सारिएको चिहान

0 … अनि सपनाहरु कैद भएका आँखाहरुबाट सपनाकै लासहरु बोकेर सारिएको चिहान खोज्न हिँडेकी थिई ऊ । लास ऊ भएकी थिई, उसमा उही चिहान जिउँदो थियो ।

0 आमाहरु मरेको सन्तानलाई पनि माया गर्छन् ।

0 एउटैै मान्छेको चिहान फेरि खन्न सकिन्छ ? चिहान खनेर अर्को ठाँउमा लास सार्न सकिन्छ ?

0 मैले मान्छेलाई नै लास भनेको छु ।

0 हरे राम ! यस्तो पनि हुन्छ र ? लासको पनि औकात हुन्छ र ? लास भएपछि पनि जात हुन्छ ?

0 काखमा बसेर स्तन पान गर्दै आँखा हेरेर हाँसेको त्यो अबोध आँखाहरु याद गर्दा उसले आँशु रोक्न सक्दिन । आँशुसँगै छाती रसाउँछ उसको ।

सत्यकथा
शिल्पा लोचन

मानवताको हद कहाँसम्म हुन्छ ? अनि क्रुर हुनुको पनि हद हुन्छ होला सायद । लासको हत्या गर्न मिल्छ ? एउटैै मान्छेको चिहान फेरि खन्न सकिन्छ ? चिहान खनेर अर्को ठाँउमा लास सार्न सकिन्छ ? लासहरुको र जिउँदा लासहरुको बीचमा खनिएको खाडल र सँस्कारले डढेकोे दाग छ । त्यहि फरक छ । मर्नु र बाँच्नुको बीचमा दुख्ने र महशुस गर्ने मन नहुने भए मान्छेको भन्दा लासको महत्व बढी छ ? जसको मुल्यहिन जीवनको अस्मिता सास फेर्नु र नफेर्नुमा छ । अनि चल्नु र नचल्नुमा छ ।

‘होइन, तिमीहरुले त्यहाँ किन चिहान खन्यौं ? अब चिहान सार है ? जहाँ पाए त्यहीँ मान्छे गाड्ने ? त्यहाँ हाम्रो खेत छ । कहिलेकाँही त्यहा हामीले पितृलाई धार दिन्छौं । हाम्रा कुल रिसाउँछन् । कहिले सार्ने त्यो चिहान ? चिहान सार है । होइन भने म समाज उठाएर तिमीहरुको घरभित्र नै लास गाड्न लगाउँछु । औकात थाहा नपाउने ? यी सार्कीका जातहरु ! यिनीहरुको औकात यति धेरै । हाम्रो जग्गाको साँधमा चिहान बनाउने । हेर्दै जाओ, मैले तिमीहरुको औकात देखाउँछु’, अनि समाज बसाल्न भनेर मान्छे उठाउँदै हिड्न थाल्यो ।

मान्छेहरु यस्तो गर्न सक्छन् ? किन यति धेरै घमण्ड गरेको होला ? सबै प्रश्नले मेरो मथिंगल खलबलिएको छ । मान्छेहरु बौहुला भएका हुन् या मेरो होस् ठेगानामा नभएको ? म कल्पना गर्ने मनस्थितिमा छैन । हुन त मैले मान्छलाई नै लास भनेको छु । उनीहरु लासभन्दा के फरक छन् र यति बेला । लाचार, निरिह, कमजोर या अस्मिताहिन । उनीहरु पनि त त्यहि लासका कुरा गरेका हुन् । जसको जीवनको अर्थ नै छैन । लासले पनि कचहरीमा लैजान सक्दो रहेछ, विना अपराध सजाय दिनसक्दो रहेछ, जुन एक महिनाअगाडि गाडिएको थियो । हरे राम ! यस्तो पनि हुन्छ र ? लासको पनि औकात हु्न्छ र ? लास भएपछि पनि जात हुन्छ ? मान्छेहरु मरेपछि पनि जातको औकातको भारी बोकेर जल्छन् । किन मान्छेहरु भगवान बन्न खोज्छन् । के दलित हुनु भनेको लासले पनि स्थान नपाउनु हो र ?

