
पोइकी आमा
कथा
गुरुदत्त ज्ञवाली
कभर मोडलः लीला अनमोल
‘घरमा को हुनुहुन्छ ?’
कोही बोलेनन् । पण्डितजी घरको वरीपरी एक घुमे, अहँ कोही देखिएनन् । र, फेरि चिच्याए, ‘होइन कोही हुनुहुन्न कि क्या हो ?’ र पनि भित्रबाट आवाज आएन । उनी पसिना पुछ्दै त्यसै घरको बरण्डामा रहेको बेञ्चमा बसेर पात्रो पल्टाउँदै के–के हेर्न थालेका थिए, तर चश्मा ल्याउन बिर्सेछन् क्यार ? खल्ति छामे, भेटाएनन् । एउटो खल्ति भए पो …? पात्रो ज्वारीकोटको माथिल्लो खल्तिमा राखेर गुनगुनाउन थाले । पण्डित बाजेले चिना कुण्डली लिएर घरमा आएका थिए । त्यो घरकी आमाले हेर्दै गर्नु भनेर पहिल्यै दिएकी थिइन् ।
त्यस घरमा जम्मा चार जनाको परिवार हो । आमा,छोरा, बुहारी र सानो नाति । छोराको नाम बैकुण्ठ, उनकी पत्नीको नाम तृष्णा, नाति केटाको भने नामले बोलाउन्नन् तर बैतृक राखेकीछन् उनकी आमाले । बैकुण्ठ र तृष्णाको छोरो भनेको होला । अर्थ न बर्थको नाम, त्यो नाम बिवादमा परेको छ । बैकुण्ठलाई पनि पटक्कै मन परेको छैन । आमाले बिशाल राख्न भनेकी हुन् तृष्णाले नमानेर मात्र हो । आमाको नाम पनि चल्तीमा छैन तर राम्रो छ नाम, जानुका । नाति त्यस्तै एक बर्षको होला, उ ताते–ताते गरेर हिँड्छ । अगाडिका तल–माथि दुई–दुईवटा दाँत आएका छन् । देख्दा भकुल्ले, गोरो छ । त्यही बच्चाले त्यो घर उज्यालो बनाएको छ अचेल ।
बैकुण्ठको राम्रो जागिर छ । जागिरले घर–खर्च धानिन्छ । घर र थोरै जग्गा पनि छ । बाउ बितेको भने चार बर्ष भयो क्या र ? उमेरमै बिते । बाउको अभाव छोरालाई बेला–बेलामा खड्कन्छ, ब्यवहार परेको बेलामा । आमाका भने पति बियोगले अझै आँखा ओभाना देखिन्नन् । संरक्षकको अभाव । पतिबाट राम्रो माया पाएकी, सन्तानमा एउटै छोरो, त्यो पनि असल भन्छन् सबैले । आमालाई खान–लाउनको दुःखले होइन वा संपत्तीको कारणले होइन । बुहारीका तीखा बचन सहन सक्दिनन् ।

सम्पति पतिको नाममा थियो नामसारी गर्दा सबै छोराको नाममा स¥यो । हुन त उनकै मञ्जुरीले हो र पनि बुहारीको त्यस्तो चाला होला भन्ने सोँचिनन्, जानिनन् । शुरुका दिनमा त बुहारीको स्वभाव खासै नराम्रो होइन । जब पतिको नामको घर–जग्गा छोराको नाममा स-यो छोरामा त खासै भिन्नता देखिएन । बुहारीका भने नाकका फोन्द्रा फुल्न थाले । घरमा बुहारीका माइतीतिरका नाता–पाता ओइरो लाग्न थाले । घरतिरका पाहुना–पाछाको बाटै काटिए जस्तो भयो । माइतीले उचालेर त्यस्तो भएको हो भन्न्ने आमाको आरोप बेठिक पनि होइन । हुन पनि बुहारीका माइतीले खास गरेर बुहारीकी आमाले ‘त्यो बुढीलाई घरबाट निकाल छोरी, त्यही बुढीले गर्दा तँलाई दुःख भएको हो’ भनेर आगो सल्काउँछिन् । आगो साँच्चै सल्क्यो त्यो घरमा । त्यही आगो निभ्छ कि भनेर आमाले कुण्डली वा चिना हेराउने र ग्रह कटाउने विचार हो । त्यसैले पण्डित बाजे आएका हुन् ।
