
रित्तो हात, शुन्य मस्तिष्क
कविता
उदय मैनाली ‘अविरल’
शुन्यतामा मान्छे
हराएको देख्दा
कतै रहरले त
कतै कहरले
कतै मैमत्त शहरले
कतै बकम्फुसे प्रहरले ।
रहर पनि कस्तो ?
खुला हुँदा लुक्न खोज्ने
बन्द हुँदा भौँतारिने
मनको प्रपञ्च
न छेकेर छेकिने
न रोकेर रोकिने ।
हुँदा हुँदा अब त कोेरोनाको कहर
जहाँ गुजुल्टिएको शहर
हिजोसम्म ध्रुवे हात्ती झैँ मैमत्त
कयामत ल्याउने दाउपेच
एकाएक बन्द कोठामा
शुन्य मस्तिष्क र कालो छाँया बोकेर
मसान घाटमा
जिउँदो लासलाई गिज्याइरहे झैँ ।
क्षितिज पारीबाट अनौँठो स्वर
कानमा गुञ्जिदा
आँफैलाई चिमोट्छु
जिउँदो भाको आभास पाउँछु
स्वप्नमा रुमलिएको बालक झैँ
छट्पटाहट र आहाट ।
ममताको भोको
आमा रहे पो फकाउँथिन्
सुस्ता र कालापानी
बरबराउँदै कोठामा फर्किन्छु
यावतको भुमरीमा
चुरोटको धुँवासँगै
स्वयम् निसासिन्छु
रित्तो हात, शुन्य मस्तिष्क ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



