आमा ! म तिमीलाई हेर्दै छु फोटूमा
मेरी आमै/कविता
हिरण्य भोजपुरे
मेरी आमैले मलाई
जन्म मात्र दिइनन्
कर्मको धर्म सिकाइन्
तोतेबोली मात्र होइन
ज्यूने बोली सिकाइन् ।
उनी भण्डार
शब्दशब्द र शब्दका आँखाका ।
लोक गुन्गुन र लोकशब्दका भाखाका ।
आमै, तिमी बित्यौ ।
र, मलाई ज्यून दिई रह्यौ
तिनै आँखामा । आँखाका भाखामा ।
शब्दशब्दमा । तिनै गुनगुनहरूमा ।
आकण्ठ डूबें र म ‘म’ बनें !
आज ‘आमाको मुख हेर्ने दिन’ रे !
म तिमीलाई हेर्दै छु । फोटूमा ।
आँखा चिम्म गर्छु । दर्शन गर्छु । पूजा गर्छु ।
तिम्रा पवित्र पाउमा !