कोभिडलाई जितेको दिन
मौनता कार्की
डाक्टर र नर्सको स्यारको इसारामा
जीवनको उकाली, ओराली
पाप, पुण्य अनि अभिमान
आइसोलेसनको बेडमा स्मरण गर्दै
केवल एक्लो महसुस र अनुभूतिमा पौडिएर
कोभिडलाई जित्न युद्धको मैदानमा उत्रिएकी म ।
जीवन र मरणको परीक्षामा
नतिजाका सकारात्मक घण्टीको पर्खाइमा
सुन्दर कल्पनाका आशाहरु सजाउँदै
कोभिडले झरेका निर्दोश कोपिलाहरु
फुल्ने या ओइलने गन्तव्य नभएका
माहोल र भिडमा हराएकी म ।
आफन्त, इष्ट, मित्र बा-आमा भए पनि
विवशताले टाढा भएका थिए ।
जीवनको अनमोलता र मृत्युको सत्यता
नजिकबाट दृष्टिगत गर्दै
रोगको पिन्जडामा बाँधिएकी चरी ।
खुल्ला पंख फिजाइ उड्ने रहर भरेर
अधुरो सपना पूरा गर्ने अठोट लिएर
आशाका सुन्दर किरणहरु रोप्दै
जीवनको भरोसा चिकित्सकमा सुम्पिएर
विशाल कोभिड युद्धमा उभिएकी म ।
कहिल्यै महसुस र अनुभूति नगरेको
देहका सीमातित पिडामा छट्पटिएर
फेरि निभेको दियो बल्नु थियो
जीवनको खुल्ला पानामा
सफलताका शब्दहरु कोर्न
आँट, हौसला, साहस अनि
अस्पतालका जिउँदा भगवानको
आशिर्वाद र कृपाले
आज कोभिडको विशाल युद्ध जितेको दिन ।