लाशको लाज छोप्ने शब्द नकमाउनेसँग मृत्यु निकै दुःखी छ
मृत्यु कविता-३
ठाकुर बेलवासे
निरन्तर लेखिरहेका छन्
मानिसहरु
श्रध्दाञ्जली
र संवेदनाका शब्दहरु ।
आफैले लेखेका अक्षरहरु
भावविह्वल बनिरहँदा
लेख्नेहरु भावशून्य देखिन्छन् ।
सायद
उनीहरु
श्रध्दाञ्जली
र संवेदना शब्दहरुको व्यापार गरिरहेका छन्
व्यापारीहरु
व्यापारमा भावुक बन्न सक्दैनन् ।
माया
सम्बन्ध
माटो
आगो
पानी
सिंगो संसार
अनि
सुखका लागि कहिल्यै नथाक्ने
मानिसहरु
जीवनभन्दा
निकै महङ्गा
श्रध्दाञ्जली
र संवेदनाका शब्दहरु
आफ्ना लागि जोगाउँन चाहँदैनन् ।
लाशको लाज छोप्ने
शब्द पनि कमाउन नसक्नेसँग
सम्भवतः
मृत्यु निकै दुःखी छ ।