भर्खरै मात्र सासु बुहारीको बेस्सरी झगडा भएको रहेछ । त्यसैको रनाहामा पण्डितजीले बोलाउँदा न आमाको बक्के आयो न बुहारीको । एकैछिनमा आमा बाहिर निस्किन् र पीडा पचाएर सिष्टाचारमा लागिन् । त्यसपछि दुबै जना बैठक कोठामा पसे । आमाले चिना–कुण्डली बाँच्न लगाइन् ।
झोलाबाट कुण्डली झिक्दा चश्मा पनि भेटियो । पण्डित बाजेले ग्रह–दशा लागेको कुरा गरे । छोराका त राम्रै रहेछन् बुहारीका दशा भने डरलाग्दा छन् भनेर बताए । बाजेको पनि पेशा हो, कताबाट पैसो झर्छ त्यसै मनेविज्ञानका आधारमा भविष्यवाणि गर्छन् । मिलाएर भनेछन् । बुहारीले कान थापेर उनीहरुको कुरो ठनासेकी थिइन्, मेसो पाइन् । के चाहियो र ? सासुको त पण्डितकै सामुन्नेमा झेंको झारिन् । ‘हेरम्ला कसरी सम्पती खाने रैछौ बुढी’ सम्म भनिन् । बुहारीले पनि जानेर ग्रह–दशाका कुरा गरेकी त त होइनन्, यो बुढीले मेरो रीस गरी भन्ने लागेछ, नत्र उनले पनि पण्डितलाई पैसा खुवाएर ससुराको नामको संपत्ती नामसारी गर्दा छोराको नाममा नामसारी नगरेमा आमाकै ज्यानमा खतरा हुन सक्छ वा मर्ने जोग परेको छ भनेर उनै पण्डित बाजेलाई भन्न सिकाएकी थिइन् । त्यस्तै गरेर आमालाई सुनाएका थिए ।
अहिले आमाको पैसा खाए वा खाएनन् थाहा छैन । आमाको मनमा भने कुनै पाप वा षड्यन्त्र छैन । उनको मनमा बुहारीका दशा बिग्रेको हुनाले आफुलाई नसहेको भन्ने लागेको हो ।
त्यो दिन पण्डित बाजे ग्रह कटाउने सर्जामको लिष्ट पनि लिएर आएका थिए । बुहारीले पत्याइनन् र बाजेलाई भोल्टे आँखाले हेरिन् । उनलाई लागेको हुँदो हो मेरो त्यत्रो पैसा खाएर पनि फेरि पोइकी आमातिर लाग्ने पो हुन् कि ? अचेल बुहारीको मुखमा कुरै पिच्छे पोइकी आमा भन्ने आउँछ । हुन पनि बाजेले बुहारीलाई माइती ग्रह लागेका छन् भनेर प्वााक्कै भने । ग्रह–दशा माइती र घरौंले भन्ने त हुन्नथ्यो । खेलो हो उनको । आमा त मख्खै …। कसैले आमा खोई भनेर सोध्दा बुहारीले प्याच्च भन्ने गर्थिन् ‘मेरी आमा त माइतैमा हुनुहुन्छ यहाँ भएकी त पोइकी आमा हुन् ।’
आमालाई त्यो कुरो थाहा थियो तर सहन्थिन् । पोइकी आमा भनेको आमाले धेरै पटक सुनेकी थिइन् । धेरै बोलेमा घरमा झन् आगो सल्कन्छ भन्ने कुरा उनलाई थाहा थियो, त्योभन्दा पनि आमालाई बुहारीलाई माइती ग्रह लागेको भन्ने कुरामा बिश्वास थियो र ग्रह काटेपछि ठीक हुन्छ भन्ने पनि विश्वास थियो ।
पूजाका सर्जाम किन्ने लिष्ट लिइन् । अलि–अलि पैसा आमासँग पनि थियो, बुढीले बेलैमा पेवा भनेर पैसा राखेकी रहिछन् । अहिले खुत्रु–खुत्रु खर्च गर्छिन् । त्यसैले छोरासँग माग्नु परेन । बैकुण्ठले पनि तृष्णसंग नै माग्नु पर्ने थियो । आमा पूजाका समान किन्न जाँदै गर्दा छोरासंग गेटैनेर भेट भयो र कुरा पनि भए । छोरा बाहिर कतै गएका, त्यसैबेला घरमा आए । छोराले हुन्छ र हुन्न भन्न सकेनन् अथवा आमाको कुरो काट्ने हैसियत पनि थिएन र पत्नीको सामुन्नेमा आमाका कुरा गर्नै हुन्नथ्यो । लुसुक्क घरमा पसे । बुहारीमा सासुप्रति एक प्रकारको भुत चढेको थियो, ‘देख्यौ तिम्री आमाको चाला ? यही भएको सम्पती पनि खान दिने भइनन् ।’ भन्दै छोरालाई काखमा लिएर भान्सामा पसिन् ।
