डंगोल डुलाउँछन् डाँडापाखा लेखेरै

पुस्तक टिप्पणी
श्रीहरि फुयाँल

नेपाल प्रकृतिको प्रिय राजधानी हो । सेतो दाह्री पालेका र सेतै उपर्ना ओडेर पंक्तिबद्ध भई बसेका ऋषिमुनिहरू जस्तै लाग्ने अति नै मनोहारी आह्लादक हिमाली शृङ्खलाहरुले संसारको ध्यान आकृष्ट गराउँदै आएका छन् । त्यतिमात्र नभई हिमालयको काखमा अवस्थित पहाड र पर्वतहरू तथा हरिया वन–जङ्गल र नागबेली खोलानालाहरू सङ्गीतमय स्वर निकालेर बग्ने छहरा, छाँगा र झरनाहरु, विभिन्न प्रजातिका चराचुरुङ्गीका रोमाञ्चक गीतहरु, तराइका विशाल फाँटहरू र खाद्यान्न एवम् फलफूलका भण्डारहरु, नेपालबाहेक विश्वका अन्य देमा कतै नपाइने काँडेभ्याकुर अन्य जीवजन्तुहरु, कस्तूरी मृग र नौरङ्गी डाँफेहरू देख्ता मोहित नहुने मानिस यो संसारमा कहाँ पो पाइएला र ! यसर्थ नेपालमा संसारका पर्यटकहरुको घुइँचो लाग्ने गरेको हो ।

राजेन्द्रमान डङ्गोलले ‘यात्राका पाइला’मा यस कुरालाई विभिन्न कोण÷प्रतिकोणबाट सिद्घ गरेका छन् ।

नेपाल घुमेका थुप्रै विदेशी पर्यटकहरुले नेपाल र नेपालीहरुको बारेमा यात्रा निबन्ध लेखिसकेका छन् । हाम्रोमा भने े फाट्टफुट्ट लेखिँदै आएको यो विधा आजभन्दा तीन–चार दशकदेखि भने अलिक विस्तृत रूपमा लेखिँदैै आएको देखिन्छ । यतिखेर यात्रा निबन्धले पनि आफ्नो बेग्लै पहिचान बनाइसकेको छ । थालनीमा यो बिधालाई ‘यात्रा संस्मरण’, ‘यात्रा निबन्ध’ नामकरण गरेर लेखिने गर्दथ्यो । पछि आएर यो विधालाई वरिष्ठ भाषाविद् तथा साहित्यकार बालकृष्ण पोख्रेलले ‘नियात्रा’ संज्ञा दिएका थिए ।

फुयाँल

आम मानिसलाई नौला ठाउँहरू घुम्ने र देख्ने रहर हुन्छ । कसैलाई विचरण गर्ने सुअवसर प्राप्त भएको हुँदैन, अवसर प्राप्त गरेका सबैले नियात्रा लेख्न सकेका हुँदैनन् । त्यसका लागि चाहिन्छ, सूक्ष्म अनुभूति, संवेदनशील हृदय, प्रतिभा, र लगनशीलता । प्रतिभा भएन भने साहित्य सिर्जना गर्न सकिँदैन । व्युत्पत्ति र अभ्यास भनेका प्रतिभालाई सघाउने तत्वहरू मात्र हुन् । साहित्य सिर्जनाका लागि प्रकृति र समाजलाई सूक्ष्म रुपले नियाल्न सक्नु पर्दछ । प्रकृति, समाजको सेरोफेरो र भावनामा डुब्न सकिएन भने साहित्यको सिर्जना हुन सक्दैन ।

‘यात्राका पाइला’ डङ्गोलको पहिलो कृति हो । यो नियात्रा सङ्ग्रह पढ्दा पाठकहरुलाई आफू पनि सँगसँगै यात्रा गरिरहेको छु कि भन्ने महसुस भइरहन्छ । सिनेमाको पर्दामा जस्तै हरेक पाठकका मन र मस्तिष्कमा आफू नै त्यहाँ पुगेजस्तै गरी स्थानीय प्राकृतिक दृश्यहरू र स्थान विशेषका प्रतिच्छायाहरू सलबलाइरहन्छन् । सङ्ग्रहमा१० ओटा नियात्रा छन् ।

ऐतिहासिक स्थान, धार्मिक स्थान र पुरातात्विक स्थानहरूको पनि बडो रोमाञ्चक शैलीमा वर्णन गरिएको छ । हिमाली क्षेत्रमा बस्ने तामाङ, शेर्पा र गुरुङ जस्ता जातजातिका धर्म–संस्कृति, पारिवारिक संस्कार, मेलापर्व र जात्राहरुको बारेमा पनि नियात्राकार डङ्गोलले बडो रोचक ढङ्गले काव्यात्मक शैलीमा प्रकाश पारेका छन् । तामाङ जातिले आफ्नो भेषभूषा र गहना गुरियामा सजिएर गरेका नाचगानको उक झलक पनि मनोहरी रूपमा प्रस्तुत गरिएको छ । जडिबुटी र वनस्पतिहरूका विशेषताका बारेमा पनि साहित्यिक शैलीबाट बडो मनोरम तरीकाले सविस्तार वर्णन र यात्रा गर्दाको दुःख कष्ट र आनन्दानुभूतिको कलात्मक शैलीमा चित्रण गरिएको छ ।

