा चर्चामा आयो । पुनसियाको इतिहास प्रभामा विलय भयो । ऊ पुनसिया थिई, अब उनी प्रभा भइन् । तँबाट तिमी ।
जाडोको महिना, एक दिन उनलाई विभागले पश्चिमाञ्चलतिर विद्यालय निरीक्षणमा खटायो । संयोगले कपिलवस्तुमा पनि जानु प¥यो । प्रभालाई पुनसियाको जीवन अर्थात बाल्यकालको सम्झना आयो र उनलाई सुरुमा पढेको स्कुलमा जान मन लाग्यो । त्यहाँ पुग्दा उनले पढेको स्कुल थिएन । सबै तथ्य उनले बुिझन् । तै पनि गजेहडाको बाणगङ्गा मा.वि.मा जान मन लाग्यो । गजेहडाको माटोले चिन्यो वा चिनेन, त्यो समाजले पुनसियाको कथा पनि जानेन र प्रभाको वर्तमान पनि बुझेन । गजेहडाले एउटी चौधरी थरकी शिक्षा विभागकी हाकिम निरीक्षणमा आएको मात्र जान्यो । त्यसै अनुसार मर्यादा ग¥यो । उनले आफ्नो कुरा सुनाउने कुनै मान्छे देखिनन् । त्यहाँ उनको घर त थिएन नै, छिमेकी समेत छिन्न भिन्न भएका थिए । नयाँ बसाइसराइका बासिन्दाको भिड बढेको थियो । रामदयाल त्यो ठाउँमा थिएनन् । राघव झाले पान पसल खोलेर बसेका, बिहीबारे हाटबजार कुर्थे । उनले पुरानो दुनिया बिर्सेका थिए र पारिवारिक जञ्जालमा फसेका थिए । सीता शर्माको देहान्त भएको थियो । सहपाठीको नामो निशान थिएन ।
त्यसै सम्झनाको तरेलीसँगै उनले रामदयालको फाटेको मोजा प्रकरण सम्झिन्, जुन मोजाले उनलाई प्रभा बनाएको हो । हाकिम बनाएको हो । उनी एक्लै मुसुमुसु हाँसिन् र रामदयालको फाटेको मोजाको स्मरणमा आफ्नै मोजा हेर्न पुगिन् । संयोग उनको बायाँ खुट्टाको मोजामा प्वाल परेर दुइटा औँला देखिएको रहेछ । उनी लाजले भुतुक्क भइन् र अनुकूल स्थान मिलाएर दुवै मोजा खोलेर झोलामा राखिन् । उनको फाटेको मोजा कसैले देख्यो देखेन त्यो त थाहा भएन तर उनलाई सबैले देखेर हाँसेका होलान् भन्ने लाग्यो । काठमाडौँ पुगेर प्रभा चौधरीले आफ्नो फाटेको मोजा सिलाइन् र धोएर राखिन् । तर त्यो मोजा कहिल्यै लगाइनन् । समयले त्यस्तो मोजा नलगाउने गराएको थियो ।
उनले कार्यालयमा उठाएको टिप्पणी सदर भयो । टिप्पणीमा गजेहडाको उनले पढेको विस्थापित स्कुल पुनः स्थापना गर्ने भन्ने रहेछ । त्यहाँ फेरि प्राथमिक विद्यालय स्थापना भयो । स्थानीय नेताहरुले त्यसको श्रेय लिने कुरामा निकै पाखुरा सुर्के । मेरो सोर्सले पुनः स्थापना भएको हो भन्ने कुराको दाबी गर्ने मान्छे वा दलका नेता धेरै निस्के । आफैले सफलताको अबीर पनि दले । प्रभा चौधरीले ती सबै समाचार थाहा पाइन् तर उनले त्यो श्रेय कहिल्यै दाबी गरिनन् । हो, उनले त्यो बेलाका हेडमास्टर रामदयालको फाटेको मोजा फेरि झर्लक्क सम्झिन् । त्यसैको झल्को मेटाउन आफ्नो मोजा सङ्ग्रह गरेर राखिन् । एकाएक विगत सम्झँदै गर्दा उनका आँखाबाट बररर आँसु झरे । समाजले अझ पनि त्यो स्कुल पुनस्थापनाको श्रेयका पाखुरा सुर्कन छोडेको छैन । प्रभाले भने उनकै फाटेको मोजालाई हेरेर जीवनको अलिखित इतिहासका पाना पल्टाइन् ।
फाटेको मोजा सिलाइएको धागोमा उनका इतिहासका सुनौला अक्षर सल्बलाएका देखिन्थे, रानीमौरीको वरिपरि अरु मौरीहरु महको स्वादमा सल्बलाएजस्तै ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



