हाँस्नेहरूको भन्दा पनि म मर्दा रूनेहरूको चिन्ताले बाँचिरहेछु

मृत्यु कविता श्रृंखला-१

ठाकुर बेलबासे

हाँस्नेहरूको चिन्ताले
भन्दा पनि
म मर्दा
रूनेहरूको चिन्ताले
म बाँचिरहेको छु !

ठ्याक्कै अहिलेकै समयसम्म त
मृत्यु मेरो नियन्त्रणमा छ !
मैले चाहे मात्रै
कोहीले मृत्युमाथि भद्दा मजाक गर्ने
अवसर पाउने छ !

जब मृत्युको कब्जामा
म पुग्नेछु
त्यतिबेला
म मर्दा
कोही रोला !
या कोही हाँस्ला !
भन्ने चिन्ताले
मलाई बचाईराख्ने छैन् !

त्यसबेला पनि
कुनै अर्थले
उपयोगी हुन नसकेको
बाङ्गोटिङ्गो एउटा मान्छे मरेकोमा
कोही मृत्युुमाथि ठट्टा गर्दै
कुनै चिया गफमा रमाउने छ !

कोही
सम्बन्धका हिसाबकिताब गर्दै
या सपनाका ताराहरू च्याद्दै
सम्झनामा भक्कानिने छ !

मृत्यु पर्खिबसेका हामी
किन
कसैको लाशमाथि हाँस्छौ !
किन
कोही मर्दा रून्छौं !

(कवि बेलबासेले मृत्युलाई केन्द्र बनाएर नेपालनाम्चामा कविता श्रृंखला सुरु गरेका छन् । मृत्यु कविता श्रृंखलाको यो पहिलो कविता हो ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button