त्यो छाकको भातको पहिलो बान भुसुक्कै डढ्यो, तरेखो भएछ । दोस्रो बान बैकुण्ठले पकाए तर तृष्णाले घुर्की सकिएपछि त्यो छाक दोप्पहरपछि मात्र खाइन् । लोग्नेले शायद कबुल गरे होलान् आमाको नाममा जग्गा पास गरिदिन्न भनेर । बिचरा आमाले जग्गा खोजेकी थिइनन् बुहारीको आदर खोजेकी थिइन् । घरको श्री खोजेकी थिइन् । घरमा श्री खोजेकी थिइन् ।
आमा पनि त्यति कमजोर थिइनन् । इष्ट–मित्र जोडिन् र दिन हेराएर पूजा गरेरै छोडिन् । ग्रह कटाइन् । लाज–काज बुहारीले सघाउनै प-यो । अझै त्यति साह्रै भाँडिएको परिवार थिएन बाहिरी समाजको नजरमा ।
बुहारीको इर्ष्या तथा सम्पती मोह भएर मात्र हो । छोराले सन्तुलन मिलाउनु पर्ने थियो, ‘त्यो बिचरा पत्नीको सामुन्ने सर्पमा गरुडको छाँया परेजस्तो हुन्छ’ भन्छिन् आमाले । नाई भन्ने सक्दैन । आमाले बुहारीका माइती ग्रह मन्साइन् । दिशा पारेर कालो मासका गेडा र फलामको टुक्रा चौबाटोमा राखिन् । पूजा गराउने पण्डित उनै थिए अथवा ग्रह हेर्ने पण्डित । उनी पण्डित अलि जब्बर रहेछन् , बुहारीको सातो खाए । उनले पनि माइती ग्रह लागेकै रहेछ भनेर ठोके । माइतीको पक्ष लिएर सासु आमालाई हेपेको उनले पनि सहेनन् । पण्डितले त त्यो दिनको पूजा जाप आदि नगरेको भए बुहारीलाई नै ठूलो खड्को भएको कुरा गरे । खड्कोको अर्थ मृत्यू भनेर बुझ्ने चलन छ । त्यो दिन त्यस घरमा शान्ति नै भयो । पूजाको प्रभाव परेजस्तो भयो । भोलिपल्ट बुहारीले खड्को सड्को सबै बिर्सिन् । रडाको शुरु भयो । पोइकी आमा भनेर रीस मरेनछ क्या र ? भुल्ली बोक्सिनी, राक्षस्नी जस्तै मुखमा आएको बोल्न थालिन् । तै आमा अझै पनि थामिएकी छन् । आमालाई बुहारीका ग्रहले नछोडेर हो सुस्तरी छोड्छ भन्ने विश्वास छ ।
बुटवलबाट भैरहवातिर जाँदा बाटोमा मंगलापुर पर्छ । मंगलापुर चोकबाट पूर्व नेपाल टेलिकमको अफिस हुँदै अलिपर पुगेपछि एउटा बाटो दक्षिण मोडिन्छ भु पु सैनिक चोक र अर्को उत्तरतिर । उत्तरको बाटो समात्दा त्यस्तै ओशोधाम नपुग्दै गुजुप्प घर देखिन्छन् । त्यसैमध्येको एउटा घर बैकुण्ठको हो । घर सानो छ तर चिटिक्कको छ । खेत भने अलि टाढै छ । घर अगाडि आँगन, त्यसैको छेउमा फूलबारी र थोरै तरकारी बारी । ती सबैको स्याहार सुसार भने तृष्णाले गर्छिन् । आमाले कामको सिन्को भाँच्नु पर्दैन र पनि खाली बस्दिनन् । अचेल एक आपसमा बोलचाल खासै हुन्न सासु बुहारीमा । नबोली नहुने काम भने रोकिन्न । उस्तै परेमा आमाले नाति मार्फत भन्छिन् । ‘ए नाति, आमालाई छिटो भात पकाउन भन् त ! जोगीलाई भिक्षा दिन भन् ।’ यस्तै यस्तै । तृष्णाले त्यसै गर्छिन् । हाँसो पनि लाग्छ सुन्दा र देख्दा ।