समाज बसाले । चिहानमा गाडिएको लास सार्ने भए । बैठक सकेर आएलगतै लामो सास फेरि पुर्नीले । बिचरा त्यो लास गल्यो होला । चिहान खन्दा गन्हाउँछ होला । छिमेकीले यति भनेपछि हेर्न मन लागेको दुधे बालकको फोटो हेरेर दाँत बाँधेकी थिई उसले । भर्खर त भुल्न खोज्दै थिई काखबाट दैवले खोसेको उसको खुशी ? काखमा बसेर स्तन पान गर्दै आँखा हेरेर हाँसेको त्यो अबोध आँखाहरु याद गर्दा उसले आँशु रोक्न सक्दिन । आँशुसँगै छाती रसाउँछ उसको । आमा हुनुको बोधले पीडा दिन्छ । अनि साँझ परेपछि भने उसलाई सम्हालिन कठिन हुन्छ रे ।

सुनसान रातमा कतै कसैको बच्चा रोएको सुनेर एक्लै रुन्थी । अनि मलाई एक्लै छोडेर कहाँ गइस् भनेर डाको छोडेर रुन्थी । र, भगवानलाई गाली गर्थी । बच्चालाई कहाँ लगरे राखे भन्ने लागेर सोध्थी । कहाँ लगेको हो भन्ने सुराग नपाएपछि कहाँ गाडेको हो देखाऊ भनेर गाउकै सानो भाईलाई पाँच सय दिएकी थिई उसले । उसलाई त्यहाँसम्म पुगेर हेर्ने मन थियो । अनि चिहानमाथिको ढुङ्गाहरु हटाएर आएकी कुरा उसैले भनेकी थिई ।

आमाहरु मरेको सन्तानलाई पनि माया गर्छन् । कहिलेकाँही दिनमा छोरी स्कुल गएपछि चिहान वरपर घुम्थी । मलाई याद छ, छोरा मरे पनि त्यो छोराको कपडाहरुलाई पट्टयाएर धोएर राखेकी थिई । हातमा लगाउने औंठी बेचरे आधुनिक झोलुँगो किनेकी थिई । ‘त्यो झोलुँगो नराख, तिम्लाई बारबार उसैको यादले सताउँछ’ भनेर सम्झाउँदा उसको यादहरु जति प्रिय केही छैन भन्थी ।

‘दुनियाँ के हो थाहा छैन मेरो लागि उसले बाँचेको भए सायद म हुनुको बोध हुन्थ्यो । म हुनु र नहुनुको केही महत्व छैन । बाबु मरेपछि त छोरीको बुढाको र आफ्नै पनि माया लाग्दैन । काख रित्तो भएको आईमाइहरु कसरी बाँच्छन् होला ? म कसरी बाँच्ने होला ?’, उसले भनेकी थिई । लामा झाक्रीकोमा गएर त्यो छोरा पुनःजन्म लिन्छ भन्ने कुरामा ढुक्क हुन्थी । भ्रममा मिठोपन थपेदेखि उसलाई अलिकति सहज भएको थियो । भगवान, मन्दिर, लामा र धामीले मान्छेहरुलाई जिउने मिठो बाहना दिएको हुन्छन् । भ्रममा सही, मान्छे खुशी त हुन्छ नि । तर, काखको सन्तान गुमाउने आमाहरुले सवैको माया मार्न सक्दो रहेछन् । शिवाय गुमेको बच्चा । जन्मेदेखि सय दिन उसले उसैलाई अँगालेर सुती । उसैले रोएर रातरातभर अनिदो रही । छोराको श्वास फेराइले, उसले निदाएकी हेरेर खुशी हुन सिकेकी थिई ।

