
मृत्यु पुनः मभित्रै प्रवेश गरेर चुपचाप निदाएको छ !
मृत्यु कविता – ५
ठाकुर बेलवासे
एक रात
मृत्यु मबाट
एकाएक बाहिरियो
र, भन्यो-
‘हिँड महायात्रामा !’
म
चुपचाप हिँड्न तयार भएँ !
मृत्युले भन्यो-
‘झोला तयार पार
टुथ ब्रस हाल
केही कपडा
अनि कति सक्छौ, सम्पति पनि बोक !’
मसँग
यी कुनै कुरा छैनन्
न त झोला नै छ !
म मृत्युयात्राका लागि तयार थिएँ
सँघारमा पुगेको थिएँ !
मृत्युले भन्यो-
‘मन लागेको खाऊ
मन लागेको केही छ भने गर !’
मसँग
भोक कुनै चीजको छैन
सम्झनुस् मसँग पेट छैन
मसँग
कुनै वस्तु या सम्बन्धको तृष्णा पनि छैन !
मृत्युले आश्चर्य मान्दै भन्यो-
‘कसरी बाँचिरहेका छौँ ?’
बाँच्नुका लागि धौधौ थियो
मर्दै मर्दै बाँचेको थिएँ
मृत्युसँगै लानका लागि कुनै कुरा जोडिन !
‘सम्बन्ध होलान्
भेट !
आमाबा
श्रीमती
छोराछोरी
आफ्ना दाजुभाइ
प्रियजन भेट !
विदाइको हात हल्लाउ साथसंगतीलाई !’
मृत्युयात्राको आदेश नआउञ्जेल
मसँग धनसम्पति थियो
अनि थिए-
आफन्त
र, प्रियजनहरु
र, थिए सम्झनाको लामो लर्कोमा
नअट्ने साथसंगती !
महायात्राको
यो सम्यक् समयसँगै
मेरो आफ्नो र आफ्ना सबैसबै
निमेषभरमै समाप्त भएका छन्
यति बेला
म नितान्त एक्लो छु
र, रित्तोरित्तो छु !
चलचित्रका भावुक दृष्य हेर्दै गरेको दर्शक झैं
भावुक बनेको मृत्यु
पुनः मभित्रै प्रवेश गेरर
आजसम्म चुपचाप निदाएको छ !