बैकुण्ठको अफिस तीन दिनको लागि बिदा थियो । त्यो बेलामा कुनै सरकारी काम हुन्नथ्यो । तृष्णाको माइतमा पूजा सुजा के थियो । बुढीले आफु घरमा नभएको बेलामा आमाको नाममा जग्गा पास पो गरिदिने हुन् कि ? यो डर असाध्यै थियो । त्यसैले अरु बेलामा माइत जान्नथिन् । सरकारी बिदा पारेर गइन् । हुन सक्छ उनकै आग्रहमा त्यसैबेला पूजा पारिन् । फोनमा कुरा भएका हुँदा हुन् । आमा–छोरीको फोनबाटै चोंचो–मोचो भएको हुन सक्थ्यो । उनको माइत पहिले बिहे गर्दा त पाल्पा छहरा हो रे, अहिले भने सुनवलमा सरेका छन् । तृष्णा छोरो साथमा लिएर माइत गइन् । निम्तो त बैकुण्ठलाई पनि हो तर उनले सासुको कच–कच रुचाउन्नन् त्यसैले ससुराल जानु प¥यो भने एकेक बहाना पार्छन् । अहिले के बहाना पारे थाहा भएन ।
तृष्णा माइत गएको भोलिपल्ट पूजा थियो । त्यो दिनको साँझ धेरै पाहुना–पाछा हुनाले रमाईला गफ मात्र भए । भोलिपल्ट दिनभर पूजा र प्रसादले समय बित्यो । अचेल पूजाको प्रसाद पनि बिवाहको भोज जस्तै हुन्छ । त्यहाँ पनि त्यस्तै भयो । साँझ उही त हो, भजन–कीर्तन, नाच–गान । त्यो दिन पनि त्यत्तिकै भयो । तृष्णाले घरका कुरा र उनकै शब्दमा पोइकी आमाको चर्तिकला सुनाउन पाएकी छैनन् र त्यसैमा छटपटी लागेको छ । पूजाको भोलिपल्ट मात्र आमा–छोरीका कुरा चले । कुरा उनीहरूले चलाए, बहस धेरैजनासंग भयो । अरु त त्यस्तै हो तृष्णाकी बहिनीलाई दिदीको कुरा चित्त बुझेन र कुरो काटिन् । तृष्णाकी बहिनीको नाम कृष्णा हो । उमेरले दुई वर्षले कान्छी तर पढाई संगै रहेछ । बिहे पनि एक वर्षको फरकमा भएको हो । कृष्णाको सन्तान छिटै भयो । छोरीले नर्सरीमा पढ्छे भनिन् । उनले दिदीलाई बेस्सरी झपारिन् । ‘जे सुकै भएपनि आफ्नो घर हो र आमा भनेको आमै हो, चाहे पतिको होस् वा आफ्नै । एउटी सासु आमालाई सम्मान गर्न नसक्ने, रिझाउन नसक्ने, तथानाम गाली गर्ने, शंका–उप शंका गर्ने र अझ यहाँ आमालाई कुरा लगाउने ? धिक्कार छ मेरी दिदी भन्नु पनि ।’ त्यसपछि कृष्णाले आमालाई छोरीको घर भाँड्ने भनेर झपारिन् । त्यो घरमा एकछिन त सन्नाटा छायो । कसैको मुखबाट वाद वा प्रतिवादको बक्के निस्केन । त्यो घरकी अथवा तृष्णा र कृष्णाकी भाउजु संगै थिइन् । उनले पनि कृष्णाको आड पाएर दुई शब्द बोलिन् । कृष्णाको समर्थमै बोलिन् । धेरैले भन्छन्, भाउजु त्यो घरकी लच्छिन् हुन् ।
लच्छिनकी बुहारीकी सासु आमा, उनकै छोरीको बिषयमा किन नकारात्मक भइन् ? त्यो कुरो पनि कृष्णाले संझाइन् । कारण के रहेछ भने ती आमाकी आमा जब्बरसाँढा रहिछन् । तृष्णा र कुष्णाकी मावलकी हजुर आमा । त्यस घरमा उनका पति असल, उनको छोरा झनै असल र बुहारी त आँखामा राखेर पनि नबिझाउने खालकी । बोल्ने नहुने भएको रहेछ । त्यसैले आमाको माइती संस्कारको बिकृति गुम्सिएको रहेछ र तृष्णा छोरीको घरमा लगेर पोखिन् । तृष्णाले आमाले भनेको भन्ने भएछ कि क्या हो ? आमाको मन्तरले छोयो । मति बिग्रेका महिलाहरु देवी हल्लन्छन् भन्छन् । तृष्णा उनकी सासु आमासँग हल्लिन् ।
