
सिक्किमबाट ‘पञ्च’ मुक्तक
गीताश्री शर्मा
गान्तोक, सिक्किम, भारत ।
१
कलिलो घामको झुल्कोसँग सधैं हाँसेकी छौ
डाँफे मुनाल मैना चरीसँगै तिमी नाचेकी छौ,
तिमीलाई सम्झँदा गौरवले छाती फुल्छ कन्चन
दुवै देशको सम्बन्धलाई दह्रो बनाई गाँसेकी छौ ।
२
भुलिदिएँ नमिठा कुरा ओठमा मुस्कान भरेर हिँडे
कर्तव्यलाई साथी बनाई सधैं खुसी छरेर हिँडें,
खुट्टा तानी पछार्न खोज्ने गौंडैपछि हुँदा पनि
सिमाना चिन्ने पाइलासँग जीवनको पुल तरेर हिँडे ।
३
मौन बस्छन् छुपाएर मन भित्रका खोटहरू
पैतालाले दबाउँछन् अनगन्ति चोटहरू,
आङ-आङ लुछिएर बजारमा तोलमोल हुन्छ
बढ्न नपाई निमोठिने कठै चियाका बोटहरू ।
४
तिमी हाँस्न रात कुर्छौ! म दिनमा रमाउनेमा पर्छु
रोग र शोकले नछोइदिए ! म रिनमा रमाउनेमा पर्छु,
फरक यति छ हुने खानेमा ! र हुँदा खानेमा यहाँ
कटकटी मुटु दुखे पनि! एकै छिनमा रमाउनेमा पर्छु ।
५
म हाँसो दिन खोज्छु तिमी किन तिर खोज्छौ,
म तान्छु समतल तर्फ तिमी किन भीर खोज्छौ,
दुःखबिना कस्ले बुझ्छ जिन्दगीको मूल्य यहाँ
मनलाई शान्त पार्दैछु म, तिमी किन पीर खोज्छौ ?
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




कति सुन्दर भाव ! म तान्छु समतलतर्फ तिमी खै भिरै किन खोज्दछौ ? म शान्ति खोजी ल्याउँछु तिमीकनै तिमी पिरै खोज्दछौ ।