नयाँ स्तम्भ ‘ओल्ड इज गोल्ड’मा भूपी

गलत लाग्छ मलाई मेरो देशको इतिहास / कविता
भूपी शेरचन

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोको बीचमा माटो खनेेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यो भूकम्पपीडित मन्दिर
र ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधैँ त्यही– सधैँ उस्तै र
सधैँ एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधैँ
बाटो–दोबाटोमा,
गल्ली–गल्लीमा,
देश–विदेशमा,
यूक्लिप्टसका रुखझैँ नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल चूपचाप उभिएका
आफ्नो आत्माको गीत झारेर
तब मलाई गरुँ–गरुँ झैँ लाग्छ
आफ्नै रगतको उपहास
ेजब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लिहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सूुन्छु : अमरसिंह काँगडासम्म बढेको कुरा
सूुन्छु : तेन्जिङले सगरमाथा चढेको कुरा
सूुन्छु : बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सूुन्छु : अर्निकाले कलाले विश्व–मन हरेको कुरा
सूुन्छु : सधैँ सुन्छु र केवल सुन्छु
तर मलाई
हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलिजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button