डियर चिम्सी ! जब पानी पर्छ, सबभन्दा पहिले म तिमीलाई सम्झिन्छु

कविता
विशाल नाल्बो

पानी परिरहेको थियो
छेउको रेडियोमा
बजिरहेको थियो
गुलाम अलीको प्रेमिल गीत
तिमी घरको बलेसीमा झरेको पानीको
थोपाभित्र कुन्नि ! के के खोजिरहेकी थियौ
र, हेरिरहेकी थियौ
आँगनतिर एकोहोरो ।

हो, त्यही बेला त हो
मैले तिमीलाई सबभन्दा बेस्सी हेरेको ।

अहिले तिमी छैनौ मसँग
तर, जब पानी पर्छ
सबभन्दा पहिले म तिमीलाई सम्झिन्छु
यो सानो सानो पानीको थोपाहरूले बोकेर ल्याइदिन्छ
ठूलो ठूलो तिम्रो याद ।

ओ ! डियर चिम्सी
त्यो पल कति रोमाण्टिक थियो हगि ?
जब कपमा चिया रित्तिदै गर्दा
बल्ल हाम्रो गफ सुरू हुँदै गरेको हुन्थ्यो ।

त्यो दिन भनिरहेको थियो मनले
बरू नरोकियोस् पानी
तिमी उसैगरी पानीको थोपाहरूलाई हेरेर टोलाइरहनु
म हेरिरहुँ तिमीलाई एकोहोरो ।

तर, के सुन्थ्यो अट्टेरी मौसमले मनको कुरा
र, त रोकिदियो पर्दै गरेको पानी
अनि भत्काइदियो मैले गरिरहेको कल्पनाको पर्खाल ।

ओ ! डियर चिम्सी
जब जब तिम्रो सम्झनाले धेरै सताउँछ नि
तब लाग्छ पानी परिदियोस्
कि म पानीको थोपाहरूलाई छोएर
गर्न सकुँ तिम्रो यादको स्पर्श !

(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button