लकडाउन वार्ताः गीत सुन्छु, टिकटक बनाउँछु, श्रीमतीसँग गफिन्छु

कोरोना महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा लेखक कृष्ण धरावासी

लकडाउन छ । कन्फिडेन्स त डाउन भएको छैन नि ?
अहिलेसम्म ठिकै छ । चिनेजानेका आफन्तहरू लगातार अस्पताल भर्ना भएको र वितिरहेका समाचारहरूले केही त्रासजस्तो अनुभूति चाहिँ भइरहेको छ ।

दिनहरु कसरी बित्दै छन् ?
खासै उत्पादनशील हुन सकिएको छैन । केही गरिहाल्ने जाँगर पनि छैन । जताततै रोगको त्रास र शोकको यस घडीमा मनोरञ्जक कामतिर लाग्न मन लागेको छैन । समाचारहरूबाट भाग्छु । फिल्म हेर्छु , केही सम्पादनका काम छन् गर्छु । पहिलेदेखि ल्याएर पढ्न नभ्याई थन्क्याइराखेका किताबका पानाहरू पल्टिन थालेका छन् ।

कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
दिउसो सुत्ने बानी छैन । भान्सामा काम गर्छु । गीत सुन्छु, टिकटक बनाउँछु । श्रीमतीसँग गफिन्छु । पुराना संस्मरणहरू एकअर्कालाई सुनाउँछौं । आफन्त र साथीभाइहरूसंग फोन र मेसेन्जरमा गफ गर्छु ।

अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
यसपल्टको लकडाउन अलिक डरलाग्दो अनुभव हुँदैछ । रोगबाट संक्रमित र मर्नेहरूको संख्याले तर्साइरहन्छ ।

छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
छरछिमेकीहरूको अनुहार नदेखेको लकडाउन सुरू भएको पहिलो दिनदेखि नै हो । सबै डराएका छन् । टोल शान्त छ ।

यदि लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
लकडाउन नभएको भए पनि म घरैमा हुन्थें । म अधिकांश समय घरमै बस्ने हुँ ।

लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
केही लेखिएला तर अहिले लेख्न मन छैन ।

के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
अहिले त सबैभन्दा यो नै खास उपाय हो । यसपछि अरू उपायहरू पनि अपनाउनु पर्छ ।

कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
जीवनको अनिश्चितताको चेतना अझ प्रवल भएको छ ।

भविष्यप्रतिको तपाईंको धारणा के छ ?
यो महामारीबाट बाहिर निस्कन सकिएछ भने फेरि सोचौंला ।

लास्टमा केही ?
सकेसम्म सबै सुरक्षित रहौं । पछि भेटौंला ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button