भ्यागुताहरु बाजा बजाउन रोेक्छन्, पुतलीहरु नाच्न छोड्छन्
कविता
डोरबहादुर केसी
औंसीको एक अन्धकार रातमा
जगतको कुनै एक बस्तीमा
जुनकीरीहरु अँध्यारो छिचोल्दै उड्न थाल्छन्
प्रकाशको मन्द दीप छोड्न थाल्छन्
खुसीको यस अवसरमा
भ्यागुताहरुले ट्वार ट्वार आवाजमा संगीत दिन्छन्
झ्याउँकीरीहरुले आफ्नै सुरमा धुन दिन थाल्छन्
गड्यौलाहरु कम्मर भाँच्दै चल्वलाउन थाल्छन्
भँवराहरु भुँ भुँ गर्दै संगीत थप्न थाल्छन्
पुतलीहरु पखेटाहरु फर्फराएर नाँच्न थाल्छन्
फटयांग्राहरु पनि उफ्रिउफ्री परेड खेल्छन्
एक अन्धकार रातमा
बल्न थाल्छ आशाको दियो
सरु हुन्छ सुन्दर संसार
जुनकीरीको उज्यालोमा ।
यो सुन्दर रमाइलो संसारमा
मन्द त्यो जुनेली रातमा
भ्याउँकिरीको मीठो लयमा
भ्यागुताहरुको वाद्यवादनमा
भमराहरुको भुँ भुँ आवाजमा
गड्यौलाहरु र पुतलीसँगसँगै
मर्किमर्की नाच्नु पर्ने बेला
उनीहरुकै सुरक्षाको खातिर जुट्नु पर्ने बेला
हातेमालोमा रम्ने बेला
गोमन साँपहरु भने
लस्कर लाग्दै दुलोबाट निस्केर
फरक तालले सल्वलाउन थाल्छन्
जिभ्रो लरबराउन थाल्छन्
बिषालु टाउको उठाउन थाल्छन्
र, अकस्मात झम्टन्छन् त्यो रमाइलो संसारमा
आफूलाई मात्र बस्तीको असली महाराज ठान्दै
प्राकृतिक जीवन चक्रको असली पहेदार ठान्दै
बिषको थैली चुहाउन थाल्छन्
शक्तिको दम्भ देखाउन थाल्छन्
फगत आफ्नै शिकारको खातिर
आफ्नो अहं विस्तारको खातिर
एक अँध्यारो रातमा
जुनकिरीको त्यो मन्द उज्यालोमा ।
गोमन साँपहरुको त्यस अप्रत्यासित आक्रमणले
त्यो सुन्दर बस्तीमा कोलाहल मच्चिन्छ
सन्नाटा र अनिश्चितता फैलिन्छ
भ्यागुताहरु बाजा बजाउन रोेक्छन्
पुतलीहरु नाच्न छोड्छन्
जुनकीरीले बलेको आफ्नो दीप लुकाउँछ
सबैले आफ्नो नाक मुख सुकाउँछ
जीवन रक्षाका खातिर
अस्तित्व रक्षाका खातिर
अनि सुरु हुन्छ भागदौड
सुरु हुन्छ पुनः निष्पट्ट एक अन्धकार
एक औंसीको रातमा ।
एउटै चौघेराको त्यो बस्तीमा
भर्खर उदाएको त्यो नूतन संसारमा
खुसी उदाउँदा सँगसँगै नाँच्नु पर्ने बेला
सुख र दुखमा सँगसँगै बाँच्नु पर्ने बेला
अझ, सबैको मार्गदर्शक बनेर खडा हुने बेला
गोमन साँपहरु भने उनीहरुलाई नै डस्न खोज्छन्
बस्तीमा अनाहक कोलाहल मच्चाउन खोज्दछन
आफ्नो शक्तिको नाङ्गो प्रर्दशनको बाटो रोज्छन्
आफूले स्वयं आफैलाई बिर्सन्छन्
यसै बस्तीको एक सदस्य हुँ भन्छन्
र, निकाल्छन् आफ्ना फँडाहरु
अनि झम्टन्छन् त्यो सुन्दर बस्तीमा
खोल्छन् आफै पुनः अन्धकारको सुरुङ
पुनः अलप हुन्छन् अन्धकारमा ।
(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)