प्रतिरोधभित्रको प्रतिरोध

पुस्तक समिक्षा

सुशीला लोहनी शर्मा

पछिल्लो समयमा प्रगतिवादी धारामा कलम चलाउँदै आउनु भएकी स्रष्टा गौरी देवकोटाको भर्खरै प्रकाशित कवितासंग्रहमा रहेका ५२ वटा कृतिहरु सरसर्ती अध्ययन गर्दा समाजमा व्याप्त रहेका विकृति र विसंगतिप्रति कविले अक्षरका माध्यबाट सशक्त रुपमा प्रतिकार गर्नुभएको देखिन्छ ।

के गर्नु श्रीमान
कमजोरी ममा हैन
तपाईंमा छ
म तपाईंको शल्यक्रियामा
आजीवन लागिरहेछु
तपाईँ मलाई
दण्डित गरिरहनु होस् बारम्बार ।

(प्रतिरोध)

सुख, शान्ति र समृद्धिको लागि जनताले बलिदानी गरेर जति नै राजनीतिक परिवर्तन आए पनि देशमा सोचे अनुरुपको परिवर्तन हुननसक्दा निराश बन्नु परेको अवस्थालाई कवि देवकोटाले आफ्नो कृतिमा व्यक्त गर्न सफल हुनुभएको छ ।

हुल उनीहरुलाई आफन्त ठान्छ
चुपचाप पछि लाग्छ
र धोका खाइरहन्छ बारम्बार
ए हुल
शंका गर हो शंका
आँखा चिम्लिएर
ग्वारग्वार्ती दौडिरहँदा
हजार ठेस लागेर
रगताम्य बनेका
आफनै औँलाहरु हेर

(हुल)

जनताका लागि हुँदै आएको भनिएका राजनीतिक आन्दोलनहरुमा अझै पनि विश्वास गरेर जनताले साथ दिएको प्रति कविको मनमा शंका उत्पन्न भएको छ । जति गरे पनि त्यो आखिर जनताको हितमा होइन नेताकै हितमा मात्र सीमित छ । त्यसैले आँखा चिम्लिएर दौडिनुको कुनै अर्थ छैन भन्ने विचार हालको परिवेशमा मेल खाएको देखिन्छ । यहाँ जनताका नाममा भनेर जति नै आन्दोलन भए पनि आज सुखको अनुभव गर्ने अवस्था आइसकेको छैन ।

खोज्दै खोज्दै संसद भवनमा पुग्यौँ
भेटेनौँ भवनको कुनै कुनामा
किनकि तिमी
वस्तु बनिसकेका रहेछौ ।

(मेसिन बदलौँ)

निर्वाचनको बेला जनतासामु गरेका वाचाहरु चुनाव जितेपछि बिर्सने र पुरा नगर्ने प्रवृत्तिलाई कविले कविताको माध्यमबाट पोख्नुभएको छ । सिंहदरबार छिरेपछि गाउँ नै नफर्कने र जनताको मर्म नदेख्ने प्रवृत्ति यहाँ देखिएकै छ । भोट दिएर जिताएका तिनै जनता नेता भेट्न सिंहदरबार धाउनुपर्ने र भेट्न समय नपाउने अवस्था यहाँ विद्यमान नै छ ।

शिखर चढ्छु भन्दैमा
सबै कहाँ चढ्न सक्छन् र
लोकप्रियताको शिखर
शिखर चढ्न त काम गर्नुपर्छ
लोककल्याणको काम

(चावेज र सम्मान)

इतिहासको पानामा नाम लेखाउन त्यसै कहाँ सजिलो छ र त्यसका लागि पनि त काम गर्नुपर्यो, काम गरेर मात्र भएन, लोकप्रिय हुने काम गर्नुपर्यो अनि मात्र पुगिन्छ शिखरमा । रहर गरेर मात्र कहाँ हुन्छ र जति पनि मान्छेको नाम लेखिएका छन् । इतिहासको पाना माती सबै नाम लेखाउने काम गरेर नै लोकप्रिय भएका हुन् । त्यसका लागि सही नेतृत्वको आवश्यकता भएको कुरा कवितामा व्यक्त भएको छ ।

यसैगरी कवि देवकोटाको धेरै जसो कविताहरुमा वर्तमान अवस्थाको राजीनितक आर्थिक परिवेश र यसबाट जनताले पाउनुपर्ने सुखशान्ति र अमनचयन नपाएको प्रतिविरोध प्रकट गरेको पाइन्छ । गणतन्त्रको स्थापनापश्चात् जुन परिवर्तन हुनुपर्ने हो, त्यसको अनुभूति गर्न नपाएको प्रति कवितामा सशक्त रुपमा आवाज उठाइएको छ । यहाँ एक छाक टार्न र एक सरो लाउन नसक्नेहरुको समुदायको पीडामा मलम लगाउने नेतृत्वको खाँचो यहाँ परिरहेकै छ । यात्रा र कुहिरो, उठ गौथलीजस्ता कवितामा प्रकृति र प्राणी जगतको वर्णन गरेको पाइन्छ ।

समग्रमा प्रतिरोध कविता संग्रहभित्रका कविता सरसर्ती पढ्दा समाजमा व्याप्त कुरीति, विसङ्गति र कुसंस्कार विरुद्धको बुलन्द आवाज हो भन्न सकिन्छ । समाजका उत्पीडित वर्गको हितमा कवितामा सशक्त रुपमा आवाज उठाइएको छ । यहाँ एक जना स्रष्टाले देश तथा समाजमा देखिएको विकृतिविरुद्ध कलमका माध्यमबाट आवाज उठाउन कवि सफल हुनुभएको छ । अबका दिनमा पनि देशलाई गलत बाटोमा जानबाट झक्झक्याउने खालका सिर्जना फलाउनमा निरन्तर लागिरहनु नै हुनेछ भन्दै कवि मित्र गौरी देवकोटाजीलाई उत्तरोत्तर प्रगतिको अनगिन्ती शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button