कृष्णा त्यसै दिन घर फर्कने सुरमा थिइन् क्यार ? उनी शिक्षिका हुन्, भोलि स्कूल भेटाउन जानु पर्ने त थियो नै । उनलाई उनको घर परिवारको माया र चिन्ता थियो । ती सबै कुरा गरिन् । उनी त्यो दिन त्यहीं बसिन् । बस्नुको कारण दिदीको घर सपार्नु थियो । उनकै आमालाई पनि शिक्षा दिनु थियो । साँझ त जमेरै कुरा भए । आमा र तृष्णाको मन फेरियो । तृष्णा र कृष्णाले अँगालो हाले । तृष्णा रोइन् र कृष्णाका पनि आँखा रसाए । उनलाई लागे होला मेरो कुराले छोएछ । भोलिपल्ट दुबै दिदी–बहिनी आ–आफ्नो घरतिर लागे । आमाले बहिनीका कुरा ख्याल गर्नु भनिन् । तृष्णा बेलैमा घरमा पुगिन् ।
बैकुण्ठ घरमै थिए । आमाले आँगन सफा गर्दै थिइन् । बुहारी आएको देखिन् । ‘आइस् ?’ सम्म भनिन् तर धेरै बोलिनन् । बोलेमा फसिन्छ भन्ने रोगबाट परिचित थिइन् र उनको धन्दामै लागिन् । तृष्णा घरभित्र पसिन्, छोरालाई खेल्न छोडिदिइन्, पतिसंग सामान्य कुरा गरिन् र सासु आमालाई आमा…. भनेर बोलाइन् । बिगत चार बर्ष यता बुहारीले आमा.. भनेर बोलाएको थाहा थिएन । आमाले पत्याइनन् । तृष्णाले फेरि त्यसै गरेर बोलाइन् । आमाको मुटु भरियो र मन ढक्क फुलेर आयो । उनी बोल्न सकिनन् तर काम छोडेर घर भित्र पसिन् । तृष्णाले परम्पराको हिसाबले आमालाई ढोग गरिन् अनि माइतको पूजाको प्रसाद भनेर पाहुर दिइन् । अब भने आमाको मनको हर्षको सिमाले धैर्यताको बाँध फुट्यो । बरर्र आँशु खसालिन् र तृष्णलाई अँगालो हालिन् । उनलाई बुहारीको माइतमा के–के भएको थियो भन्ने थाहा छैन । कता कता माइती ग्रहले छोडेछन् भन्ने पनि लाग्यो । तर अस्ति जस्तै सोंचाइ आज छैन । मायाले गलिगलाउ भइन् । स्थिति भावुक बन्दै गयो । बैकुण्ठले पनि ती सबै कुरा बुझेकै छैनन् । त्यस्तैमा तृष्णाका आँशु पनि भित्र अटाउन सकेनन् र बगे । उनले फेरि आमा…. भन्दै क्षमा याचनाको भाषा बोलिन् । माफी मागिन् । बिगतका सबै कमजोरीको वा दुर्वचनको परिणतिले जे भएको थियो सबै माफी मागिन् ।
कुन महिना थियो कुन्नि ? बाहिर सररर हावा चल्यो । उत्तर फर्केको घर, हावा पनि उत्तरैतिरबाट आएको । हावाले झोंक्काले ढप्काएको ढोका घरक्क खुल्यो र मानौं त्यस घरका मान्छेको कमजोरी उडायो । चोखो बनायो । आमाको मनले त तृष्णाको मनको मैलो उडायो भन्ने लाग्यो । हावा कोठाभित्रको भित्तामा ठोकिएर प्रति शक्ति उत्पन्न हुँदा फर्केर ढोकै तिरबाट बाहिरियो । हावा फर्कंदा ढोका आफै बन्द भयो । आमाले घरमा लच्छिन पस्यो र अलच्छिन निस्क्यो भन्ने बुझिन् । बैकुण्ठले तमासा हेरेजस्तै एक टकले हेरेका थिए त्यो दृष्य । त्यस्तैमा सानो बच्चाले केही बुझे जस्तै गरेर अम्मा….अम्मा… भन्दै हाँस्यो र हजुर आमाको सारीको फेरो समाउन पुग्यो ।
बच्चाको मुसाका जस्ता दाँतसितको सुन्दर अनुहार, घुँघुरे कपाल र गोरो आकर्षक अनुहारले सबैको मन तान्यो । तृष्णाका खुशीका आँशु फेरि बरर्र खसे । नाति भने हजुरआमाको काखबाट उसकी आमा तृष्णातिर हेरेर पुनः हाँस्यो र हजुरआमाकै काखमा टाँस्सियो । तृष्णाको आँखामा प्रशन्नताका आँशु र छोराको त्यो चर्तिकलाले फुत्केको हाँसो एकैचोटी हुँदा बैकुण्ठ खुलेरै मुस्कुराए । आमाका त के कुरा… !
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)