हुनेको भन्दा नहुनेको माया लाग्छ भन्थे, हो रहेछ । उसले मरेको छोराको तस्विरसँग सम्वाद गर्थी । बौहुलाएकी भन्छन् उसलाई । सायद हो रहेछ । आमाहरु मरेर नि छोराछोरीसँग हुन्छन् भन्थे । उसका हर्कत देखेर त्यस्तै लाग्थ्यो । उसले सबै कुरा भुल्न कोशिस गरेकी थिई । उहिलेदेखि महिलाहरु मलामी नजाने प्रचलन थियो सायद यही कारण कि आमाहरुले सन्तानको चिहान कुरेर प्राण त्याग गर्छन् भन्ने डरले । आमाहरु नै हुन् लासलाई पनि जिवित जस्तै गरेर सम्वाद गर्ने । अनि यादहरुमा पनि उस्तै राख्ने आमाभन्दा को होला ? किन कि मरेको सन्तानबाहेक उसको आँखामा कोही आउँथेन । उसलाई लागेन कि उसको छोरो मरेको हो । एक महिना हुनलाग्दा पनि विश्वास गरेकी छैन रे । उसलाई लाग्छ, पुरानो तन्नाको झुलोमा निदाएकी छ । तर यर्थाथ भने अर्कै छ । जुन कुरा सत्य हो त्यो कुरा पिडक हुन्छ । बेला बेला त्यहि कुराले मुर्छित पार्छ । स्वीकार्न नसकेको यर्थाथको कुरा त के गर्नु बाबै ! पोल्छ ।

आगो हो । आगोले पोलेको मनमा कहाँ शब्दले शान्त हुन्छ र ? यो सत्य हो भनेर पचाउन कति जटिल भयो होला ? कल्पना गर्नै नसक्ने अवस्थामा पुगेको थिई ऊ ।

केही महिना अगाडि त पुर्नीले छोरा पाएकी थिई । उसले चार महिना दिनरात गरेर हाँस्ने बनाएकी थिई छोरा । कोरोना कहरको मारमा पनि हस्पिटल गएर पाएकी हो उसले । मेरो घर बच्चा लिएर आउँथी । लकडाउनले म पनि यसपाली घरमै थिएँ । सधैं उसका हातमा छोरो हुन्थ्यो । मंसिर लागेर म सहर छिरे । केही हप्तापछि उसको छोरा मरेको खबर सुनेँ । छोरो मरेकोे तीन दिनमा मैले उसलाई भेटेको थिएँ । । काखमा मोवाइल राखेर आँशु आँशु भएकी थिई त्यति बेला । झर्न नसकेको आँशुले सायद उसले केही नेदेखेको हुन पर्छ । मैले अनुमान लगाएँ । उसको अनुहार निलै थियो । मैले केही भन्न सकेको थिइन । आज पनि म के भनुँ मुर्खको अगाडि । बोलेर सुन्नेहरु नि को पो थियो र ?

‘मैले अब बावुको चिहान हेर्न पाउँदिन होला है । त्यही दिन त्यो बच्चाको लास लगेर खोलापारी सारे । तर, एक महिनासम्म पनि लास जस्ताको तेस्तै थियो रे भनेर उसैले सुनाई । बोल्ने बच्चा निदाएको जस्तै थियो रे उसको अनुहार चम्केको थियो । मानौं, सकुशल छ भने जस्तै । मैले एक पटक काखमा लिन्थेँ तर मलाई जानै दिएननु । मैले त हेर्न पाइन । समाजका मान्छेहरुलाई गाली गरी । विनईले बगाए नि हुने पापीहरुलाई । यी मान्छेहरु बसेका ठाँउमा भुकम्प गए नि हुने । मेरो बावु मरेर पनि दुई जन्मको पापबाट मुक्त भयो है ।’

… अनि सपनाहरु कैद भएका आँखाहरुबाट सपनाकै लासहरु बोकेर सारिएको चिहान खोज्न हिँडेकी थिई ऊ । लास ऊ भएकी थिई, उसमा उही चिहान जिउँदो थियो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button