“भूकम्पिय त्रासदी”मा २०७२ बैशाख १२ गतेको भूकम्प र त्यसले उनको मथिङ्गलमा पारेको गहिरो प्रभाव वणर््न गरिुएको छ । याधाको क्रममा विदेही पर्यटकसँग रहँदा गरेका अुभूतिका चित्र भेटिन्छ यसमा । मुलतः रजाधानीको विनास, आफन्तजनको चिन्तालाई केन्द्रमा राखेर लेखिएको संस्समरात्मक निवन्ध हो यो ।

‘स्मृतिमा सुदूर पश्चिम’मा वीर पूर्खाहरुका युद्ध कौशलताको राम्रो शब्दचित्र उतारिएको छ । अमरसिंह थापाको वीरतालाई दर्शाउँदै उनले ढुङ्गेकिल्लाको निर्माण गराएको कुरा यसै नियात्रा मार्फत हृदयस्पर्शी, मनमोहक र प्राञ्जल भाषामा प्रस्तुत गरिएको छ । यसमा तामाङ रीतिरिवाज, संस्कार र संस्कृतिको झलक तथा नेपालका लेकाली बालिनाली, लेकाली पहिरन, लेकाली खाना (तुङ्बा, रक्सी र अन्य खानेकुरा) तथा आतिथ्य सत्कारका तौरतरिका पनि सजिव ढङ्गले उतारिएको छ ।

‘कञ्चनजङ्घामा छाडिएको पदचाप’ मा पहाड र पठारमा हिँड्दाका दुःख कष्टहरू, ऐसेलु र काफल खाएर जोखिमपूर्ण गोरेटोबाटो हिँड्दाको अनुभूतिलाई पनि साहित्यिक शैलीमा व्यक्त गरिएको छ । त्यहाँको प्रकृति चित्रणका अनुभूतिहरू पोखेका छन्, उनले ।

सङ्ग्रहमा डुब्दै जाँदा कतिपय ठाउँमा पाठकहरुलाई राजेन्द्रमान डङ्गोलले नियात्रा हैन धक फुकाएर कविता पो लेखिरहेका छन् कि भन्ने महसुस हुन्छ । कविताकाव्य पढिरहेको भान हुन सक्छ । यस्तो काव्यात्मक शैलीले गर्दा पनि यहाँ सङ्कलित नियात्राहरू अत्यन्तै चित्ताकर्षक र पठनीय बन्न पुगेका छन् ।

कतिपय मानिस गद्य कविता लेख्ने बहानामा निबन्ध लेखिरहेका हुन्छन्, तर डङ्गोलले भने नियात्रा लेखनका क्रममा बिम्ब र प्रतीकलाई सजाएर शब्द र वाक्यलाई कलात्मक ढङ्गले खेलाएर कवितात्मक शैलीमा आफ्ना अभिव्यक्ति प्रस्तुत गरिरहेका हुन्छन् । त्यसको उदाहरणका लागि यहाँ यसै नियात्रा सङ्ग्रहबाट केही वाक्यहरू उद्धृत गरेको छु । केही दृष्टान्तहरु:

क) झ्यालको खापा चुम्दै प्रारम्भिक किरण कोठाभित्रै प्रवेश गरे । घामको त्यही सुनौलो किरणले चङ्गा भएँ, म ।

ख) केशराशी चुमेको पवनसँग खेल्दै शिरमा शिर जोडेर ती नवदम्पती दुर क्षितिज नियाल्दै नेपाल भ्रमणको सार्थकताको चित्र कोर्न थाले ।

ग) पश्चिमबाट घामले पखेटा फिँजाउन थालिसकेको थियो ।

घ) बिस्तार–बिस्तारै जून सेतिन र हिमालहरू पहेँलिन लागे । कलिलो घामको जवानी चढ्दै जाँदा फुरुङ्ग हुँदै थियो, चिसोले कठ्याङ्ग्रीएको मेरो मन ।

ङ) घामको चढ्दो लालीले धर्ती जगमगाउँदा रानी पौवामा फुलेका लालुपाते र सुनाखरी फूलहरू पनि लजाइरहेका देखिन्थे ।

च) लमतन्न लडेको सघन अँध्यारो सडकमाथि हिँडिरहेका थियौं, हामी । भाका फेर्दै फेर्दै गीत गाउँदै थिए, झ्याउँकिरीहरू ।

छ) जीवनलाई ताजापनमा घोलेर स्वप्निल तरङ्गहरुमा आफैंभित्र नयाँ रङ भर्दै थिएँ म ।

यस्ता अनगिन्ती काव्यात्मक अभिव्यक्तिहरू यहाँ छताछुल्ल भएर पोखिएका देखिन्छन् । यस्ता अभिव्यक्तिहरुले गर्दा यो नियात्रा सङ्ग्रह हृदयस्पर्शी, मनमोहक आह्लाहक तथा रोमाञ्चक र पठनीय बन्न पुगेको छ ।

डङ्गोलको यो सङ्ग्रहमा शैलीशिल्पको दृष्टिकोणले गर्दा मनोवादात्मक शैली, सम्वादात्मक शैली, वर्णनात्मक शैली र काव्यात्मक शैली अपनाएको देखिन्छ । उनको काव्यात्मक शैलीमा भने कतै शान्तरस, कतै हाँस्य रस, कतै भयानक रस र कतै करुण रसको यथोचित प्रयोग गरिएको पाइन्छ ।

नेपाली साहित्यका क्षेत्रमा यो नियात्रा सङ्ग्रह एउटा महत्वपूर्ण प्राप्ति हो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button